राज्यको क्रुर अनुहार

टिप्पणी

तीन महिना यता विश्व कोरोना भाइरस महामारीविरुद्ध लडिरहेको छ । सारा संसार अहिले स्तब्ध छ, भोलि के हुने हो भन्ने अहिलेसम्म निश्चित छैन । 

दिनदिनै बिफ्रिङमा आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मलिनो अनुहार बनाएर आशा गरौँ र सहकार्य गरौँ भनेर आफ्ना नागरिकलाई अनुरोध गरिरहेका छन् । विश्वकै महाशक्ति भनेर आफूलाई बारम्बार परिभाषित गर्ने अमेरिका अहिले कोरोना भाइरसका अगाडि घुँडा टेकेको छ । अर्को विश्व शक्तिका रुपमा आफूलाई अगाडि ल्याएको चीन पनि यसबाट आक्रान्त भएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङ विश्वलाई अब आफू सहयोग गर्न तयार भएको बताइरहेका छन् । 

युरोप र बेलायतको हाल पनि त्यस्तै बेहाल छ । युरोप त अब यो महामारीका कारण सबैभन्दा बढी पीडित भइसकेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसन आफैं क्वारेन्टाइनमा बसेका छन् । तर, बिहिबार साँझ उनी स्वास्थ्यकर्मीलाई हौसला होस् भनेर निवासको गेटमा आउँछन् र ताली बजाउँछन् । 

अनि विश्वभरका जनता कोरोनाविरुद्ध लडिरहेका छन् । 

विडम्बना ! यता नेपालमा हामी कोरोनाविरुद्ध मात्र होइन, यो ‘क्रुसियल’ समयमा सरकारविरुद्ध पनि लड्न परेको छ ।



किनकि सरकारले आफ्नो कुरुप अनुहार देखाएको छ । फलस्वरुपः राज्यको क्रुर अनुहार देखिएको छ ।

विश्वले आफूलाई यी तीन महिनामा कोरोनाविरुद्धको युद्धमा निकै जोडबलका साथ एक भएर अगाडि बढ्नका लागि आह्वान गरिरहेको छ । तर, नेपाली परिवेशमा हामीले हेर्ने हो भने यी तीन महिनामा सरकार काण्डपछि काण्डको चर्चामा अगाडि बढिरहेको छ, दिनहुँ नयाँ काण्डहरु आएका छन् ।



र, पछिल्लो सरकारी नाटक मन्चनमा देखिएका छन्, जिम्मेवार व्यक्तिहरु नै । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेर आराम गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली सायद यसबारे बेखबर छन् कि कोरोनाको संक्रमणले देशलाई कुन अवस्थासम्म पुर्याउन सक्छ भन्नेमा । बेखबर उनी छैनन् भने यसलाई उनी नजरअन्दाज गरिरहेका छन् । गरेका हुँदैनथे भने उनले आफ्नो नेतृत्वको सरकारको छवि राम्रो रहिरहोस् भन्नका लागि केही एक्सन लिने थिए । जस्तो कि, उनले तत्काल स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई बर्खास्त गर्ने थिए । 

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका केही कार्यकर्ताले अहिले प्रश्न उठाइरहेका छन्– आखिर भानुभक्त ढकालले के गरेका छन् र उनले राजीनामा दिनु पर्ने ?

यसको सहज जवाफ उनीहरुले सामाजिक सन्जालमा नै पाइरहेका पनि छन्– उनले गर्नु पर्ने केही गरेका छैनन्, नगर्नु पर्ने सबै कुरा गरेका छन् । 

देशमा कोरोना संक्रमण रोक्नका लागि अहिले दुई साताको लकडाउनमा हामी हिँडिरहेका छौँ । तर, सरकार आफैं लकडाउनको पूर्णपालना गरिरहेको छ । सचेत हुने थियो भने सरकारले यो लकडाउनलाई पूर्णरुपमा उपयोग गर्नुपथ्र्यो । यो समय खासमा सरकारले कोरोना भाइरसविरुद्ध लड्नका लागि पाएको एउटा स्वर्ण समय थियो । तर, यसलाई यसरी उपयोग गर्ने ‘मुड’ तयारीमा सरकार देखिँदैन । 

देखिन्थ्यो भने अहिले अपरिहार्य स्वास्थ्य सामाग्री ल्याउने वाहनामा सरकारले यो तमासा मन्चन गर्ने थिएन । अहिलेसम्म स्वास्थ्य सामाग्री नै नल्याएको कम्पनीलाई यो कामको जिम्मेवारी दिइने थिएन । अब यो सम्झौता रद्द भएको छ । तर, देशमा नयाँ कोरोना भाइरस संक्रमित थपिँदै गएका छन्, स्वास्थ्य सामाग्रीको अभाव छ । यसबारे सरकार गम्भीर भएर अगाडि बढेको देखिँदैन ।

देखिन्थ्यो भने स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पिपिईबारे अलिक पहिले नै बुझ्ने थिए । उनले पत्रकार सम्मेलनमा नै भन्ने थिएनन्– मैले पिपिई भनेको त बल्ल आज थाहा पाएँ, भान्सामा तरकारी पकाउँदा चाहिने जस्तो अहिले गरिएको छ !

तर, यो तमासा मन्चनमा सरकारका स्वास्थ्यमन्त्रीमात्र पनि देखिँदैनन् । 

अरु केही मन्त्रीहरुका पछिल्ला समय विभिन्न सन्चारमाध्यममा आएका अन्तर्वार्ताहरुले उनीहरु पनि यही तमासा मन्चनका सहभागी भएको प्रष्ट हुन्छ । एक हुन्, कोरोना भाइरसविरुद्धको नेपाली लडाइँका कमान्डर ईश्वर पोखरेल । पोखरेल कति गैर जिम्मेवार छन् र उनी कोरोनाविरुद्धको लडाइँमा कति प्रष्ट छन् भन्ने उनले पछिल्लो समय दिएका अभिव्यक्तिले प्रष्ट हुन्छ । उनी भन्छन्– अहिले भावनाको समय होइन । 

देशमा काम नपाएर आफ्ना बालबच्चा हुर्काउन र दुई छाक टार्न भारत पुगेका र महाकालीमा हेलिएर आफ्नो देश आउन लागेका नेपालीबारे उनले गम्भीर भएर सोच्ने थिए । ती देशका नागरिक हुन् भन्ने उनले बिर्सने थिएनन् ।

सरकारले आफ्नो क्रुर र कुरुप अनुहारको उच्चतम नमूना अहिले प्रदर्शन गरिरहेको छ । भारतबाट नेपाल आउन खोज्ने नेपालीलाई सीमामा रोकेर भारतकै जिम्मामा छोड्ने मात्र होइन, अरु देशबाट नेपाल आउने नेपालीलाई समेत अहिले देश नआउ भनिरहेको छ । एउटा राज्यले आफ्नो नागरिकलाई कसरी यस्तो अभिव्यक्ति दिन सक्छ ? किन अमेरिका, फ्रान्स, बेलायत, अष्ट्रेलिया र अरु मुलुकले आफ्ना नागरिकलाई एयरलिफ्ट गरेर नेपालबाट लैजाँदै छन् ? के यो जिम्मेवार पदमा बसेका मानिसहरुले सोच्नु पर्ने होइन ? सोच्नु पर्ने हो तर यहाँ त यी विषयमा कुरा उठाउँदा जिम्मेवार मन्त्री नै जवाफ दिन्छन्– आलोचना गर्न खोजियो, गिद्धले सधैं फोहोर हेर्छ, फूल हेर्दैन । 

सायद सिंहदरबारमा टावल राखिएका कुर्चीमा बस्दा उनीहरु सोच्छन्– आफूहरुले फूलैफूलका बगैंचा बनाएका छन् ।

अनि उनीहरुको कानसम्म पक्कै पुग्दैन, नेपालीको रोदन ।

  • प्रकाशित मिति : चैत २१, २०७६ शुक्रबार ५:१७:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया