सङ्खुवासभाको उत्तरी क्षेत्रमा रहेको सिलिचोङ गाउँपालिका–१ को बेसिन्दागाउँमा लगातार परेको वर्षाका कारण तीन दिनअघि नौ घर पहिरोले बगाएर हराइरहेका ११ जनाको खोजीकार्य जारी छ ।
खोजीकार्यमा संलग्न मदन राईको हृदयाघातका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।
गृह मन्त्रालयको हेलिकोप्टरको सहायतामा प्रदेश नं १ सरकारले पहिरोको चपेटामा परेका बेसिन्दागाउँका ८२ घरका ३४९ जनालाई कम्बल, टेन्ट, म्याट्रेस, खाद्यान्नका सामग्री दाल, चामल, तेल, नुनलगायतका सामग्रीहरु पहिलोपल्ट उपलब्ध गराएको छ भने थप सामग्री लैजाने तयारीमा रहेको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले जानकारी दिए ।
आचार्यका अनुसार तीन दिनअघि गएको पहिरोमा बेपत्ता भएका ११ जनाको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीसहित स्थानीय सरकार र स्थानीय बासिन्दाको सक्रियतामा खोजीकार्य जारी राखिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।