सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अहिले स्थायी कमिटी बैठक चलिरहेको छ । बुधबार सुरु भएको बैठकमा नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एकअर्कालाई कडा आलोचना गरेका छन् ।
एकातिर स्थायी कमिटी बैठकमा नेताहरुबीचको मतभेद स्पष्ट देखिएको छ भने अर्कोतिर प्रधानमन्त्री केपी शर्मा ओली अब मन्त्रिपरिषद् विस्तार तथा हेरफेर गर्ने तयारीमा जुटेका छन् ।
यसका लागि उनले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरिसकेको उनीनिकट एक नेताले बताएका छन् ।
प्रधानमन्त्री ओली निकट ती नेताका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले खाली रहेका दुई मन्त्रालय सूचना तथा सन्चार र सहरी विकास मन्त्रालयमा अबको सातामा नै दुई मन्त्री नियुक्ती गर्दै छन् । यही समयमा नै अहिलेका केही मन्त्रीहरुलाई हटाउने तयारी प्रधानमन्त्री ओलीले गरेको र त्यसका लागि पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल भइसकेको दाबी ती नेताको छ ।
नेकपामा स्थायी कमिटी सदस्यसमेत रहेका ती नेताका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा नेता भीम रावललाई सूचना तथा सन्चार मन्त्रालयको जिम्मेवारी लिन प्रस्ताव गरेका थिए । तर, भीम रावलले उनको यो प्रस्तावलाई अस्वीकार गरेका छन् ।
पछिल्लो समय पार्टी नेतृत्व र सरकारप्रति कडा आलोचकका रुपमा देखिएका रावलले अहिलेको सरकारमा आफू सहभागी नहुने यसअघि पनि बताएका थिए । ‘उहाँले प्रधानमन्त्री ओलीको प्रस्तावलाई अहिले तत्कालका लागि अस्वीकार गर्नु भएको हो,’ ती नेताले फरकधारसँग भनेका छन् ।
केही समययता प्रधानमन्त्री ओलीले पार्टीमा फरक र आलोचक विचार राखिरहेका नेताहरुलाई मन्त्री बनाउन थालेका छन् । यसको उदाहरणका रुपमा उनले पछिल्लो पटक मन्त्रिपरिषद् हेरफेर गर्दा घनश्याम भुसाल र योगेश भट्टराईलाई मन्त्री बनाउनु रहेको बुझाइ नेकपा भित्रै छ ।
तर, रावलले यो प्रस्ताव अस्वीकार गरेपछि प्रधानमन्त्री ओलीले सूचना तथा सन्चारका लागि कसलाई जिम्मेवारी दिने भन्ने निक्र्योल निकालिसकेका छैनन् ।
पछिल्ला केही दिन यता यो मन्त्रालयका लागि नेकपाका दुई सांसद विशाल भट्टराई र राजेन्द्र गौतमले दौडधूप बढाउन थालेका छन् । भट्टराईले सूचना तथा सन्चारलाई प्राथमिकतामा राखेका छन् भने गौतमले सहरी विकास मन्त्रालयलाई । उनीहरुले यही विषयमा छलफल गर्न केही दिनअघि प्रधानमन्त्री ओली, नेकपा नेता माधवकुमार नेपाल तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग भेटघाट गरेको स्रोतको दाबी छ ।
ती नेताका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेका केही मन्त्रीहरुलाई पनि हेरफेर गर्ने तयारी गरेका छन् । त्यसमा सबैभन्दा पहिलो नम्बरमा वनमन्त्री शक्तिबहादुर बस्नेत रहेको बुझिएको छ । पार्टी अध्यक्ष प्रचण्ड पनि यसमा सकारात्मक रहेको ती नेताले बताएका छन् । उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले खासै काम गर्न नसकेको रुपमा बस्नेतलाई लिएका छन् ।
‘प्रचण्ड कमरेडसँग प्रधानमन्त्री ओलीले वनमन्त्री बस्नेत र खानेपानी मन्त्री विना मगरलाई पनि फेर्ने कि भन्ने सल्लाह गर्नुभएको छ,’ ती नेताले फरकधारलाई भने, ‘बस्नेतको सन्दर्भमा प्रचण्ड कमरेड सकारात्मक देखिए पनि विना मगरलाई हटाउन नहुने कुरा उहाँले राख्नु भएको छ ।’
वनमन्त्री बस्नेतबाट काम हुन नसकेको भन्दै प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डलाई कुरा राखेपछि यो मन्त्रालयले फेरि पनि पूर्वमाओवादीलाई नै दिने तयारी रहेको बुझिएको छ ।
मन्त्रिपरिषद्मा हेरफेर ल्याउने भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेरि एक पटक गृहमन्त्री रामबहादुर थापा बादललाई हटाउनु पर्ने प्रस्ताव पुष्पकमल दाहाल प्रचण्डले राखेका छन् ।
पछिल्लो समय विभिन्न विषय तथा मुद्दाहरुमा बादलले आफूलाई भन्दा प्रधानमन्त्री ओलीलाई साथ दिएको बुझाइ प्रचण्डको छ । पार्टीमा नयाँ र छुट्टै गुट निर्माणमा पनि बादल लागिरहेकाले उनलाई आफ्नो प्रतिस्पर्धीका रुपमा प्रचण्डले हेर्न थालेका छन् । ‘यही कारण पनि हुनसक्छ, बादललाई हटाउनु पर्ने प्रस्ताव प्रचण्डको छ,’ ती नेताले भनेका छन् ।
बुधबारको स्थायी कमिटी बैठकमा प्रचण्ड र ओलीबीचको घोचपेचका कारण अब मन्त्रिपरिषद् फेरबदल आगामि साता नै नहोला कि भन्ने अनुमान पनि गरिएको छ । ‘प्रधानमन्त्री ओलीको तयारी हेर्दा यही साता नै नयाँ मन्त्रीहरु नियुक्त हुनसक्ने सम्भावना बढेको छ,’ ती नेताले भने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।