आवाजसँग डराइरहेको सत्ता

दृष्टान्त एक
दुई दिनयता सामाजिक सञ्जालमा एउटा भिडियो निकै भाइरल छ । भिडियोमा एक जना पैदल यात्रुलाई पक्राउ गरी प्रहरीले भ्यानमा हाल्दै गरेको छ । 

भिडियोमा नवराज उप्रेती नाम गरेका ती व्यक्ति आफूलाई पक्राउ गर्नुको कारण प्रहरीलाई चिच्याइ–चिच्याइ सोधिरहेका छन् । प्रहरीले उनलाई कुनै जवाफ दिएको छैन । प्रहरी उनलाई बल प्रयोग गरेरै गाडीमा हाल्न उद्धत छ ।

उनी आश्चर्यचकित भएर प्रहरीलाई सोध्छन्, बाटो हिँड्दै गरेको मान्छेलाई के गरेको यो, यो के हो ?

उनी फेरि सोध्छन्, मलाई पक्राउ गर्नुको कारण के, म त बाटो हिँड्दै थिएँ । 

यो शुक्रबार दिउँसोको बालुवाटार क्षेत्रको घटना हो । पछि बुझ्दै जाँदा ती युवक आफ्नो व्यक्तिगत काममा जानका लागि त्यो बाटो प्रयोग गरिरहेका रहेछन् ।

दृष्टान्त दुई



पहिले घटनाको दुई दिनअघि अर्थात् साउन १४ गते पनि अर्को घटना भएको थियो । सूचनाको हकको प्रयोग गरेर सरकारले कोरोना व्यवस्थापनमा गरेको खर्चको विवरण माग्न जाँदा इनफ इज इनफका अभियानका पुकार बम, समुद्र केसी, सुजन थापा लगायत पाँच जना अभियन्तालाई पनि प्रहरीले धरपकड गर्दै सिंहदरबारको दक्षिण गेटबाट नियन्त्रणमा लियो र भृकुटीमण्डप प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लबमा ल्याएर राख्यो ।

क्लबमा ल्याइएपछि उनीहरुसँग भएको सबै सञ्चारका साधन नियन्त्रण लिएर उनीहरुलाई सम्पर्कविहीन बनाइयो । उनीहरुले पनि आफूहरुलाई पक्राउ गरेर ल्याउनुको कारण प्रहरीलाई सोधे । प्रहरीले माथिको आदेश मात्रै भन्यो, पक्राउ गर्नुको कारण भन्न सकेन । 



राति करिब ८ बजे उनीहरुलाई प्रहरीले लछारपछार गर्दै गेटमा ल्याएर फालिदियो । उनीहरुलाई गेटमा प्रहरीले जुन अवस्थामा फालेको थियो, उनीहरु त्यही पोजिसनमा धर्नामा मात्रै बसेनन्, भोक हडताल पनि सुरु गरे ।

अभियन्ताहरु रातभर पुलिस क्लबको गेटमै बसे, आफूहरुलाई पक्राउ गर्नुको लिखित कारण नदिँदासम्म त्यही बसिरहने अडान कायमै राखे ।

दृष्टान्त तीन

शनिबार दिउँसो पनि प्रहरीले बालुवाटार क्षेत्रबाटै १८ जना इनफ इज इनफका अभियन्तालाई पक्राउ गर्यो । सरकारविरुद्ध शान्तिपूर्ण आन्दोलन गर्न बालुवाटार जाने क्रममा उनीहरुलाई प्रहरीले प्रक्राउ गरेर मालिगाउँ प्रहरी चौकीमा लग्यो । अभियन्ताहरुले त्यहीँबाटै विभिन्न सामाजिक सञ्जालमा आएर लाइभ गरे र सोधिरहे– हामीलाई पक्राउ गर्नुको कारण के थियो ?

प्रहरीले जवाफ दियो, निषेधाज्ञा क्षेत्र तोडेकाले पक्राउ गरिएको हो ।

तर, प्रहरीको यो जवाफ निराधार छ किनकि पक्राउ पर्नेहरु बालुवाटार क्षेत्रको निषेधाज्ञा क्षेत्रमा पुग्नै पाएका थिएनन् । उनीहरुलाई त बालुवाटार पुग्नै नदिई काठमाडौंका विभिन्न स्थानबाट समातिएको हो ।

उनीहरुलाई बेलुका ८ बजे मात्रै रिहा गरियो । त्यो पनि बेलुका आठ बजेभन्दा उता प्रमाणबिना थुन्न नपाइने भएर । त्यसो त उनीहरुलाई रिहा गरिएको थिएन, उनीहरुलाई त्यहाँबाट बल प्रयोग गरेर धपाइएको थियो । उनीहरुले आफूहरुलाई पक्राउ गर्नुको लिखित कारण प्रहरीले दिनुपर्ने माग गरिरहेका मात्र थिएनन्, प्रहरीले लिखित जवाफ नदिँदासम्म जाँदै नजाने अडान लिए । तर, प्रहरीले उनीहरुलाई बल प्रयोग गरेरै भए पनि चौकाबाट बाहिर फाल्यो ।

उनीहरुलाई बल प्रयोग गरेर बाहिर पुर्याउँदै गर्दा सौरभ न्यौपाने नाम गरेका एक अभियन्ता घाइते भए । 

यी तीन त प्रतिनिधि घटना मात्र हुन् । पछिल्लो समय सरकारका यस्ता धरपकड शृङ्खलाबद्ध रुपमै चलिरहेका छन् । प्रहरीले शान्तिपूर्ण आन्दोलन गर्ने समेतलाई धरपकड गर्दै पक्राउ गरिरहेको छ ।

लोकतन्त्रको सबैभन्दा मुख्य र सुन्दर पक्ष भनेकै वाक् स्वतन्त्रता हो । तर, आफूलाई लोकतान्त्रिक भन्ने कम्युनिस्ट नेतृत्वको सरकारले नै वाक् स्वतन्तत्रामाथि बन्देज लगाउन खोज्दै छ । केही महिनाअघि पनि सरकारले आफूविरुद्ध प्रदर्शन हुन लागे भनेर माइतीघर लगायत काठमाडौंका धेरै स्थानमा निषेधाज्ञाको घोषणा गरेको थियो । पछि जनस्तरबाट व्यापक विरोध भएपछि सरकार आफ्नो घोषणबाट पछि हट्यो ।

नेपालको संविधान २०७२ को भाग तीनमा रहेको मौलिक हक र कर्तव्य अन्तर्गत धारा १७ र २७ मा क्रमशः वाक् स्वतन्त्रता र सूचनाको हकको ग्यारेन्टी गरिएको छ । यसरी नेपालको संविधानले मौलिक हकमै राखेर दिएको अधिकारलाई सरकारले किन र के का लागि कुण्ठित गर्न खोज्दै छ ?

दुईतिहाइको सरकारले नागरिकका मौलिक हकमाथि बन्देज गरेर के प्रमाणित गर्न खोजिरहेको छ ? कुनै पनि व्यक्तिलाई नियन्त्रणमा लिँदै गर्दा प्रहरीले के कसुरमा उसलाई नियन्त्रणमा लिइदै छ भन्ने कुरा स्पष्टसँग भन्नु पर्ने हुन्छ । त्यो पनि लिखित रुपमा । ऊ जतिसुकै ठूलो अपराधमा संलग्न किन नहोस्, उसको अधिकार हुन्छ यो जान्न पाउने– मलाई के कसुरमा समातिँदै छ ?

माथि दृष्टान्त एक, दुई र तीन सबैमा चर्चा गरिएको परिवेशमा सबैले प्रहरीलाई सोधिरहेका छन्– हामीलाई पक्राउ गर्नुको कारण के हो । 

नागरिकको मौलिक हकमाथि समेत बन्देज लगाएर अधिनायकवाद र निरङ्कुशताको बाटोमा उन्मुख भइरहेको छ त ? सरकार किन निरङ्कुशताको बाटोमा छ, सरकार आफूमाथि प्रश्न गर्नेहरुसँग डराइरहेको छ, सरकार किन कसैलाई बाटोबाटै उठाएर भ्यानमा कोचिरहेको छ ? प्रहरीले माथिको आदेश भन्दै सर्वसाधरणसमेतलाई बाटोबाटै पक्राउ गरिरहेको छ । आखिर के हो माथिको आदेश भनेको ? को हुन् प्रहरीलाई सडकमा हिँडिरहेको मान्छेलाई उठाएर हिरासतमा राख्न आदेश दिने ?

पछिल्ला ती दिनमा देखिएका सरकारका यस्ता कदम निन्दनीय मात्रै छैनन्, नेपाली जनताले आफ्नो ज्यानसमेत आहुति दिएर ल्याएको लोकतन्त्रलाई धरापमा पार्दै छन् ।

दुईतिहाइको सरकारलाई हेक्का होस्, आवाज दबाएर दबाउन सकिँदैन । यसरी आवाज दबाएर आफ्नो अकर्मण्यतालाई ढाक्दै जाने हो भने एक दिन सम्पूर्ण नेपाली जनताहरु सडकमा आउनेछन्, त्यतिबेला हालका यी सरकारी रवैया धुलिसात हुनेछन् ।

  • प्रकाशित मिति : साउन १८, २०७७ आइतबार १६:१३:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया