लमजुङ कालिकामा पहिलोपटक बलि राेकियाे

शाहबंशीय राजा यशोब्रम्ह शाहले स्थापना गरेको लमजुङ कालिका मन्दिरमा यस वर्ष चैतेदसैंमा नागरिकले गर्ने पूजापाठ र बलि रोकिएको छ । कोरोना भाइरस (कोभिड १९) बाट जोगिन र यसको रोकथामका लागि सरकारी निर्णयअनुरुप कालिका मन्दिरमा यस वर्ष पूजापाठ, बलि र मेला रोकिएको वडाअध्यक्ष सूर्यकुमार श्रेष्ठले बताए । 

कालिका मन्दिरको दरबार क्षेत्रमा चैते दसैंका दिन ठूलो मेला लाग्ने भएपनि यसवर्ष पहिलोपटक मेला नहुने वडाध्यक्ष श्रेष्ठले बताए । मन्दिरका मूल पुरोहित माधव प्रसाद बरालका अनुसार मन्दिरमा जो कसैलाई पनि आउन प्रतिबन्ध लगाइएको छ । 

उनका अनुसार नियमित पूजापाठ अन्तर्गत बुधबार प्रतिपदादेखि सरकारी बलि दिने कार्यक्रम सुरु भएको छ । वि.सं. १५५० मा कास्कीबाट ल्याइएका राजा यशोब्रम्ह शाहले गाउँसहर दरबारसँगै कूलपूजाका लागि कालिका मन्दिर स्थापना गरेको इतिहासमा उल्लेख छ । 

तिनै कालिकालाई भूमिसुधार मन्त्रालय अन्तरगतको गुठी संस्थानले मालपोत कार्यालयमार्फत बर्षेनी बलि चढाउँदै आएको छ । पहिले जिल्ला प्रशासन कार्यालय मार्फत पूजा गराउँदै आएकोमा देशमा राजा हटेपछि मालपोत कार्यालयमार्फत हुँदै आएको छ । बेंसीसहर नगरपालिका ३, गाउँसहरको लमजुङ कालिका मन्दिर ५ सय वर्ष पुरानो मानिन्छ । मन्दिरमा नियमित पूजापाठ भने रोकिएको छैन ।





  • प्रकाशित मिति : चैत १४, २०७६ शुक्रबार ११:२०:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया