न्युयोर्कमा मास्क अनिवार्य, जापानमा प्रति परिवार दुई वटा मास्क दिने भनेपछि प्रधानमन्त्रीको चर्को आलोचना

एजेन्सी– अमेरिकी सहर न्युयोर्कमा बाहिर निस्कने सबैले मास्क लगाउनु अब अनिवार्य भएको छ । यसअघि अमेरिकी सहर लस एन्जलसमा पनि मास्क लगाउन अनिवार्य गरिएको थियो । 

लस एन्जलसमा त्यहाँको प्रान्तीय सरकारले आफूहरुले नयाँ मास्कको अर्डर दिएको भन्दै सबै नागरिकले घरबाहिर निस्किँदा अनिवार्य रुपमा मास्क लगाउनु पर्ने नियम लागू गरेको हो ।

अर्कोतिर, अमेरिकी सरकारले पूरै अमेरिकामा मास्क अनिवार्य गर्ने तयारी गरेको छ । तर, यस्तो मास्क लगाउँदा सर्जिकल वा मेडिकल मास्क नै लगाउनु पर्छ भन्ने बाध्यता नभएको अमेरिकी सरकारले जनाएको छ । बरु सर्जिकल मास्क र एन ९५ मास्क चाहिँ स्वास्थ्यकर्मीलाई राखिदिन अनुरोध गरिएको छ । 

मास्कको प्रयोगले कोरोना भाइरसको संक्रमणको गति रोक्न सकिने भएकाले यसलाई नियमका रुपमा अमेरिकी सरकार र त्यहाँका स्थानीय सरकारहरुले अनिवार्य गर्न थालेका हुन् । 

उता, जापानमा चाहिँ प्रधानमन्त्री शिन्जो अबेको मास्ककै विषयमा लिएर चर्को आलोचना गर्न थालिएको छ । अबेले उनको सरकारले पुनप्र्रयोग गर्न मिल्ने दुई वटा मास्क प्रत्येक परिवारलाई उपलब्ध गराउने अभिव्यक्ति दिएपछि उनको आलोचना भएको हो । उनले यस्तो मास्क कपडाको हुने र अन्य मेडिकल मास्क अस्पतालमा नै चाहिने बताएका थिए । 

पछिल्ला केही साता जापानमा पनि कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको छ । सुरुमा कोरोनामाथि नियन्त्रण राख्न सफल जापानमा अब २३ सयभन्दा धेरै जनामा कोरोना भाइरस देखिएको छ । त्यहाँ ५७ जनाको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ ।



बुधबार एक विशेष सम्बोधन गर्दै अबेले कपडाका मास्क तत्काल कोरोना संक्रमणका हटस्पटमा सरकारले प्रत्येक परिवारलाई दुई वटाका दरले दिने बताएका छन् । तर, उनको यो घोषणा आएलगत्तै सामाजिक सन्जालमा जापानीहरुले आफूहरुले दुई वटा मास्क परिवारका कसले लगाउने भन्दै आलोचना गर्न थालेका हुन् । कतिसम्म भने यो विषय केही समय ट्विटरमा ट्रेन्डिङमा समेत रहेको थियो ।  



  • प्रकाशित मिति : चैत २१, २०७६ शुक्रबार ४:१५:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया