कतै लकडाउन खोल्न हामी हतार त गरिरहेका छैनौँ ?

सरकारले कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि आह्वान गरेको लकडाउनलाई विस्तारै खुकुलो बनाउँदै लैजाने योजना बनाएको छ । यसअघि ३२ जेठसम्म लकडाउन लगाउने भनिएको भए पनि सरकारले २५ जेठबाट नै लकडाउनलाई खुकुलो बनाउने तयारी गरेको छ ।

१ असारबाट नेपालभित्र आन्तरिक उडान पनि सुरु गर्ने तयारी गरिएको छ । भदौ अन्त्यसम्म विभिन्न पाँच चरणमा लकडाउनलाई अन्त्य गर्ने योजनामा सरकार छ ।

सामाजिक सन्जालमा पनि आम आवाज उठ्न थालेको छ– लकडाउनका कारण निकै समस्या भइसकेको छ, अब यसलाई खुकुलो बनाउनु पर्छ । काठमाडौंलगायत विभिन्न सहरमा व्यवसायीहरुले विस्तारै पसलहरु पनि खोल्न थालेका छन् । काठमाडौंमा दैनिक चहलपहल बढेको छ ।

एउटा तर्क छ– अब पनि लकडाउन नखोल्ने हो भने अरु समस्याका कारण नेपालीहरु समस्यामा पर्छन् । 

यो सही पनि हो । देशमा लकडाउन सुरु भएको ७२ दिन पुगिसकेको छ । योबीचमा धेरैले रोजगारी गुमाएका छन्, व्यवसायहरुले निकै ठूलो घाटा पनि व्यहोरेका छन् ।

सँगसँगै के पनि हो भने नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या बढिरहेको छ । अब त दैनिक २५० भन्दा धेरै संक्रमित भेटिन थालेको एक साता नै भइसकेको छ । नेपालमा कोरोनाभाइरसका कारण अब दैनिकजसो मृत्युका खबर आउन थालेका छन् । क्वारेन्टाइनमा नै संक्रमितको मृत्यु हुने क्रम रोकिएको छैन ।



कोरोनाभाइरस संक्रमितको संख्या बढिरहेको यो समयमा लकडाउन खोल्नु कति उचित होला ?

एकपटक अन्तर्राष्ट्रिय अभ्यास हेरौँ र नेपालको अवस्थालाई तुलना गरौँ ।



युरोपमा सबैभन्दा बढी प्रभावितमध्येको एक स्पेनले १३ मार्चमा लकडाउन लगायो । र, अप्रिल अन्त्यमा लकडाउनलाई खुकुलो बनायो । लकडाउनको समयमा स्पेनमा अत्यधिक धेरै कोरोनाभाइरस परीक्षण गरिए । त्यसैले त्यहाँ लकडाउन सुरु भएपछि संक्रमितको संख्या बढ्न थाल्यो । विस्तारै जब संक्रमितको संख्या घट्न थाल्यो, अनि बल्ल स्पेनले लकडाउनलाई खुकुलो बनाउँदै लग्यो । 

जर्मनी, इटाली र बेलायतमा पनि ठ्याक्कै कोरोनाको कर्भ यस्तै देखिएको छ । त्यहाँ लकडाउन लगाइएको समयपछि केही समयसम्म कोरोनाभाइरस संक्रमितको संख्या बढेको छ । तर, जब संक्रमित कम भेटिन थाले, यी देशहरुले विस्तारै लकडाउन खोल्दै गएका छन् । 

अब लागौँ, छिमेकी देश भारतको सन्दर्भमा ।

भारतमा नेपालको भन्दा एक दिनपछि लकडाउन लगाइएको थियो । त्यहाँ विभिन्न चार चरणमा लकडाउन थपियो ।

लकडाउन लगाएपछि भारतमा केही समयसम्म कोरोना संक्रमितको संख्या भेटिन कम भएको थियो । तर, भारतको ग्राफ हेर्दा प्रष्ट हुन्छ, ३० मेमा भारतले लकडाउनलाई खुकुलो बनाएसँगै भारतमा तीव्र गतिमा कोरोना संक्रमित भेटिन थालेका छन् । दैनिक अब भारतमा ६ हजारभन्दा बढी संक्रमित भेटिएका छन् । त्यहाँ दैनिक कोभिड १९ का कारण हुने मृत्यु पनि बढिरहेको छ ।

अब लागौँ, नेपालको सन्दर्भमा । 

नेपालमा पनि ११ चैतमा लकडाउन आह्वान गरियो । अहिलेसम्म बारम्बार थपेर लकडाउन बढाइएको थियो । तर, व्यापक दबाब भएपछि सरकारले यसलाई खुकुलो बनाउने योजना बनाउन थालेको छ । 

तर, के यो लकडाउन खुकुलो बनाउने समय आएको हो ?

नेपालमा पछिल्लो समय देखिएको कोरोनाभाइरस संक्रमितको ग्राफलाई हेर्ने हो भने यो लकडाउन खोल्ने ठिक समय होइन । किनकि स्पेन, जर्मनी, इटाली, चीन, बेलायतलगायत देशले लकडाउन त्यति बेला मात्र खोलेका थिए जब त्यहाँ कोरोनाभाइरस संक्रमितको संख्या घट्दो देखिन थालेको थियो ।

तर, नेपालमा जति समय लकडाउन लगाइयो, त्यो समयमा परीक्षण नै भएन । यसर्थ, नेपालमा कोरोनाभाइरस संक्रमित भेटिने क्रम कम रह्यो । जब नेपालमा परीक्षणका लागि किट आएको छ, संक्रमित भेटिन थालेका छन्, तब देशमा लकडाउन खुकुलो बनाउने भनिएको छ । 

अर्कोतिर, नेपालका क्वारेन्टाइनमा नै अहिले पर्याप्त परीक्षण भएको छैन । क्वारेन्टाइनमा निधन भएकाहरुको मृत्युपछि बल्ल परीक्षण गरिएको छ र कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

हाम्रो कमजोर स्वास्थ्य सेवा प्रणालीका कारण कतै लकडाउन खुकुलो बनाउँदा थप समस्या आउने त होइन ?

  • प्रकाशित मिति : जेठ २४, २०७७ शनिबार ५:४७:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया