विचार
देउवा दाइले सक्नुभएन, कांग्रेसमा देश र पार्टीलाई नेतृत्व गर्नसक्ने नेताको आवश्यकता छ

अहिले नेपाली कांग्रेस महाधिवेशनको तयारीमा छ ।  कांग्रेसको महाधिवेशन तोकिएकै समयमा हुन अति नै जरुरी छ । काग्रेसको महाधिवेशनमा गाउँ–गाउँबाट चुनिएर आउने नयाँ नेतृत्वले वर्तमान सरकारका अकर्मण्यता र भ्रष्टाचारविरुद्ध आवाज बुलन्द बनाउन सक्छ र विचारहरुमाथि छलफल गर्ने तागत राख्छ । र, त्यो तागत नेपाली कांग्रेसलाई महाधिवेशनले नै दिन्छ ।

त्यसैले, अहिले नेपाली कांग्रेसका लागि सबैभन्दा मुख्य विषय महाधिवेशनको सुनिश्चितता गर्नु हो । कोरोना भाइरसले महामारीको रुप लिइरहेको अवस्थालाई मध्यनजर गरेर यथासम्भव चाँडो महाधिवेशन गर्नुपर्छ । महाधिवेशनअघिको कार्यतालिकाअनुसारका काम नभ्याएको  खण्डमा पुसको सट्टा बरु माघमा गर्न सकिन्छ, तर जहिले गरे पनि हुन्छ भन्ने मानसिकता राख्नुहुँदैन । नेपाली कांग्रेसले कोरोनालाई मध्यनजर गर्दै चाँडोभन्दा चाँडो महाधिवेशन गर्ने वातावरण निर्माण गर्नुपर्छ । 

लोकतन्त्रको संरक्षण सम्वद्र्धन र आमनागरिकले सरकारबाट चाहेका कुरालाई परिपूर्ति गर्न अबको निर्वाचनमा नेपाली कांग्रेस बहुमतको पार्टी बन्नैपर्छ, चाहे ती सुशासनका विषय हुन् वा जनताका समस्याका विषयमा हुन् । सरकार कोरोना नियन्त्रण र व्यवस्थापनको विषयमा नराम्रोसँग चुकेको छ । सरकारले लकडाउनका विषयमा पहिलेबाटै सोचेको भए सायद अहिले यो स्थिति आउने नै थिएन । 

त्यसकारण नेकपा नेतृत्वको सरकारले निर्वाचनअघि जसरी ठूला नारा दिएको थियो, निर्वाचन जितेर आएपछि पनि ठूला कुरा गर्नबाहेक केही गर्न सकेको छैन । नेपाली जनताको सरकारप्रतिको भरोसा सकिएको छ । त्यसैले अब नेपाली कांग्रेस जनताले भरोसा गर्न सक्ने पार्टी हुन आवश्यक छ । यस अर्थमा नेपाली कांग्रेसको महाधिवेशन हुन निकै आवश्यक छ । 

यो महाधिवेशनमा गाउँ–गाउँबाट नयाँ नेतृत्व आउँछन् । पुरानालाई सम्मान गर्दै नयाँलाई आकर्षण गर्नु हाम्रो उद्देश्य हो, यो नै प्रमुख विषय हो । नेपाली कांग्रेसमा पार्टीलाई योगदान गरेका धेरै व्यक्ति गाँउ–गाँउमा छन् । तिनीहरुले अवसर पनि पाएका छैनन् । तिनलाई हामीले सम्मान दिनुपर्छ । नयाँ अनुहारलाई नेपाली कांग्रेसभित्र आकर्षित गर्ने वातावरण निर्माण गर्नु आवश्यक छ । 

नयाँलाई आकर्षित गर्नु छ । पुरानालाई सम्मान गर्नु छ । मूलतः नेपाली कांग्रेसभित्र जसको जे क्षमता छ, त्यसलाई त्यो भूमिका दिनुपर्छ । सबैमा एउटै खुबी हुँदैन । तर, राजनीतिमा सबैको भूमिकाको सुनिश्चितता गर्न सकिन्छ । सबैलाई पद दिन नसकिएला, तर सबैलाई राजनीतिक भूमिका त दिन सकिन्छ नि ! 



नेतृत्वका सवालमा हामीले तीनवटा कुरालाई एकदमै ध्यान दिनुपर्नेछ । विचारमा स्पष्ट, संगठन गर्ने क्षमता भएको र सबै कार्यकर्तालाई मिलाएर लैजान सक्ने क्षमता भएको । आमनागरिकमा लोकप्रिय हुन पनि जरुरी छ । पार्टीका लागि र देशका लागि योगदान गरेको व्यक्तिको मूल्यांकन गर्नुपर्छ, कुन–कुन आन्दोलनमा के–के भूमिका निर्वाह गर्यो भन्ने कुरालाई हेरेर । नेतृत्वका लागि आवश्यक पर्दा त्याग गर्न सक्ने क्षमता पनि चाहिन्छ ।  

राजनीतिमा जनताको विश्वास जित्न सक्ने नेता चाहिन्छ । जनताले त्यस्तो नेतालाई मन पराउँछन्, जसले हाम्रा लागि आफ्नो लागिभन्दा धेरै गर्छ भनेर जनताले विश्वास गर्ने हुनुपर्छ । जनताले विश्वास गर्ने नेतृत्व आएपछि हामी आमजनमाझमा स्पष्ट र बलियो हुन सक्छौँ भन्ने लाग्छ । यसले आफ्नो होइन, देश र जनताको स्वार्थ हेर्छ है भनेर जनताले विश्वास गर्ने नेता चाहिएको छ । जुन राजनीतिको लक्ष्य पनि हो । 



नेपाली कांग्रेसभित्र यस्तो किसिमको लिडरसिप आवश्यक छ, जो क्रियाशील पनि हुनुपर्यो, योगदान गरेको पनि हुनुपर्यो र प्रमाणित भएको पनि हुनुपर्यो । उदाहरणका लागि म मन्त्री भएका बेला कस्तो गर्यो भन्ने कुरा त सबैले हेरिरहेका हुन्छन् नि त । म केन्द्रीय सदस्य भएकाले  यो बेला मैले के गर्दै छु, कस्तो विचार राख्छु, यो सबैले हेरिरहेका हुन्छन् । नेताको क्रियाकलाप पारदर्शी हुन्छ, मेरो क्रियाकलाप कस्तो थियो भन्ने कुरा सबैलाई थाहा हुन्छ ।

त्यसैले नेतृत्व भनेको जनताको विश्वास, पार्टीलाई विश्वास दिलाउन सक्ने आउनु पर्छ । अहिले देश र पार्टी दुवै संकटमा छन् । अहिले देश संकटमा हुनुको प्रमुख कारण हो, नेपाली कांग्रेस कमजोर हुनु । यतिबेला नेपाली कांग्रेस बलियो भइदिएको भए यो अवस्था आउने थिएन । 

नवीन्द्रराज जाेशीसरकार फेलियर भएकै हो, यसमा दुई मत छैन । तर, प्रतिपक्षी पनि सशक्त छैन । प्रतिपक्षीको भूमिका पनि सडकदेखि सदनसम्म हुनुपर्ने हो । प्रतिपक्षीले त देशमा हरेक दिन आउने मुद्दामाथि बहस चलाउनुपर्ने हो । त्यसलाई समाधान गर्न सरकारलाई दबाब दिनुपर्ने हो । 

प्रतिपक्षीले तत्काल प्रतिक्रिया जनाउनुपर्छ, हरेक मुद्दामा । हरेक मुद्दामा तत्काल एक्सन देखाउनुपर्ने हो । प्रतिपक्षीको भूमिका रचनात्मक काम गर्नेलाई सहयोग गर्ने र नराम्रो गर्नेलाई खबरदारी गर्नु हो । जहाँ गलत भएको छ, जहाँनिर जनतामाथि उपेक्षा भएको छ, जहाँनिर लोकतन्त्रमाथि प्रहार भएको छ, त्यसको विरुद्धमा तत्काल प्रतिक्रिया जनाउने ताकत हुनुपर्छ, प्रतिपक्षीसँग ।

नेपाली कांग्रेसले धेरै विषयमा संसद्मा आवाज उठायो, निर्मला हत्याकाण्डदेखि अहिलेसम्मका लगभग सबै । तर, हामीले ‘पोलिटिकल एक्सन’ गर्न सकेनौँ भन्नुको अर्थ ‘एसर्टिभ एक्सन’ देखाउन सकेनौँ, सशक्त भएर तत्काल बोल्न सकेनौँ । अहिले प्रतिपक्षीले त्यो भूमिका निभाउन सकेन, हामी सशक्त हुन नसकेकै हो । यो ‘क्लियर कट’ कुरा हो । 

अहिले पार्टीलाई शेरबहादुर दाइले नेतृत्व गरिरहनुभएको छ । पार्टीलाई गति दिन नसकेको कुरा त उहाँले हो नि त । उहाँको असक्षमता एउटा कुरा हो भने उहाँको उमेरको कुरा अर्को । त्यसैले हामीले के सोच्नुभएन भने देउवाले सक्नुभएन भनेर उनका उमेरका कसैले पनि सक्दैनन् भन्ने होइन । यहाँनिर युवा पुस्ता, नयाँ पुस्ताभन्दा पनि पार्टीलाई दिशा दिन सक्ने नेतृत्वको आवश्यकता छ । 

अहिले धेरैले नयाँ पुस्ता, नयाँ भनिरहेका छन् । तर, नयाँ पुस्ता भनेको के हो त ? हामीले पुस्तन्तारणको कुरा मात्रै गरेका होइनौँ । हामीले क्रियाशील, पार्टी र देशलाई भविष्य दिन सक्ने, कार्यक्रम दिन सक्ने, भिजन भएको मान्छे नेतृत्वमा चाहिएको भनेका हौँ । यी सबै क्षमता भएको जो–कोही पनि नेतृत्वमा आउनुपर्छ । 

कुन पुस्ताबाट को आउनुपर्छ भन्दा पनि माथिका सबै गुण भएको नेतृत्व आउनुपर्छ । अहिलेको नेतृत्वले काम गर्न सकेन, त्यसैले माथि उल्लेख गरिएका सबै गुण भएको नेतृत्व आउनुपर्यो । यसमा हाम्रो भूमिका संगठित गर्ने कुरामा, विचार दिने कुरामा, क्याम्पेन गर्ने कुरामा मेरो योगदान हुन्छ । मूल कुरा, यथासमयमा महाधिवेशन गर्न सबै लाग्न जरुरी छ । यस विषयमा पार्टीभित्र घनीभूत रुपमै छलफल हुँदै छ । साथीहरुसँग सल्लाह हुँदै छ । को–के मा उठ्ने भन्नेमा पनि छलफल हुँदै छ । म आफैँ पनि उचित भूमिकाका लागि प्रतिस्पर्धी हुन्छु । तर, व्यक्ति को के हुने भन्दा महाधिवेशन प्रमुख प्राथमिकताको विषय हो । 

- जोशी नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन् ।

  • प्रकाशित मिति : भदौ १७, २०७७ बुधबार २०:४३:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया