काेराेनाबाट बेलायतमा मात्र ६० नेपालीले गुमाए ज्यान

कोरोना भाइरस (कोभिड १९) बाट वेलायतमा ज्यान गुमाउने गैरआवासीय नेपालीको संख्या ६० पुगेको छ। नेपाली दूतावास लण्डनका प्रवक्ता शरदराज आरनका अनुसार सोमवार विहानसम्म ५० जना पुरुष र १० जना महिलाको कोरोना संक्रमणले निधन भएको छ।

नेपाली दूतावास लण्डनका अनुसार निधन भएका मध्ये ४९ जना भूपु गोरखा हुन् भने बाँकी अन्य पेशामा आबद्ध थिए। दूतावासले बेलायतको रक्षा मन्त्रालय, स्थानीय काउन्सिल तथा अस्पताल र बिभिन्न संघसँस्थाबाट प्राप्त सूचनाको आधारमा सो तथ्यांक संकलन गरेको हो। आरनका अनुसार पछिल्लो सातादेखि नेपाली समुदायमा कोरोना भाइरसको संक्रमण उल्लेख्य रुपमा घटेको छ। 

'दूतावासलाई प्राप्त सूचना अनुसार कोडिभ १९ बाट संक्रमण भएर अस्पताल भर्ना हुनेको संख्या र संक्रमणको गति निकै न्युन हुदैं गएको छ ' आरनले नागरिकन्यूजसंग भने।

यसअघि गैरआवासीय नेपाली संघ (एनआरनए) को स्वास्थ्य समितिले आइतवार प्रकाशन गरेको तथ्यांकमा बेलायतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ५१ जना देखाएको थियो। एक दिनपछि सो संख्या बृद्धि भएर ६० जना पुगेको हो।

दूतावासले जारी गरेको नयाँ तथ्यांक पछि कोरोनाको कारणले विश्वभर निधन हुने नेपालीको संख्या ८७ पुगेको छ। यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ। न्युयोर्कमा १२, कोलोराडोमा दुई र भर्जिनियामा एक जनाको मृत्यु भएको हो। यस्तै संयुक्त अरब इमिरेट्स (युएइ) मा ६ तथा आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्डस, बहराइन र स्वीडेनमा एकएक जनाको कोरोना भाइरसका कारण ज्यान गएको एनआरएनएले जनाएको छ।





  • प्रकाशित मिति : बैशाख २९, २०७७ साेमबार २०:३:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया