काठमाडौं– प्रत्येक स्थानीय तहलाई मातृत्व तथा प्रजनन स्वास्थ्य सेवा प्रयोजनका लागि अनुदान रकमको मागसहित दायर भएको एक रिटमा सर्वोच्च अदालतले सरकारसँग लिखित कारण माग गरेको छ ।
महिला कानुन तथा विकास मञ्चका तर्फबाट अधिवक्ताहरु सविन श्रेष्ठ, नवीनकुमार श्रेष्ठ, पूर्णा श्रेष्ठ, सोनाली रेग्मीरोशना श्रेष्ठ र दीपेश श्रेष्ठले संयुक्त रुपमा रिट दायर गरेका थिए ।
सर्वोच्चका न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले लिखित कारण माग गर्दै विषयवस्तुको प्रकृतिबाट चाँडो किनारा लगाउन आवश्यक देखिएको भन्दै रिटलाई अग्राधिकारसमेत दिएको छ । अग्राधिकार दिएको रिटलाई मुद्दा सुनुवाईकाक्रममा प्राथमिकता क्रममा राखिन्छ ।
संविधानद्वारा सुनिश्चित मौलिक हक तथा नेपालद्वारा अनुमोदित अन्तरास्ट्रिय महासन्धि तथा प्रतिज्ञापत्रद्वारा सुनिश्चित गरिएको सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्यको हकलाई कार्यन्वयन गर्न संसदबाट सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ पारित भए पनि कार्यन्वयनको लागि अझै नियमावली बनेको छैन ।
सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार नियमावली निर्माण गर्न, ऐन बमोजिम प्रजनन स्वास्थ्य समन्वय समिति तत्काल गठन गर्न, किशोरी तथा अपांगमैत्री सेवासम्बन्धी निर्देशिका बनाउन रिटमा परमादेशको मागसमेत गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।