आगामी चार दिन यस वर्षको मनसुनपछिकै बढी पानी पर्ने

काठमाडौं– मुलुकका विभिन्न चार वटा प्रदेशमा आगामी चार दिन यस वर्षको (मनसुन सक्रिय भएपछिको) अहिलेसम्म कै बढी पानी पर्ने अनुमानका साथ आवश्यक पूर्वतयारी थालिएको छ ।

असार २५ देखि २८ सम्म प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशमा मनसुन शुरु भएपछिको अहिलेसम्म कै बढी वर्षा हुने अनुमान गरिएको जल तथा मौसम विज्ञान विभागका प्रवक्ता वरिष्ठ मौसमविद् डा अर्चना श्रेष्ठले जानकारी दिए ।

‘मनसुन शुरु भएदेखि नै पानी परिरहेको छ, पानीको सतह माथि आइसकेको र जमिन गलिसकेको छ, जुलाई र अगस्टमा मौसम थप सक्रिय हुन्छ, अबको चार दिन अलि बढी पानी पर्नसक्छ’, श्रेष्ठले भने । उनका अनुसार अहिलेसम्म औसतभन्दा धेरै पानी परिसकेको छ ।

त्यसैले सम्भावित पानी पर्ने प्रदेशको तराई तथा चुरे क्षेत्रबाट बग्ने नदी, खोला तथा खहरेमा बाढी बढ्ने र समतल भूभागमा डुबानको सम्भावना हुने भएकाले विशेष सावधानी अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ ।

सरकारले यसवर्ष असारमा आधारित विपद्को सूचना प्राणाली व्यवस्थापन गरिएको छ । त्यसैले पानी पर्ने सम्भावना छ मात्रै नभनी कुनकुन क्षेत्रमा पानी पर्नेछ, कस्तो असर गर्न सक्छ, त्यसबाट कसरी सावधानी अपनाउने भनेर सार्वजनिक सूचना दिन थालिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए ।

मुलुकमा गएको वैशाखदेखि अहिलेसम्म पर्याप्त पानी परिसकेको छ । प्रि–मनसुनमा नै भारी वर्षा भएकाले जमिन गलिसकेको सन्दर्भमा ठाउँठाउँमा बाढी पहिरोले मानवीय क्षति पुर्याइसकेको छ । मनसुनको शुरुआतमा नै पहिरोले धेरै मानिसको ज्यान लिइसकेको छ भने घरबारविहीन बनाएको छ । पर्वत र बझाङको ठूलो पहिरोमा मात्रै १५ जनाको ज्यान गएको छ । प्राधिकरणको अभिलेखअनुसार वैशाखदेखि अहिलेसम्म कूल ८०४ वटा विपद् घटनामा ११४ जनाको मृत्यु भएको छ ।



यसवर्ष मनसुनका समयमा औसत वर्षा हुने मौसम विभागले भनिसकेको छ । औसत वर्षा पनि कुनै समय कम पानी पर्ने र कुनै समय भारी वर्षा हुनसक्ने विज्ञले बताएका छन् । भारी वर्षाले ठाउँठाउँमा बाढी, डुबान र पहिराको जोखिम बनाइसकेको छ । पहाडी क्षेत्रमा साना तथा खहरे खोला र नदीनालाको बहाव बढ्न थालेको छ । आगामी चार दिन खतराको तहसम्म बढ्ने अनुमान छ । यसतर्फ सचेत भएर चनाखो हुनसमेत प्राधिकरणले आज एक सूचना जारी गरी जनाएको छ ।

भारी वर्षाबाट हुने सम्भावित जोखिमसमेतलाई आँकलन गरी यसवर्षको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०७७ को भाग (एक र दुई) प्रकाशित भइसकेको छ । उक्त कार्य योजनानुसार विपद्का समयमा सङ्घीय मन्त्रालय, प्रदेश र स्थानीय सरकार राजनीतिक दल तथा गैरसरकारी संस्था एजेन्सी, विकास साझेदार संस्था तथा निजी क्षेत्रलगायतको समन्वयमा विपद् व्यवस्थापन र क्षति न्यूनीकरणको तयारी गरिएको छ ।



शुक्ररबारदेखि आइतबारसम्म कन्काइ, कोशी, कमला, वाग्मती, नारायणी तथा यसका सहायक नदीमा पानीको सतह बढेर खतराको तहसम्म हुनसक्ने पूर्वानुमान गरिएको छ ।

 

  • प्रकाशित मिति : असार २४, २०७७ बुधबार २०:५:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया