आवश्यक प्रक्रिया पुरा गरी बजार सञ्चालन गर्न लगानीकर्ता संघ सहमत
कुनै पनि बाहानामा बजार अवरुद्ध नगर्ने भनी बोर्डसँग भयो सहमति


लकडाउन लगायत कारणले  तीन महिनाभन्दा बढी समय बन्द सेयर बजार खुलाउन लगानीकर्ताका पाँच वटै संघ सहमत भएका छन् । 

बजार सुधार र विकासका लागि आवश्यक काम नगरी बजार खुला गरे आन्दोलन गर्ने घोषणा गरेका लगानीकर्ताले शुक्रवार बैठक बसेर सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । 

नेपाल धितोपत्र बोर्ड र सबै लगानीकर्ता संघका प्रतिनिधिबीच छलफल गरी बजार खुलाउनका लागि आवश्यक प्रक्रिया सञ्चालन गर्ने सहमतिसमेत भएको छ । 
छलफलका क्रममा आगामी दिनमा कुनै पनि बाहनामा बजार बन्द नगर्ने प्रतिवद्धता बोर्ड र लगानीकर्ता दुवैले व्यक्त गरेका छन् । 
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को अनलाइन कारोबार प्रणालीमा आवश्यक  सुधार गरी युजरनेम र पासवर्ड प्रदान गर्ने समेत सहमति भएको छ ।
 तत्कालका लागि नेपाल क्लियरिङ हाउस लिमिटेड कनेक्ट आईपीएस सेवा वा उपयुक्त विद्युतीय माध्यम प्रयोग गर्ने गरी कारोबार सञ्चालन गर्ने समेत सहमतिमा उल्लेख छ ।
 सिडिएससीले तोकेका क्लियरिङ बैंकहरुको इन्टरनेट बैंकिङ सेवा तथा सिडिएससीको मेरो सेयर सुविधा प्राप्त गरेपश्चात विद्युतीय माध्यमबाट रकम भुक्तानी गर्न र प्राप्त गर्न समस्या नरहेकाले बजार सुचारु गराउन सकिने बोर्ड र लगानीकर्ता संघको निष्कर्ष छ । 

सकेसम्म चाँडो बजार सुचारु गराउन अनुरोध गर्दै विभिन्न लगानीकर्ता संघका प्रतिनिधिले आफ्ना सदस्यहरुलाई कोरोना महामारीको समयमा घरबाटै कारोबार गर्न प्रोत्साहित गर्ने प्रतिवद्धतासमेत गरेका छन् ।

बोर्डले कमिटीको प्रतिवेदनका आधारमा बजार सञ्चालन गर्ने बताएको छ । 
धितोपत्र बोर्डले भने सञ्चालक समितिको बैठकबाट बजार सुचारु गराउने विषयमा निर्णय हुने बताएको छ । 
बजार कसरी र कहिलेदेखि सञ्चालन गर्ने भन्ने विषय भने शनिवारसम्म बोर्डले निर्णय गर्ने बताइएको छ  ।





  • प्रकाशित मिति : असार १२, २०७७ शुक्रबार १७:८:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया