बेलायती प्रधानमन्त्री बोरिस जोनसनले अस्पतालबाट डिस्चार्ज भएपछि पहिलो प्रतिक्रिया दिएका छन् । कोरोनाभाइरस संक्रमण भएपछि उपचारका लागि अस्पताल पुगेका बोरिसले आफ्नो उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई धन्यवाद दिँदै भनेका छन्– जे पनि हुनसक्थ्यो, म ठिक भएर फर्किएँ ।
५५ वर्षका बोरिसलाई लन्डनको सेन्ट थोमस अस्पतालमा कोरोनाभाइरस संक्रमण देखिएको १० दिनपछि भर्ना गरिएको थियो ।
उनले अस्पतालको सघन उपचार कक्ष (आइसियू)मा तीन रात बिताए । गत बिहिबार सामान्य वार्डमा फर्किएका उनी आजमात्र अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
उनले ट्विटरमा एउटा भिडियो राख्दै आफूले त्यहाँका स्वास्थ्यकर्मीमा ‘व्यक्तिगत साहस’ भेटेको बताएका छन् ।
उनले दुई नर्स– न्युजिल्यान्डकी जेनी र पोर्चुगलकी लुईस, उनको शैय्याको छेउमा २४ घन्टा बसेको पनि बताएका छन् । अत्यन्त गम्भीर समयमा आफूले पाएको उपचारको उनले प्रशंसा गरेका छन् ।
‘आफैंलाई पनि जोखिममा राखेर,’ उनले त्यहाँका स्वास्थ्यकर्मीबारे भनेका छन्, ‘यो भाइरसविरुद्ध उनहिरु लडिरहेका छन् ।’
आज अस्पतालबाट डिस्चार्ज भए पनि उनको मेडिकल टिमले दिएको सल्लाहअनुसार उनी तत्काल काममा फर्किने छैनन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।