ओलीको के सन्देश लिएर देउवा भेट्न पुगे नेम्वाङ ?
फाइल तस्वीर ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा जारी विवादका बीच प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको विशेष दूत बनेर सुवास नेम्वाङले प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई भेट गरेका छन् । 

वर्तमान राजनीतिक विषयमा र अन्य विभिन्न विषयमा प्रतिपक्षी नेतालाई जानकारी गराउनका लागि आफू देउवाकहाँ भेट्न गएको स्वयं नेम्वाङले बताएका छन् । 

तर, यस विषयमा उनले खुलेर कुराकानी गर्न चाहेका छैनन् । 

अर्कोतिर, नेम्वाङले आइतबार दिउँसो गरेको यो भेटका कारण सत्तारुढ दलभित्रै नयाँ राजनीतिक तरंग उत्पन्न भएको छ । कतिपय नेताले त देउवालाई आगामि सरकार मिलिजुलीमा चलाउने ओलीको प्रस्ताव लिएर नेम्वाङ देउवा निवास बुढानिलकण्ठ पुगेको समेत अनुमान लगाएका छन् । 

तर, आखिर नेम्वाङ किन देउवालाई भेट्न पुगे त ? 

यो प्रश्नको जवाफका लागि पछिल्लो केही राजनीतिक घटनाक्रमको विषयमा जानकार हुन जरुरी छ ।



नेकपाको स्थायी कमिटी बैठक सुरु भए यता प्रधानमन्त्री ओली अल्पमतमा मात्र परेका छैनन्, प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनु पर्ने दबाबमा पनि छन् । उनको राजीनामा नै आफ्नो बटमलाइन बनाएका छन्, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले । 

तर, ओलीले अहिले पद छाड्ने पक्षमा छैनन् । अहिले आफूले कुनै पनि एउटा पद छाडेमा आफूलाई गलहत्याइएको सन्देश जाने र आफ्नो खेमा पूर्णरुपमा कमजोर हुने ओलीले निष्कर्ष निकालेका छन् ।



अर्कोतिर, ओलीको रवैया र पछिल्लो समय उनले गरेका निर्णयमा असहमति जनाउँदै प्रचण्ड र नेपाल समूहले ओलीले पद नछाडे पार्टी विघटनको संघारमा पुगेको बताउन थालेका छन् । केही दिनअघि स्थायी कमिटी बैठकमा प्रचण्डले पार्टी विभाजनको संघारमा पुगेको र स्थायी कमिटी बैठक नै पार्टी विभाजनको प्लेटफर्म बन्न सक्ने बताएका थिए । यसले नेकपामा फरक तरंग ल्याएको छ ।

आफूले नेपालको अतिक्रमति भूमिलाई समेटेर नयाँ नक्सा जारी गरेकाले भारत र आफ्नै पार्टीका नेताहरु आफूविरुद्ध लागेको अभिव्यक्ति मात्र ओलीले यो बीचमा दिएका छैनन्, उनले आफू र राष्ट्रपतिविरुद्ध गम्भीर षडयन्त्र गरिएको समेत बताउन थालेका छन् । यतिमात्र होइन, शनिबार उनले मन्त्रीहरुलाई बालुवाटारमा बोलाएर अब पार्टी विभाजन हुनसक्ने भन्दै मन्त्रीहरुलाई आफ्नो कित्ता क्लियर गर्न पनि बताएका छन् ।

अर्कोतिर, प्रधानमन्त्री ओलीले शुक्रबार मात्र कांग्रेस नेता शेरबहादुर देउवासँग भेटघाट गरेका थिए । यी दुई नेताको यो भेटघाटलाई गोप्य राखिएको थियो । गोप्य भेटघाट ओली र देउवाबीच के कुराकानी भयो भन्ने दुवै नेताले बाहिर भनेका छैनन् । तर, स्रोतका अनुसार देउवाले आफूनिकट कांग्रेस नेताहरुलाई अब नेकपा फुटको तयारीमा रहेको सन्देश चाहिँ दिएका थिए ।

यही सन्दर्भमा नेम्वाङ देउवालाई भेट्न गएकाले यसलाई अर्थपूर्ण तरिकाले हेरिएको हो ।

नेम्वाङले यसलाई सामान्य भेटघाटका रुपमा अथ्र्याउन थालेका छन् । तर, नेकपाभित्र नै नेम्वाङ र देउवाको यो भेटलाई विशेष अर्थका साथ हेरिएको छ ।

‘अहिले जसरी पार्टीभित्र विवाद चर्किँदै गएको छ र प्रतिपक्षसँगको भेटघाटलाई विशेष प्राथमिकता दिँदै गइएको छ,’ नेकपाका एक केन्द्रीय सदस्यले भने, ‘यसलाई महत्वका साथ हेर्नु आवश्यक नै हुन्छ ।’

ती केन्द्रीय सदस्यले भोलि पार्टी फुटेको खण्डमा आफू प्रधानमन्त्री बनिरहन ओलीले अग्रिम तयारी गरेको हुनसक्ने पनि अनुमान गरेका छन् । यसको अर्थ हो, नेकपा फुटेको खण्डमा प्रधानमन्त्री ओलीलाई सत्तामा रहिरहनका लागि संसदमा बहुमत चाहिन्छ । संसदमा बहुमत आफू समर्थकबाट मात्र नमिल्ने भएपछि ओलीले कांग्रेसलाई आफ्नो साथ दिन अनुरोध गरेको हुनसक्ने अनुमान उनको रहेको छ ।

यही सन्देश र परिवर्तन भएको राजनीतिक माहोलको विषयमा कुराकानी गर्न नेम्वाङ देउवा निवास पुगेको हुनसक्ने ती केन्द्रीय सदस्यले लख काटेका छन् ।

  • प्रकाशित मिति : असार २१, २०७७ आइतबार १७:४:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया