सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले भने– वामदेवलाई प्रधानमन्त्री बनाऔँ, माधव नेपाललाई अध्यक्ष !

काठमाडौं– जारी विवादबीच सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको बुधबार साँझ भएको सचिवालय बैठकको निर्णय अर्को बैठक २० गते बस्ने भन्ने भयो । तर, ३ घन्टा लामो बैठकमा अरु के विषयमा कुराकानी भए भन्ने समाचार खासै बाहिर आएका छैनन् । अब विस्तारै बैठकमा भएका छलफलहरु बाहिरिन थालेका छन् । 

यसैबीच आजको सचिवालय बैठकमा अधिकांश समय प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना कुरा राखेको एक नेताले बताएका छन् । 

बुधबार अबेर राति फरकधारको सम्पर्कमा आएका नेकपाका सचिवालय सदस्यले भने, ‘आज सबै नेताहरुले आफ्ना केही कुराहरु राख्नु भयो । तर, अधिकांश समय ओली कमरेडले आफ्नो धारणा राख्नु भयो ।’

बैठकको सुरुवातामा नै प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई असहयोग भएको र सरकारको काममा पार्टीले अनावश्यक हस्तक्षेप गरेको गुनासो गरेका थिए । 

‘मैले साथीहरुका कुरा बुझेको छु,’ ओलीले बैठकको सुरुवातमा भनेको कुरालाई ती सचिवालय सदस्यले उद्धृत गरे, ‘मलाई छोड्नै पर्ने बनाउन खोज्नु भएको हो भने मेरो पनि कुरा छ ।’

त्यसपछि उनले वामदेव गौतमलाई प्रधानमन्त्री बनाऔँ भन्ने चर्चा गरे । ‘हामी यहाँ प्रधानमन्त्री भइसकेका म, प्रचण्डजी, माधवजी, झलनाथजी छौँ, वामदेव कमरेड प्रधानमन्त्री हुनु भएको छैन, एउटा निर्वाचन क्षेत्रमा उहाँलाई उठाएर जिताएर ल्याएर प्रधानमन्त्री बनाऔँ, म छोडिदिन्छु,’ प्रधानमन्त्री ओलीले भनेका थिए, ‘अनि पार्टी अझ बलियो बनाउने हो भने माधव कमरेडलाई अध्यक्ष बनाऔँ, महाधिवेशन गरौँ ।’



प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठकमा महाधिवेशन तत्काल बोलाउने तयारी गरौँ भन्ने प्रस्ताव राखेको ती सचिवालय सदस्यले जानकारी दिएका छन् । 

ओलीको यो प्रस्ताव आइसकेपछि बैठकमा खासै कुराकानी नभएको उनले बताए । 



‘वामदेव गौतममाथि बारम्बार प्रहार भयो, यसअघिका प्रयासहरु पनि सबै नकारात्मक प्रचार भए,’ बैठकमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने, ‘सधैं यस्तो गर्दा पार्टीकै बदनामी बढी भयो ।’

ती सचिवालय सदस्यका अनुसार आजको बैठकमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले भने खासै केही बोलेनन् ।
 

  • प्रकाशित मिति : बैशाख १७, २०७७ बुधबार २२:५८:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया