मोरङको बेलबारी नगरपालिकामा दुई पक्षबीच भीडन्त हुँदा एक जनाको मृत्यु हुनाका साथै चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शुक्रबार अपराह्न १ बजे बेलबारी–५ कसेनी लोहन्द्रा पुलमा सोही स्थान बस्ने जितेन चौधरी, दिनेश श्रेष्ठ र सन्तोष मगर तथा सोही स्थान बस्ने सईकुमार राई, समुद्र राई र गौरव राईलगायतबीच सामान्य वादविवाद हुँदा खुकुरी प्रहारबाट घाइते भएका ४० वर्षीय चन्द्रकुमार राईको उपचारका क्रममा मृत्यु भएको छ ।
खुकुरी प्रहारबाट घाइते उनको विराट शिक्षण अस्पताल बूढी गङ्गामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए ।
घाइते सईकुमार, समुद्र र गौरव राईको सोही अस्पतालमा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्ने समूहका जितेन समेत घाइते भएकामा विराट नर्सिङ होम विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । झगडामा संलग्न अन्य तीन जना फरार रहेकामा खोजतलास भइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।