मकवानपुर जिल्लास्तरीय मानवअधिकार अवस्था अनुगमन समितिका संयोजक तथा गैरसरकारी संस्था महासङ्घ मकवानपुरका अध्यक्ष डा कृष्ण धितालको परिवार सवार जीप दुर्घटना हुँदा धितालकी श्रीमती र छोराको मृत्यु भएको छ । जीपमा सवार तीन जना घाइते भएका छन् ।
सोमबार साँझ मुग्लिन–नारायणगढ सडकखण्डको १७ किलो भन्ने स्थानमा दुर्घटना भएको थियो । दुर्घटनामा धितालकी श्रीमती प्रभा गौतम र छोरा अनुजको मृत्यु भएको हो ।
स्कर्पियो जीपमा काठमाडौँबाट हेटौँडातर्फ आउने क्रममा भारतीय ग्यास बुलेटसँग ठोक्किएर दुर्घटना भएको चितवन प्रहरीले जनाएको छ ।
धितालकी श्रीमतीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । छोरा अनुजको उपचारका क्रममा आज बिहान मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
दुर्घटनामा परी चालक राजन घिमिरे गम्भीर घाइते भएका छन् । त्यस्तै कृष्ण धिताल र छोरी वर्षा स्थिर अवस्थामा रहेको चितवन प्रहरीले जनाएको छ ।
धिताल परिवार सवार बा १३ च ५९२९ नंको स्कर्पियो नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको एनएल ०१०५१६० भारतीय नम्बरको ग्यास बुलेटसँग ठोक्किएर दुर्घटना भएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।