‘नेपालमा कोरोनाको पिकटाइम सकिएको होइन, ढुक्क भएर नबसौँ’
डा. शेरबहादुर पुन

पहिलो पटक नेपालमा जनवरीमा कोरोनाभाइरसका एक संक्रमित भेटिए । चीनबाट आएका उनी छिटै निको भए । त्यसको लामो समय नेपालमा फेरि कोरोनाभाइरस संक्रमित भेटिएनन् । 

त्यसपछि फ्रान्सबाट नेपाल आएकी एक युवतीमा फेरि कोरोनाभाइरस संक्रमण देखियो । उनीसँगै विमानमा आएका बाग्लुङका दुई जनामा पनि कोरोनाभाइरस संक्रमण देखियो । 

नेपालले लकडाउन घोषणा गरिसकेको समय थियो त्यो । तर, जब सीमामा भारतबाट मानिसहरुको संख्या बढ्न थाल्यो, तब कोरोनाभाइरस संक्रमितको संख्या पनि नेपालमा बढ्न थाल्यो । 

एकै दिन एक सय, दुई सय हुँदै नेपालमा ३ सय कोरोनाभाइरस संक्रमित २४ घन्टामा थपिन थाले । कुनै समयमा त यो संख्या बढेर ६ सयभन्दा पनि बढी भयो । 

तर, पछिल्ला केही दिन यताको तथ्यांक हेर्ने हो भने लाग्न सक्छ, नेपालमा दैनिक थपिने कोरोनाभाइरस संक्रमितको संख्या घट्दै गइरहेको छ । 

यसका लागि केही तथ्यांक हेरौँ ।



मंगलबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा १ सय १६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । १ जुलाईमा ११ हजारभन्दा धेरै सक्रिय कोरोनाभाइरस संक्रमित रहेका थिए । तर, अब यो संख्या घटेर अब ६ हजारको हारहारीमा आइसकेको छ । 

हिजो अर्थात् सोमबार पनि नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १ सय ४१ जना थपिएर १७ हजार नाघेको थियो । 



एकाएक केही दिन यता कोरोनाभाइरस संक्रमित थपिने संख्या घट्दै गएपछि अधिकांशले टिप्पणी गर्न थालेका छन्– अब नेपालमा कोरोनाको पिकटाइम सकियो ।

यही टिप्पणीमाथि अरु केहीको आलोचना छ– सरकारले पिसिआर विधीबाट गर्ने परीक्षण घटाएकाले कोरोनाभाइरस संक्रमित थपिने क्रम पनि घटेको हो ।

के नेपालमा साँच्चिकै कोरोनाभाइरसले गर्ने प्रभाव सबैभन्दा उच्चतम तहमा पुगेर अब झर्न थालेको हो त ? 

‘ठ्याक्कै यस्तो सोचेर ढुक्क हुुने अवस्था आइसकेको छैन,’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनले फरकधारसँग भने, ‘अहिले क्वारेन्टिनमा भएका र भारतबाट आउनेहरुको संख्या पनि कम हुँदै गएकाले यस्तो भएको हुनसक्छ ।’

उनले पछिल्ला केही दिन काठमाडौं उपत्यकामा संक्रमितको संख्या बढ्दै गएकाले पनि अलिक सचेत हुनु पर्ने बताए । ‘रोजगारीका लागि काठमाडौं भित्रिने वा लकडाउन खुकुलो भएकाले एक जिल्लाबाट अर्को जिल्लामा जानेहरुको संख्या अहिले बढिरहेको छ,’ डा. पुनले भने, ‘त्यसैले हामी झन् धेरै सचेत हुनु पर्ने देखिएको छ ।’ उनले अहिले नै ढुक्क भएर बस्ने समय नभएको र लापरवाही त झन् गर्नै नहुने बताए । 

‘बाहिर स्वास्थ्य देखिएको मान्छे पनि संक्रमित भएको हुनसक्छ,’ उनले भने, ‘हामीले ह्या यो मान्छेलाई केही भएको छैन भनेर सोच्यौँ भने झन् ठूलो समस्यामा हामी पर्न सक्छौँ । अझै हामीले सावधानी नअपनाए भोलि ठूलो क्षति हुनसक्छ ।’

पछिल्लो समय समुदाय स्तरमा पनि कोरोनाभाइरस संक्रमण देखिएकाले अझ सचेत हुनु पर्ने डा. पुनको धारणा रहेको छ । ‘अब बल्ल समुदाय स्तरमा कोरोनाभाइरस संक्रमण देखिन थालेको छ,’ डा. पुनले भने, ‘अहिले यो कुरा सरकारले पनि स्वीकार गरिसकेको छ । समुदायस्तरमा सरकारले परीक्षणको दायरा पनि बढाएको छ ।’

उनले सरकारले समुदायस्तरमा सरकारले दायरा व्यापक बढाए मात्र अहिले कोरोनाभाइरस संक्रमणको पिकटाइम कटे वा नकटेको निक्र्योल निकाल्न सकिने पनि बताए ।

तर, अहिले नै पिकटाइम सकिएको भनेर सावधानी अपनाउन छोड्नु भयावह स्थिति आउन सक्ने सम्भावनाका रुपमा उनले लिएका छन् ।

  • प्रकाशित मिति : असार ३०, २०७७ मंगलबार १८:३९:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया