थप उपचारका लागि हेलिकाेप्टरबाट उद्धार गरी काठमाडौं लगिएकी खाँदबारी नगरपालिका– ६ की एक सुत्केरीको मृत्यु भएको छ।
उपचारका लागि परोपकार प्रसूतिगृह तथा स्त्रीरोग अस्पताल थापाथली पुऱ्याइएकी ३२ वर्षीया गंगा कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ। कार्कीको शुक्रबार राति १०ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक मीमबहादुर लामाले जानकारी दिए।
राससका अनुसार कार्कीले जन्म दिएको नवजात शिशुको एक महिनाअघि नै विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको थियो। शिशु गुमाएकी कार्कीलाई नेपाली सेनाको हेलिकाेप्टरमार्फत शुक्रबार ४ बजे काठमाडौं लगिएको थियो। जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि उनलाई प्रसूतिगृह लगिएको हो।
प्रसूति बेथा लागेपछि ४ चैतमा जिल्ला अस्पताल खाँदबारीमा उनलाई भर्ना गरिएको थियो। चिकित्सकले शिशु अप्ठ्यारो गरेर बसेको भन्दै विराटनगरस्थित नोबेल अस्पताल रिफर गरेका थिए। नोबेल अस्पतालमा मृत शिशु जन्मेपछि उनी बेहोस भएकी थिइन्।
कार्की परिवारले नोबेल अस्पतालमा दुई लाखभन्दा बढी खर्च भएको जनाएका छन्। अस्पतालमा थप शुल्क तिर्न नसकेपछि उनलाई घर लगिएको थियो। घरमा लगेपछि अवस्था झन् गम्भीर भएपछि उनलाई पुनः जिल्ला अस्पताल हुँदै काठमाडौं लगिएको थियो।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।