नेपालले जारी गरेको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सलाई समर्थन गरेपछि अभिनेत्री मनिषा कोइरालामाथि भारतीय मिडियाहरु खनिन थालेका छन् ।
नेपालको भूमि भारतले अतिक्रमण गरेसँगै नेपालले पनि यसमा समयमा नै एक्सन लिएर नयाँ राजनीतिक नक्सा जारी गरेको छ । यही विषयमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको ट्विटमा मनिषाले प्रतिक्रिया जनाएकी थिइन् ।
उनले यसमा प्रतिक्रिया जनाएसँगै भारतीय मिडियाहरु उनको विरुद्धमा खनिएका छन् । भारतीय टिभी एबिपीले त उनको नाममा प्रश्न नै सोधेको छ– भारतको खाने, चीनको गीत गाउने ?
भारत र नेपालको सीमा विवादमा नेपालको पक्ष लिएको भन्दै एबिपीले लेखेको छ, ‘नेपालमा जन्मेकी अभिनेत्री मनिषा कोइरालाले नेपाल सरकारको समर्थन गरेकी छन् । उनीहरुको सरकारले भारतको तीन क्षेत्र कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको रहेको दाबी गरेको छ ।’
लिम्पियाधुरासहित ३३५ वर्ग किलोमिटर भूमि समेटिएको नक्साको पक्षमा उभिएको भन्दै अहिले भारतीय मिडियाले मनिषाको आलोचना गरेका छन् । उनको यो पक्षधरतालाई केही भारतीय मिडियाले चीनको पक्ष लिएको भनेर समेत लेखेका छन् । नेपालले चीनको उक्साहटमा नयाँ नक्सा जारी गरेको भन्दै आएका भारतीय मिडियाले मनिषालाई ‘भारतको खाएर चीनको गाएको’ भन्ने आरोप लगाएका हुन् ।
अभिनेत्री कोइरालाले सोमबार ट्विटरमा मन्त्री ज्ञवालीको ट्विट रिट्विट गरेकी थिइन्– हाम्रो सानो राष्ट्रको गरिमा बनाइरहनु भएकोमा धन्यवाद । तीन राष्ट्रबीच शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा छलफल होस् भन्ने आशा गर्छौं ।
नेपालमा जन्मिएकी अभिनेत्री कोइरालले भारतलाई आफ्नो कर्मथलो बनाइन् । उनले लामो समय बलिउडमा राम्रो राज गरेकी थिइन् । सौदागर, बम्बे, अग्नीसाक्षी, खामोशी, १९४२– अ लभस्टोरी, दिलसे, मन, अकेले हम अकेले तुम, गुप्त, कम्पनीलगायतका थुप्रै फिल्ममा उनले अभिनय गरेकी छिन् ।
यही आधारलाई बनाएर भारतीय मिडिया उनीमाथि खनिएका हुन् ।
यता, भारतीय मिडिया उनीमाथि खनिएपछि नेपालीहरुले पनि मनिषा कोइरालाको पक्षमा व्यापक लेख्न थालेका छन् । भारतीय मिडियाको विरोधमा अब सामाजिक सन्जालमा निकै ठूलो स्वर सुन्न थालिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।