एजेन्सी– विश्वभर कहर मच्चाइरहेको कोरोनाभाइरसलाई आफूहरुले नियन्त्रणमा लिन सकेको न्युजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डा अर्डनले दाबी गरेकी छिन् । उनले अरु देशको तुलनामा न्युजिल्यान्डले यो भाइरसलाई जित्न सहजै सकेको पनि बताएकी छन् ।
यो भाइरसबारे जानकारी दिन न्युजिल्यान्डमा गरिने दैनिक पत्रकार सम्मेलनमा जेसिन्डाले यस्तो बताएकी हुन् । उनले कोरोनाभाइरस संक्रमणलाई न्युजिल्यान्डमा फैलिन नदिन पनि आफूहरु सफल भएको बताएकी छन् ।
न्युजिल्यान्डमा कोरोनाभाइरसका कारण अहिलेसम्म १२ जनाको मात्र मृत्यु भएको छ । जेसिन्डाले अब त्यहाँको सरकारले प्रत्येक नागरिकलाई फोनबाट नै स्वास्थ्य जानकारी दिने र अन्यको पनि आफूहरुले फोनबाट नै जानकारी लिइरहेको पनि बताएकी छिन् ।
‘हामी त्यस्ता सिमित देशमा परेका छौँ,’ उनले भनेकी छिन्, ‘जसले समयमा नै यस्तो महामारीमा पनि काम गर्न पाएका छौँ ।’ उनले त्यहाँ सरकारी अधिकारीहरुले देशमा कोरोनाभाइरसको कम्युनिटी ट्रान्समिसन हुन नदिने कुरामा ढुक्क भएको पनि बताएकी छिन् ।
यसका साथसाथै न्युजिल्यान्डमा लगाइएको लकडाउन २८ अप्रिलपछि अलिक खुकुलो पारिने पनि बताइएको छ । अब त्यहाँ घरमा नै बस्नु पर्ने नियम चाहिँ लागु गरेर विस्तारै पसलहरु पनि खुल्ने योजना बनाउन थालिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।