ओलीले हुर्काएको एउटा संस्कारः गल्ती गर, मिडियालाई दोष देऊ
फाइल तस्वीर ।

गत डिसेम्बरको अन्त्यतिर वुहानमा एउटा नयाँ भाइरस मानिसमा संक्रमण भएको देखियो । त्यही भाइरस अर्थात् कोरोनाभाइरसले अहिले विश्व तरंगित भएको छ । यो भाइरसको संक्रमणपछि विश्वमा झन्डै एक लाखले ज्यान गुमाइसकेका छन् ।

भाइरस संक्रमण चीनबाट विश्वका अरु देशमा पनि देखिन थालेपछि विश्व स्वास्थ्य संगठनले चेतावनी दियो– नेपाल पनि कोरोनाभाइरसको उच्च जोखिममा छ । 

यता, नेपालमा केपी ओली सरकारका जिम्मेवार र युवाले आश गरेका मन्त्री योगेश भट्टराई त्यति बेला नेपाललाई कोरोनाभाइरस फ्रि जोन घोषणा गरेर चिनियाँ पर्यटकलाई नेपाल भित्र्याउने भन्दै थिए । तर, उनको यो अभिव्यक्तिको यति ठूलो आलोचना भयो कि उनले तत्काल एउटा विज्ञप्ति निकालेर आफूले त्यस्तो नभनेको, मिडियाले बंग्याएको बताउन थाले । त्यसो त मन्त्री भट्टराईले मिडियालाई दोष दिएको यो पहिलो पटक थिएन । जंगलमा डडेलो लागेर ठूलो विपत्मा परिरहेका बेला उनी अष्ट्रेलिया पुगेका थिए । त्यहाँ उनको विरोध भएको र सिड्नीमा उनलाई स्थानीय प्रहरीले रोकेको समाचार सार्वजनिक भयो । यसमा पनि उनले त्यस्तो नभएको तर मिडियाले अनावश्यक रुपमा लेखेको प्रतिक्रिया दिन थाले । 

यो एउटा सानो उदाहरण हो जसले केपी ओली सरकारमा भएका मन्त्रीले बारम्बार मिडियामाथि आरोप लगाएको प्रष्ट्याउँछ । 

तर, यो सिलसिला नयाँ होइन र अझै पनि रोकिएको छैन । 

यो त केपी ओलीले आज होइन, वर्षौअघि हुर्काएको एउटा संस्कार हो । उनीसँग जो निकट थिए, छन् र हुन चाहन्छन्, उनीहरु आफू गल्ती गर्छन् र त्यही कुरा मिडियामा आउँदा मिडियालाई नै दोषी मान्छन् ।



यसको सिलसिलाका लागि केही पहिलेको एउटा घटना स्मरण गरौँ । 

त्यति बेला एमाले र माओवादी एकअर्काका कडा दुश्मन थिए । माओवादीले आफ्ना भातृसंगठन बनाएको थियो, वाइसियल । अनि त्यसलाई टक्कर दिन एमालेको भातृसंगठनको युवा संघले पनि एउटा इकाइ गठन गरेको थियो, युथ फोर्स । युथ फोर्सको नेतृत्व गरेका थिए, महेश बस्नेतले । 



सुशील कोइराला प्रधानमन्त्री हुँदा उद्योग मन्त्रालयको नेतृत्वको गरेका बस्नेत त्यति बेला एउटा ठूलो विवादमा तानिए । उनले विराटनगरमा युवासंघका कार्यकर्ता पर्शुराम बस्नेतलाई समर्थन गर्दै मिडियामाथि चुनौतिपूर्ण कुरा गरेका थिए, पत्रकार नारायण वाग्लेलाई जेल पठाउने अभिव्यक्ति दिएका थिए ।

पछि उनी मन्त्री हुँदा उनको संस्मरण निस्किएको छ– म महेश । पुस्तकमा बस्नेतले यसलाई मिडियाले अतिरन्जित गरेको बताएका छन् । 

यो विषयमा यति ठूलो विवाद उत्पन्न भएको थियो कि केपी ओली स्वयंले विभिन्न पत्रपत्रिकाका सम्पादकहरुलाई बानेश्वरको एउटा रेष्टुरेन्टमा बोलाए । अनि त्यहाँ महेश बस्नेतले बोलेको अडियो टेप नै उनले सम्पादकहरुलाई सुनाएका थिए । र, बस्नेतको कुरा गलत तरिकाले मिडियामा आएको भन्दै असन्तुष्टि पोखेका थिए । बस्नेतले यो कुरा उनको संस्मरणमा पनि लेखेका छन् । 

अर्थात्, यसपटक सत्तामा आएपछि होइन, केपी शर्मा ओलीले वर्षौअघिदेखि मिडियालाई दोष देखाउँदै आएका थिए ।

ठ्याक्कै यही कुरा उनले २५ चैतमा कोरोनाभाइरस संक्रमण रोक्नका लागि सरकारले आह्वान गरेको लकडाउनको १५ दिनपछि गरेको सम्बोधनमा पनि दोहो¥याए । उनले त्यो सम्बोधनमा भने– 

नागरिकको जीवनरक्षाभन्दा महत्वपूर्ण कुरा अरु हुन सक्दैन । सामान्य अवस्थाका लागि बनेका नियमित प्रक्रियाहरु यस्तो असामान्य अवस्थाका लागि पर्याप्त हुँदैनन् । त्यसैले स्वास्थ्य उपकरणको आपूर्तिका लागि विशेष व्यवस्था गरिएको हो । अवस्था सामान्य होस् या असामान्य, सरकारका कामकारबाहीहरु विधिसम्मत् हुनुपर्छ र  सुशासनका मानकमा ती खरो उत्रिनै पर्छ । सरकारका काम कुनै पनि संवैधानिक अङ्गहरुको सम्परीक्षणभन्दा माथि हुँदैनन् । तिनले गर्ने अध्ययन र गर्ने फैसलाका लागि सरकार हमेशा तयार रहन्छ । तर कामै गर्न नसक्ने र  प्रक्रिया नै सुरु हुन नसक्ने गरी गरिने निराधार आरोप र मिथ्या प्रचारले अप्ठ्यारो अवस्थामा काम गरिरहेका व्यक्तिहरुलाई निरुत्साहित मात्रै गर्छ भन्ने कुरामा सबैले ध्यान दिनुपर्छ भन्ने मात्र मेरो आग्रह छ ।

समाजमा उठ्ने गरेका, खासगरी मिडिया र सामाजिक सञ्जालमा आउने गरेका आलोचना, टिप्पणी र सुझावप्रति मेरो पर्याप्त ध्यान गएको छ । मानवजाति विरुद्ध आइलागेको राष्ट्रिय र विश्वव्यापी संकटको यस्तो परिस्थितिमा एकजुट भई लड्नु पर्ने समयमा सरकारलाई असफल देखाउन र आफ्ना विभिन्न प्रकारका निहीत स्वार्थ पूरा गर्न चलाइएका प्रचारबाजी बेमौसमी बाजा जस्तै हो र यस्तो प्रवृत्ति किमार्थ प्रशंसनीय हुन सक्दैन । भ्रष्टाचार नगर्ने र हुन नदिने वर्तमान सरकारको प्रतिवद्धतालाई लगातारको निराधार कूप्रचारले कमजोर पार्न सक्ने छैन । कहिँ कतै अनियमितता र भ्रष्टाचारजन्य कुरा देखिएमा निर्ममतापूर्वक कारवाही गर्न वर्तमान सरकार किंचित पछि पर्ने छैन ।

त्यही सम्बोधनमा ओलीले वैयक्तित स्वतन्त्रता र जीवनरक्षामध्ये एक रोज्न पनि भनेका छन् । यसको अर्थ हो, उनी विस्तारै नेपाली मिडियामा सेन्सर लागु गर्न खोजिरहेका छन् । 

ठ्याक्कै चीन अहिले त्यस्तै गरिरहेको पश्चिमा मिडियाहरुको दाबी र त्यहाँ आएका समाचारहरुले प्रष्ट्याउँछन् । चीनमा कोरोनाभाइरस संक्रमण देखिएपछि सबैभन्दा सुरुमा डा. लीले आफ्ना समकक्षीहरुसँग यसबारे जानकारी दिएका थिए । तर, उनलाई नयाँ अफवाह फैलाउन खोजेको आरोपमा चीनमा सरकारले चेतावनी दिएको थियो । दुःखको कुरा डा. लीले यो सब देख्न पाएनन्, कोरोनाभाइरसले विश्वभर मच्चाएको यो पीडा देख्न पाएनन् ।

कोभिड १९ कै कारण उनको मृत्यु भयो । 

चीनमा यस्तै खाले अर्को घटना पनि अहिले बाहिर आएको छ । त्यहाँ एक व्यापारीलाई चिनियाँ सरकारले गायब पारेको उनकै साथीहरुले मिडियाहरुमा जानकारी दिन थालेका छन् । ती व्यवसायी हुन्– रेन झिक्वियाङ । उनको कमजोरी भनेको एउटै हो– उनले सरकार कोरोनाभाइरस संक्रमणमा प्रभावकारी काम गर्न नसकेको भन्दै एउटा लेख लेखेका थिए । 

उनीबारे केही दिनअघि मात्र सिएनएनमा समाचार आएको छ– 

कोरोनाभाइरस महामारीबारे चिनियाँ राष्ट्रपति सी जिनपिङको आलोचना गरेका चिनियाँ अर्बपतिलाई अब चीनमा सोधपुछ गर्न थालिएको छ । उनीमाथि अनुसन्धान हुने बेइजिङका अधिकारीले जनाएका छन् । 

रेन झिक्वियाङलाई चीनका ठूला जग्गा कारोबारी हुन् । उनको चिनियाँ अधिकारीहरुसँग राम्रो सम्बन्ध रहेको यसअघि बताउँदै आइएको थियो । तर, उनले अहिले चिनियाँ कम्युनिस्ट पार्टीबारे गम्भीर गल्ती गरेको आरोप लगाइएको छ ।

चिनियाँ अधिकारीले जारी गरेको विज्ञप्तिमा यसबारे थप उल्लेख गरिएको छैन । 

६९ वर्षका यी चिनियाँ व्यापारीले यसअघि पनि सरकारको आलोचना गर्ने गरेका थिए । त्यसैले पनि उनलाई चिनियाँ सामाजिक सन्जालमा द क्याननको नामले चित्रित गरिन्छ । 

रेन कम्युनिस्ट पार्टीका सदस्य पनि हुन् । तर, उनी मार्चको बीचबाट हराइरहेको उनका साथीहरुले बताएका छन् । उनी पछिल्लो पटक १२ मार्चमा भेटिएका थिए । उनकी अत्यन्त निकट साथी वाङ यिङले चिनियाँ अधिकारीहरुले उनलाई नियन्त्रणमा लिएको हुनसक्ने बताएकी छिन् ।

उनले मार्चको सुरुवातमा नै एउटा लेख लेखेर चिनियाँ राष्ट्रपति सी जिनपिङले कोरोनाभाइरस महामारीमा प्रभावकारी भूमिका खेल्न नसकेको आरोप लगाएका थिए । उनले चिनियाँ नागरिकको स्वास्थ्य र सुरक्षालाई ख्याल नगरी चिनियाँ कम्युनिस्ट पार्टीका नेताले आफ्नो स्वार्थ पूरा गर्न बढी ध्यान दिएको आरोप लगाउँदै आएका थिए ।

 

अब फर्किऔँ फेरि नेपालकै प्रसङ्गमा ।

आज दिउँसो कोभिड १९ रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकमा एउटा निर्णय भयो– शुक्रबार र शनिबार काठमाडौंबाट  विशेषगरि मजदूरी गर्नेहरुलाई सरकारले नै उनीहरुको गाउँमा पुर्याइदिने । यसका लागि समितिको निर्णय बाहिर आयो । तर, केही समयमा नै सरकारले यो निर्णय रद्द गर्न बाध्य भयो । 

त्यसपछि समन्वय समितिका संयोजक तथा रक्षामन्त्री आफ्नो बचाउमा लागे । अनि बचाउका लागि उनले सबैभन्दा बढी मिडियालाई नै दोष दिए । उनको अध्यक्षतामा बसेको बैठकमा उनले जे गरेका थिए, त्यसलाई मिडियाले क्यारीमात्र गरेको थियो । तर, आफ्नो दोष वा गल्ती लुकाउनकै लागि उनले दोष मिडियालाई लगाइदिए । 

आखिर उनी पनि त त्यही डुङ्गाका सहयात्री छन्, जसलाई प्रधानमन्त्री ओलीले डोर्याइरहेका छन् !

  • प्रकाशित मिति : चैत २७, २०७६ बिहीबार २३:४९:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया