कोरोना भाइरस संक्रमितको विश्वभरको संख्या अब १० लाखभन्दा बढी पुगेको छ । जोन्स हप्किङ्स विश्वविद्यालयले जारी गरेको पछिल्ला तथ्याङ्कअनुसार विश्व महामारी कोरोना संक्रमण अझै द्रुत गतिमा फैलिइरहेको छ ।
कोरोनाका कारण अहिलेसम्म विश्वभर ५१ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । र, २ लाख ८ हजारभन्दा बढीले यो भाइरसलाई जित्न सफल भएका छन् ।
चीनको वुहानबाट गत डिसेम्बरमा देखिएको यो भाइरसबाट अहिले सबैभन्दा बढी संक्रमित अमेरिकामा छन् । भाइरसका कारण इटालीमा सबैभन्दा धेरैले ज्यान गुमाएका छन् । कोरोना भाइरसका कारण हुने कोभिड १९ रोग तीन महिनाअघि पहिलो पटक चीनमा देखिएको थियो ।
जोन्स विश्वविद्यालयले १० लाखभन्दा बढीमा संक्रमण भएको पुष्टि गरे पनि विश्वभर यसका संक्रमितको संख्या योभन्दा निकै धेरै हुने अनुमान गरिएको छ ।
बिहिबार स्पेनमा पछिल्ला २४ घन्टामा ९५० जनाको कोभिड १९ का कारण मृत्यु भयो । यही संख्या नै यसका कारण अहिलेसम्म एकै दिनमा कुनै पनि देशमा मृत्यु हुनेको सबैभन्दा बढी संख्या हो ।
यो खासमा पहिलो पटक गत डिसेम्बरको अन्त्यतिर चिकित्सकहरुले पहिचान गरेको भाइरस हो । त्यति बेला ३४ वर्षका सरुवा रोग विशेषज्ञ डा ली वेनलियाङले यसबारे आफ्ना सहकर्मी तथा विश्वका चिकित्सकहरुलाई यसबारे सन्देश पठाउन चाहेका थिए ।
तर, प्रहरीले उनलाई भेटेर अफवाह फैलाएको भन्दै चेतावनी दिएको थियो ।
३ जनवरीमा उनले यसबारे पहिलो रिपोर्ट लेखेका थिए । ‘मिस्ट्री भाइरस’ वुहानमा देखिएको उनले निष्कर्ष निकालेका थिए । त्यति बेला वुहानमा ४४ जनामा यो संक्रमण देखिएको थियो । यीमध्ये ११ जनाको अवस्था गम्भीर थियो । तर, कसैको पनि मृत्यु भएको थिएन ।
तर, यो भाइरसको प्रकृतिका कारण त्यहाँ सन् २००३ मा भउको सार्स प्रकोपको जस्तै अवस्था आउने अनुमान गरिएको थियो । सार्सका कारण ७७४ जनाले ज्यान गुमाएका थिए ।
१८ जनवरीसम्म वुहानमा मात्र कम्तिमा पनि ६० जनामा यो भाइरस संक्रमण देखिएको थियो । तर, विज्ञहरुले यसलाई १७ सय जनामा भाइरस देखिएको बताउँदै आएका थिए ।
त्यसको दुई दिनपछि मात्र जब मानिसहरु चिनियाँ नयाँ वर्ष मनाउन तयारी गर्दै थिए, यो भाइरस २ सयभन्दा बढीमा देखिइसकेको थियो । अनि वुहानबाट भाइरस बेइजिङ, शाङ्घाइ र शेन्जेनमा समेत देखिएको थियो ।
२३ जनवरीमा चिनियाँ सरकारले वुहानलाई लकडाउन गर्ने घोषणा गर्यो । त्यति बेलासम्म हुबेई प्रान्तमा मात्र १८ जनाको यो भाइरस संक्रमणका कारण मृत्यु भएको थियो । अनि भाइरस चीनबाहिर ताइवान, जापान, थाइल्यान्ड, दक्षिण कोरिया र अमेरिकामा पनि देखिइसकेको थियो ।
यसको दश दिनपछि फिलिपिन्समा ४४ वर्षका एक व्यक्तिको निधन भयो । चीनबाहिर भएको यो पहिलो मृत्यु थियो ।
६ फ्रेबुअरीमा सुरुमा यो भाइरसबारे पत्ता लगाउने चिकित्सक डा. ली नै भाइरससामु आत्मसमर्पण गर्नु पर्यो, उनको मृत्यु भयो ।
त्यसको एक सातापछि ८० वर्षका एक पर्यटकको फ्रान्समा मृत्यु भयो । यो नै युरोपमा भाइरसका कारण भएको पहिलो मृत्यु थियो ।
त्यसको पाँच दिनपछि इरानमा भाइरस संक्रमण देखियो । दुई घन्टामा नै त्यहाँ दुई जनाको मृत्यु भएको समाचार आयो । त्यसपछि यो भाइरसको हटस्पटका रुपमा इरानलाई लिन थालियो ।
२३ फ्रेबुअरीसम्म आइपुग्दा युरोपेली मुलुक इटालीमा यो भाइरसका कारण निकै धेरै संक्रमित भेटिए । त्यहाँका १० सहरहरुलाई लकडाउन गरियो । १० मार्चमा इटालीमा यो लकडाउन देशभर जारी गरियो ।
२३ मार्चमा बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले समेत बेलायतभर लकडाउनको घोषणा गरे ।
२६ मार्चमा आइपुग्दा अमेरिकामा सबैभन्दा धेरै भाइरस संक्रमित भेटिए । त्यो दिन त्यहाँ ८६ हजारभन्दा बढीमा भाइरस संक्रमण भएको पुष्टि भयो । २ अप्रिलसम्म आइपुग्दा त अमेरिकामा २ लाख १७ हजारभन्दा बढीमा भाइरस संक्रमण देखिएको छ । यो इटालीको भन्दा पनि दोब्बर हो ।
यसबीच नेपालमा पनि ६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । नेपालमा देखिएका सबै कोरोना संक्रमित विदेशबाट नेपाल आएका थिए । तीमध्ये ३ जना कतार एयरवेजको क्यूआर ६५२ उडानबाट नेपाल आइपुगेका थिए । नेपालमा बाग्लुङ जिल्लामा मात्रै दुई जनामा भाइरस संक्रमण देखिएको छ । अहिलेसम्म नेपालमा एक जनाले यो भाइरसलाई पराजित गर्न सफल भएका छन् । अन्यको उपचार भइरहेको छ ।
नेपालले पनि भाइरस संक्रमण रोक्नका लागि लकडाउन आह्वान गरेको छ ।
उता, भारतमा पनि तीन साता लामो लकडाउन आह्वान गरिएको छ । भारतमा अब २५ सयभन्दा धेरैमा कोरोना भाइरस संक्रमण देखिइसकेको छ । त्यहाँ मृत्यु हुनेको संख्या ५० भन्दा बढी पुगेको छ ।
केही देशहरुले यो भाइरस संक्रमणलाई रोक्न निकै कडा नियम पनि ल्याएका छन् । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुर्तेतेले सरकारले लगाएका नियम पालना नगरे उनीहरुलाई सुट गरिने बताएका छन् ।
चीनको सेन्जेनमा चाहिँ अब बिरालो र कुकुरको मासु खान प्रतिबन्ध लगाइएको छ ।
कोरोना भाइरसका कारण विश्वको अर्थतन्त्रमा पनि निकै ठूलो समस्या देखिएको छ । यसका कारण विभिन्न देशले आर्थिक प्याकेजहरु ल्याएका छन् । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अहिलेसम्मकै ठूलो आर्थिक प्याकेज घोषणा गर्ने वाचा गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।