प्रचण्ड–नेपालको बटमलाइनः पहिले प्रधानमन्त्रीको राजीनामा, अनि थप छलफल
फाइल तस्वीर ।

केही दिन यता देखिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरुबीचको विवाद र आआफ्नै अडान तत्काल रोकिने देखिँदैन । नेकपाका शीर्ष नेताहरु आआफ्नो अडानमा कायम रहेकाले यो विवाद केही परसम्म धकेलिने निश्चित भएको छ । 

यहीबीच दुई दिनअघि बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष प्रधानमन्त्रीले एउटा प्रस्ताव राखेका थिए । अनपेक्षित रुपमा आएको यो प्रस्तावमा प्रधानमन्त्री ओलीले आफू राजीनामा दिन तयार रहेको समेत बनाए । उनले आफूले राजीनामा दिएर नेकपा उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री र नेकपाका तेस्रा अध्यक्षमा वरिष्ठ नेता माधवकुमार नेपाललाई ल्याउने प्रस्ताव राखे । 

यो प्रस्ताव आएसँगै प्रचण्ड–नेपाल–गौतमबीचको गठबन्धनमा ‘हलचल’ मच्चिएको बुझिएको छ । तर, यी तीन नेता एकअर्कासँग छलफलमा पनि जुटिरहेका छन् । 

प्रचण्ड निकट एक नेताका अनुसार यस विषयमा प्रचण्ड र नेपालबीच दैनिक सल्लाह भइरहेको छ । उनले यी छलफलबाट आफूहरुले प्रधानमन्त्री अ‍ोलीको यो प्रस्ताव अस्वीकार गर्ने निर्णय गरेका छन् । यसको स्पष्ट संकेत त बिहीबार प्रधानमन्त्री निवास पुगेका नेपालले ओलीलाई दिएको जवाफबाट पनि प्रमाणित हुन्छ । 

बालुवाटार पुगेर नेता नेपालले ओलीलाई आफू तेस्रो वरियतामा अहिले अध्यक्ष बन्न नचाहेको बताएको र ओलीले पार्टी बचाउनका लागि निकास दिनु पर्ने बताएको प्रचण्डनिकट ती नेताको दाबी छ । 

‘यो विषयमा उहाँहरुबीच पहिले नै छलफल भइसकेको थियो,’ उनले फरकधारसँग भने, ‘त्यसैले अहिले प्रधानमन्त्री ओलीबाट आएका प्रस्ताव सबै ललिपप मात्र हुन्, ती २० गतेको सचिवालय बैठकसम्म पग्लिइसकेका हुन्छन् ।’



उनले वामदेव गौतमलाई अहिले प्रधानमन्त्री बनाउने सम्भावना नै नभएको निष्कर्षमा पनि यी तीन नेता पुगेको दाबी गरेका छन् । ‘सिट खाली गराएर निर्वाचन गरेर उहाँलाई अहिले प्रधानमन्त्री बनाउनु सम्भव कुरा होइन,’ उनले भने, ‘अब संविधान संशोधन गर्ने कुरा पनि आउँदैन किनकि यसको विरोध यसअघि नै भइसकेको छ ।’

यदि यस्तो अवस्था आउने हो भने पनि प्रचण्ड–नेपाल–वामदेव गठबन्धन पहिले ओलीले राजीनामा दिनु पर्ने निष्कर्षमा पुगेका  छन् । 



‘पार्टीलाई बदनाम हुनबाट बचाउनका लागि पनि यस्तो गर्नैपर्छ,’ उनले भने, ‘त्यसैले अहिले उहाँका लागि बटमलाइन नै राजीनामा हो भन्ने मैले बुझेको छु, यसमा उहाँ पनि सहमतीमा आउनुहुन्छ होला ।’
 

  • प्रकाशित मिति : बैशाख १९, २०७७ शुक्रबार १५:३४:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया