बन्दाबन्दीले रोकेन रेलमार्ग निमार्णको काम
चालु आवमा लक्ष्यभन्दा बढी काम गरेको  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको भनाइ
फरकधार / ५ असार, २०७७


बन्दाबन्दीले अन्तिम चौमासिकमा सबै पूर्वाधार निर्माणलाई बाधा गरे पनि रेलमार्ग निर्माणको काम लक्ष्यभन्दा बढी सम्पन्न भएको छ । 
चालू आवमा ६० किमी रेलमार्ग निर्माण गर्ने लक्ष्य राखेकामा हालसम्म झण्डै ६२ किमी सम्पन्न भइसकेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ ।  



कुर्था–जयनगर रेलमार्गअन्तर्गत जनकपुर–बिजुरापुरा खण्ड, पूर्व–पश्चिम रेलमार्ग र विराटनगर–बथनाहा रेलमार्गका विभिन्न खण्डमा निर्माण जारी रहेको मन्त्रालयले जनाएको छ । 

कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सरकारले बन्दाबन्दी जारी राखे पनि मन्त्रालयअन्तर्गतको रेल विभागले निर्माणलाई निरन्तरता दिएको छ । विभागले रेलमार्ग निर्माणलाई बन्दाबन्दीको समयमा समेत जारी राखेको छ । 
बर्दिबास–निजगढ खण्डमा पर्ने रौतहटको सन्तपुर क्षेत्रमा ट्र्याक बेड तथा सोमा पर्ने मुख्य र सहायक संरचनाको काम भइरहेको बताइएको छ । 
नेपाली लगानीमा निर्माणाधीन सो रेलमार्ग निर्माण नेपाली निर्माण व्यवसायीले नै गरिरहेको विभागको भनाइ छ । 



लालबन्दी–निजगढ खण्डलाई विभिन्न आठ प्याकेजमा विभाजन गरिएको छ । सामाजिक दूरी कायम गरेर जिल्ला प्रशासन कार्यालयहरुको समन्वयमा  निर्माण अघि बढाइएको हो । 



विभागका अनुसार जनकपुर–विजुरापुरा खण्डमा रेल्वे ट्र्याकको काम भइरहेको छ । जयनगर–जनकपुर सम्पन्न भएर सञ्चालनको तयारी हुँदा जनकपुरबाट बिजुरापुरासम्मको ट्र्याक निर्माण भइरहेको छ  । 
जनकपुर–जयनगर रेलमार्ग सञ्चालनको तयारी भइरहेको जानकारी दिइएको छ ।  

यसका लागि रेल्वे कम्पनीमार्फत रेल सञ्चालनका लागि सरकारले कर्मचारी व्यवस्थापन अघि बढाएको छ । 

राष्ट्रिय गौरवको पूर्व–पश्चिम रेलमार्गमा अध्ययन तथा मुआब्जा वितरणसँगै रेलमार्ग निर्माणको काम भइरहेको विभागले जनाएको छ । विभागका अनुसार विभिन्न स्थानमा पुल निर्माणको कामसमेत भइरहेको छ । 
काकडभिट्टा इनरुवा खण्डमा आगामी आवमा ठेक्का सम्झौता गरेर निर्माण अघि बढाइने बताइएको छ । 
रेलमार्गका कतिपय स्थानमा मुआब्जा बाँड्ने कामसमेत बाँकी रहेको बताइएको छ । 
सरकारले रेलमार्ग निर्माणलाई विगतका वर्षदेखि नै महत्व दिइरहेको छ । 
स्थल यातायातको सबैभन्दा भरपर्दो र सस्तो साधनका रुपमा यसलाई लिइन्छ । 
सरकारले आगामी आवका लागि रेलमार्ग निर्माण र अध्ययनका लागि ८ अर्ब ६६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । 
जयनगर–जनकपुर–बिजुरापुरासम्म आगामी आवमा रेल सञ्चालन गरिने भौतिक पूर्वाधारमन्त्री वसन्तकुमार नेम्वाङले हालै प्रतिनिधिसभामा सांसदहरुको प्रश्नको जवाफ दिएका थिए । 

पूर्व–पश्चिम विद्युतीय रेलमार्गको अध्ययन नभएका स्थानमा सम्भाव्यता अध्ययन गरिने सरकारको नीति तथा कार्यक्रममा समेत उल्लेख छ । सोही रेलमार्गको कांकडभिट्टा–इनरुवा खण्डको निर्माण आगामी आवमा शुरु गरिने बताइएको छ । आगामी आवमा नै बर्दिवास–निजगढ खण्डको निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । 
 

  • प्रकाशित मिति : असार ५, २०७७ शुक्रबार १५:३८:५२,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया