त्यो गाईजात्रा

राजा प्रताप मल्लका छोरा चक्रपालेन्द्रको मृत्युपछि रानी पुत्र शोकले पीडित भइन् । पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई सान्त्वना दिन प्रताप मल्लले जनतालाई, ‘आ–आफ्नो घरमा एक वर्षभित्र मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउन’ उर्दी जारी गरे । राजाले यस्तो आदेश दिनुको कारण थियो– हाम्रो छोरा मात्र मरेको होइन, एक वर्षभित्र धेरै जनताको मृत्यु भएको छ भनेर रानीलाई सान्त्वना दिलाउनु । 

सोही बेलादेखि गाईजात्रा पर्व मनाउन सुरु भएको हो भन्ने किंवदन्ती प्रसिद्ध छ । तर, विभिन्न समयमा पाइएका शिलालेख र अन्य ऐतिहासिक वस्तुहरुले गाईजात्रा मनाउन धेरै पहिलाबाट सुरु भएको प्रमाणित गर्छन् । यो जात्राबारे हिन्दू ग्रन्थहरुमा पनि चर्चा छ । प्रताप मल्लको उर्दीपछि अलि भिन्न र व्यापक शैलीमा बनाउन थालिएको हो भन्न सकिन्छ । 

त्यतिबेला नेपाल अधिराज्य भन्ने थिएन । नेपाल मण्डल मात्रै थियो । नेपाल मण्डलमा काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, काभ्रेपलान्चोक क्षेत्र पर्थे । ती ठाउँमा आफन्तको मृत्युमा शोक मनाउँदै यो पर्व मनाइन्थ्यो । मल्लले यो पर्वमा आफूले गुमाएका प्रियजनको ​सम्झनामा​ भाव विह्वल भएर मात्रै होइन, मनोरञ्जनात्मक र व्यंग्यात्मक कार्यक्रम गर्न पनि उर्दी जारी गरे । उर्दीअनुरुप गाईजात्रा सुरु भयो, तर रानीको मन विक्षिप्त हुन छाडेन । रानीको बेचैन मनलाई सम्हाल्न राजाले छोराको सम्झनामा रानीपोखरी पनि निर्माण गरे । रानीपोखरीको दक्षिणी किनारामा हामी अहिले पनि हात्तीमाथि एक बच्चासहित तीनजना बसेको देख्न सक्छौँ । ती तीनजना उनै राजा प्रताप मल्ल, उनकी रानी र उनीहरुको मृतक छोराको सालिक हो । 

जात्रा मनाउने शैली परिवर्तन

अहिले धेरै परिवर्तन भएका छन् । पहिला–पहिला उपत्यकामा अहिले जस्तो तारहरुको पासो थिएन । त्यो बेला हामीले जात्रामा जाँदा ठूलो छाता बोक्थ्यौँ । अहिले बोक्दैनथ्यौँ । राणाशासन र राजतन्त्रमा अहिले जस्तो निर्वाध रुपमा हामीले सत्तालाई खुलेआम आलोचना र उनीहरुको व्यंग्य गर्न पाउँदैनथ्यौँ । तर, आलोचना हुँदै नहुने भन्ने थिएन । त्यो बेलाका शासकको खरिदार, ठिट्टा, मुखियाबाट हामी उनीहरुका साशकबारे आलोचना गथ्र्यौं । 

लुगा लगाउनेदेखि क्वाँटी खाने प्रचलनमा पनि परिर्वतन आएको छ । क्वाँ र टी छुट्टाछुट्टै शब्द मिलेर एउटा शब्द बनेको हो । क्वाँ भनेको तातो टी भनेको रस हो । अर्को अर्थमा क्वा भनेको परिकार हो । पहिले मान्छेहरु क्वाँटी खाएर नाच्न जाने थकाइ लागेपछि रक्सी वा पानी खाने गर्थे । यसो हुँदा मान्छेहरु बिरामी पर्थे । तर, अहिले मान्छेहरुले आप्नो ज्यानलाई माया गर्न सिकेका छन् । अहिलेकै अवस्थामा पनि सचेत भएका मान्छेहरुले सामाजिक दूरी कायम गर्छन् भने कसैले गर्दैनन् । 



गाईजात्रामा जाँदा मृतकका परिवारका मान्छे सेतो पहिरनमा जान्थे । परिवारका नातेदार पनि बोलाउँदा आउँथे । मान्छे धेरै हुँदा सामाजिक प्रतिष्ठा बढी भएको मानिन्थ्यो । ३६ सालतिर राजा महेन्द्रको पालामा अहिलेको जस्तो गाईजात्रा देखाउने चलन आएको थियो । यसबारे मनोज गजुरेललाई पनि थाहा छ । 

पहिलेको गाईजात्रामा भन्दा अहिले मान्छेको संख्या घट्दै गएको छ । घरमै टेलिभिजनमा बसेर सबै हेर्न पाइन्छ भने भिडभाडमा को जाने ? सबै कुरा घरको एउटै कोठामा पाइने भएकाले गाईजात्रा भएको ठाउँमा जाने मान्छेको कमी भएको हो । 



  • प्रकाशित मिति : साउन २०, २०७७ मंगलबार २१:९:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया