लमजुङको सुन्दरबजारमा निषेधाज्ञा

बेंसीसहर– लमजुङको सुन्दरबजार नगरपालिकाका ५ वटा वडामा निषेधाज्ञा जारी गरिएको छ । सुन्दरबजार नगरपालिका ७ का ३२ वर्षीय एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।  

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माका अनुसार सुन्दरबजार नगरपालिकाका वडा नम्बर ५, ६, ७, ८ र ९ मा अर्का सूचना नआएसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । निषेधाज्ञा जारी गरिएका वडामा औषधि उपचार, खाद्य वस्तु खरिद, आफ्नै खेतबारीमा कृषिजन्य कार्य गर्नेजस्ता आवश्यक कामबाहेक कुनै पनि व्यक्ति घरबाहिर निस्कन रोक लगाइएको छ ।

एम्बुलेन्स, बिरामी बोकेका गाडी, खाद्य वस्तु, तरकारी, दूध, खानेपानी, पेट्रोलियम पदार्थ बोक्ने गाडी, शव वाहन, फोहोर व्यवस्थापन गर्ने गाडी, पशुपक्षीका दाना बोक्ने गाडी, सञ्चारकर्मी, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने साधन र अनुमति प्राप्त साधन मात्र चल्न दिइनेछ । 

यस्तै अत्यावश्यक उपभोग्य वस्तु बिक्री गर्ने खाद्यान्न तथा तरकारी पसल, पेट्रोल पम्प, ग्याँस डिपो, औषधि पसलबाहेक सम्पूर्ण पसल, उद्योग व्यवसाय सञ्चालन गर्न रोक लगाइएको छ । तर खाद्यान्न तथा तरकारी पसल बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र खोल्न पाइनेछ । 

लमजुङमा हालसम्म १ सय १२ जनामा कोरना संक्रमण देखिएको छ । तीमध्ये १ सय ९ जना निको भएर घर फर्किएका छन् भने ३ जनाको आइसोलेसनमा उपचार भइरहेको छ ।





  • प्रकाशित मिति : साउन ३०, २०७७ शुक्रबार १७:१३:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया