मिथिलाञ्चलमा चौठ चन्द मनाइँदै

मिथिलाञ्चलको लोक पर्वका रूपमा रहेको चौठ चन्द पर्व धुमधामका साथ मनाइँदैछ।

भाद्र शुक्ल चौथी तिथिका दिन मनाइने यो पर्वलाई मिथिलाञ्चलको छठपछिको दोस्रो ठूलो पर्वको रुपमा मानिन्छ।

चौठ चन्द पर्वका दिन महिलाहरु व्रत बस्ने चलन छ । यस पर्वमा  घरको आँगनमा पूजा गरिने भएकाले चामलको पिठोको कलात्मक अरिपन बनाई त्यसमाथि पूजाका सामग्री राखेर धार्मिक विधिपूर्वक पूजापाठ गरिन्छ।

सो क्रममा नयाँ माटोको भाँडोमा दही, केरा, मिठाइ, फलफूलका साथै विभिन्न प्रकारका पकवान राखेर विभिन्न देवी-देवतालाई चढाइने गरिन्छ।

पूजामा विशेष परिकारहरू बनाउने चलन रहेको जनकपुरधाम उपमहानगरपालिका ४ की व्रतालु सुप्रिया झाले बताइन् । यस पर्वमा प्रसादका रूपमा पिरकिया, खजुरिया, खाजा, लड्डु, पुरी र खीर घरघरमा बनाउने चलन छ।

फलफूलका अतिरिक्त दहीले भगवान् गणेश र चन्द्रमाको पूजा गरिन्छ।



चौथीको दिन चन्द्रदेवलाई खाली हात दर्शन गर्न नहुने मान्यताअनुसार चौठ चन्द्र पर्व मान्ने परिवारजनले हातमा केरा, स्याउ, अम्बा, अनार, काँक्रा, घरमा तयार पारेको पकवान, मिठाइ, गाजरजस्ता सामग्री लिएर दर्शन गर्ने परम्परा छ।

दिनमा प्रसाद बनाउने र बेलुका पूजा गर्ने भएकाले अहिले घरघरमा महिला प्रसाद तयार बनाउन व्यस्त छन् ।



मिथिलाञ्चलमा यो पर्व हेमाङ्ग ठाकुरले प्रचलनमा ल्याएको बताइन्छ । ठाकुर आफैँ ज्योतिष थिए । उनलाई यो तिथिमा शुभफल प्राप्त भएकाले यस पर्वको सुरुआत गरेका हुन्।

मिथिलाको लोकपर्व चौठ चन्दको बेला गणेश र चन्द्रमाको कथा सुन्ने समेत परम्परा रहिआएको छ।

  • प्रकाशित मिति : भदौ ६, २०७७ शनिबार १३:०:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया