कोरोना संक्रमण प्रतिदिन बढ्दै गएपछि स्थानीय प्रशासनले उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञा लागु गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार रातिदेखि निषेधाज्ञा लागु गर्दै निषेधाज्ञा अवधिभरि के के गर्न पाइने भनेर ढाँचासहित निर्देशन जारी गरेको छ ।
अतिआवश्यक वस्तु तथा सेवा सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिए पनि प्रहरीले भने त्यसमा रोक लगाएको छ । केही बैंक तथा वित्तीय संस्था खोल्ने अनुमति भए पनि प्रहरीले बैंकका कर्मचारीलाई आवत–जावतमा रोक लगाएको छ ।
बजारमा चहलपहल कम होस् भनेर मात्र जाँच गर्न खोजेको महानगरीय प्रहरी परिसरले जनाएको छ । जिल्ला प्रशासनबाट जारी सूचना बमोजिम नै आफूहरू काम गरिरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता सोमेन्द्र सिंह राठोरले जानकारी दिए ।
उनका अनुसार अहिले भइरहेको जाँच वास्तविक मान्छेको ‘भेरिफाइ’ का लागि मात्र हो । को निस्कन हुने को नहुने भनेर छुटयाउनका लागि तथा सुरक्षा चुस्त बनाउनका लागि सुरक्षा कडा बनाइएको प्रवक्ता सिंहको भनाइ छ ।
महानगरीय प्रहरी परिसरका अनुसार अहिलेसम्म ४ सय ३५ जनालाई नियन्त्रणमा लिएर छाडिएको छ । उनका अनुसार यो क्रममा प्रहरीले नियन्त्रणमा लिएकाहरूलाई सम्झाइबुझाइ छाड्ने गरेको छ ।
प्रहरीको कडाइले नै निषेधाज्ञाको पहिलो दिन बजारमा चहलपहल कम भएको उनी बताउँछन् । सात दिनसम्म रहने निषेधाज्ञामा उपत्यकाका सडक प्रायः सुनसान देखिएका छन् । सडकमा अत्यावाश्यक सवारी साधनबाहेक अन्य सवारी साधन गुडेका छैनन् ।
पैदल यात्रुसमेत न्यून संख्यामा देखिएका छन् । निषेधाज्ञा उल्लंघन गर्नेलाई प्रहरीले कारबाही गरिरहेको पनि छ । निषेधाज्ञा सफल बनाउनका लागि कडा सुरक्षा व्यवस्था लागु गरिएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार उपत्यकाका सडकमा चाहिने जति आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको छ ।
काठमाडौँ, ललितपुर र भक्तपुरको संयुक्त जिल्ला सुरक्षा समितिको बैठकले दैनिक उपभोग्य वस्तुको ढुवानी र बिक्री, स्वास्थ्य सेवा, एम्बुलेन्स, मृत्युसंस्कार, सुरक्षा निकायलगायत अत्यावश्यकबाहेकका सबै क्षेत्र एक साता बन्द गर्ने निर्णय मङ्गलबार गरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।