प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसलाई पछिल्ला दिन आगामि महाधिवेशनले छ्याप्पै छोपेको छ । काङ्ग्रेसका अधिकांश नेताहरु पछिल्ला दिन फागुनमा गर्ने भनिएको १४ औं महाधिवेशनसँग सम्बन्धित चर्चामा अगाडि बढेका छन् ।
यो महाधिवेशनले काङ्ग्रेसमा नयाँ समीकरणलाई पनि अगाडि ल्याउने अनुमान धेरैले गरेका छन् । पछिल्लो समय काङ्ग्रेस नेतृत्वमा पुस्ता हस्तान्तरण हुनु पर्ने माग मात्र उठिरहेको छैन, नेतृत्वमा अब ‘नयाँ अनुहार’ले दाबी गर्न थालेका छन् । यसपटक यसको सिलसिलामा सबैभन्दा अग्रभागमा देखिएका छन्, विमलेन्द्र निधि ।
निधिले केही साताअघि काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई उनकै निवासमा गएर भेटे । भेटमा उनले अबको महाधिवेशनमा आफूले सभापतिमा उम्मेदवारी दिने गरेको निर्णय गरेको मात्र देउवालाई बताएनन्, आफूलाई अब सहयोग गर्न पनि अनुरोध गरे । फेरि एकपटक काङ्ग्रेसको नेतृत्व सम्हाल्ने सपना बनाएका देउवालाई निधिको यो प्रस्तावले ‘राम्रै धक्का’ लाग्यो ।
यो भेटबारे जानकार काङ्ग्रेसका एक केन्द्रीय सदस्यका अनुसार देउवाले निधिलाई यसपटक आफैं सभापति हुने र अर्कोपटक अर्थात् १५ औं महाधिवेनशमा निधिलाई सभापतिका लागि तयार रहन अनुरोध गरेका थिए ।
तर, निधिले देउवाको यो प्रस्ताव अस्वीकार गरिदिए । देउवासँगको यो भेटभन्दा अगाडि नै निधिले काङ्ग्रेसमा प्रभावशाली मानिएका एक दर्जन केन्द्रीय सदस्यहरुसँग आफ्नो मनासय राखिसकेका थिए, आफू अब सभापतिमा उम्मेदवारी दिन तयार भएको बताइसकेका थिए । अनि उनको यो प्रस्तावलाई अधिकांश केन्द्रीय सदस्यले स्वागत पनि गरेका थिए । त्यही भएर पनि निधि अब सभापतिमा आफू उम्मेदवार हुने कुरामा हौसिन थाले । विशेषगरि मधेशको सहभानुभूति आफूलाई मिल्छ र आफूले पार्टीमा गरेको लामो समयको योगदानका कारण पनि नेतृत्व आफूमा आउनु पर्छ भन्नेमा निधि खुलेर कुराकानी गर्न थालेका छन् ।
अर्कोतिर काङ्ग्रेसमा यसपछिको अर्थात् १५ औं महाधिवेशनमा आफ्नो पुस्ताले नेतृत्वमा दाबी गर्न नपाउने र काङ्ग्रेसको तेस्रो पुस्तामा पार्टी नेतृत्व जाने अनुमान पनि निधिलगायत नेताले गरेका छन् । त्यसैले यसपटक उनीहरु नेतृत्व आफ्नो तहमा आउनु पर्नेमा लागिपरेका छन् ।
निधिले जसरी खुलेर कुरा गरेका छन्, काङ्ग्रेसमा दोस्रो पुस्ताका अरु नेताहरुले पनि खुलेर अबको नेतृत्व आफूले पाउनु पर्ने बताउन थालेका छन् । कोइराला परिवारबाट शेखर कोइराला र शशांक कोइराला, प्रकाशमान सिंह, डा. रामशरण महतहरु पनि अब नेतृत्वमा आफूहरु आउनु पर्ने बताउँदै आएका छन् ।
यसले पछिल्लो समय काङ्ग्रेसमा राम्रो हलचल ल्याएको मात्र छैन, अब काङ्ग्रेसमा नयाँ समीकरणको विकास हुन्छ भन्ने तर्कहरु बढी सुनिन थालेका छन् । अनि यो नयाँ समीकरणका लागि सभापति शेरबहादुर देउवाले प्रयास थालिसकेको पनि काङ्ग्रेस केन्द्रीय सदस्यहरुले महसुस गर्न थालेका छन् ।
कोरोनाभाइरस महामारीले थप विकराल रुप लिएन भने ७ फागुनमा सुरु गर्ने तय भएको काङ्ग्रेसको १४ औं महाधिवेशन समयमा नै हुने विश्वासमा अहिले नेताहरु छन् । काङ्ग्रेसमा सभापति देउवाइतर समूहले चाहिँ देउवाले महाधिवेशन सार्न खोजिरहेको आरोप पनि लगाइरहेका छन् ।
जे होस्, समयमा महाधिवेशन भयो र अहिले चर्चा भएजस्तै विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी नै दिए भने चाहिँ उनको साथ देउवाले छोड्ने अनुमान गर्न थालिएको छ ।
‘कहिलेकाहीँ अनौपचारिक र सानातिना झमघटहरुमा देउवाले आफूले छोड्न परे पौडेल र निधिलाई होइन, कोइरालालाई नै छोड्छु नि भन्ने गर्नुहुन्छ,’ काङ्ग्रेसका एक केन्द्रीय सदस्यले फरकधारलाई बताए, ‘यसपटक विमलेन्द्र निधिले सभापतिमा आफूलाई अगाडि सारेपछि काङ्ग्रेसमा यो समीकरण फेरिने निश्चितप्रायः भएको छ । अब देउवाले शशांक कोइरालालाई लिएर एउटा प्यानल बनाउनु हुनेछ । त्यसमा शशांकलाई नै उहाँले सभापतिमा अगाडि सार्ने सम्भावना पनि नभएको होइन ।’
तर, शशांकलाई पनि देउवाले एक कार्यकालका लागि आफूलाई सभापतिमा छोड्न आग्रह गर्न सक्ने अनुमान पनि नभएको होइन ।
अर्कोतिर, केही दिन यता शशांक र देउवाबीच भेट भएका समाचार बाहिर आइरहेका छन् । शशांक कोइरालाले यसलाई अस्वीकार वा खण्डन त गरेका छन् तर यी दुईबीच सन्देश आदनप्रदान बाक्लिँदै गएको छ ।
यस्तो अवस्थामा निधिलाई साथ दिन देउवाइतर सबै नेताहरु एक ठाउँमा हुनसक्ने अनुमान पनि बढ्न थालेको छ । काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलाले समेत निधिलाई सभापतिमा सहयोग गर्ने अवस्था देउवाले शशांकलाई साथ दिँदा निम्तिने अनुमान गर्न थालिएको छ । यस्तो भएको खण्डमा अबको काङ्ग्रेस महाधिवेशनमा दुई प्यानलमा मात्र निर्वाचन हुने देखिएको छ ।
तर, यो समीकरण बन्न नसकेको खण्डमा काङ्ग्रेसमा कम्तिमा पनि पाँच जना उम्मेदवारले सभापतिमा उम्मेदवारी दिन सक्ने छन् ।
देउवा, पौडेल, सिटौला, निधि वा कोइराला जुन समूह बने पनि यसपटक महाधिवेशनमा काङ्ग्रेस नेता गगन थापालाई सर्वसम्मत महामन्त्री बनाउने प्रस्ताव अगाडि सारिने भएको छ ।
पछिल्ला दिनमा गगन थापाले पनि यही रणनीतिअनुसार आफूलाई अगाडि बढाइरहेका छन् ।
‘उहाँ पछिल्लो समय कसैसँग खुल्नु भएको छैन तर आफूलाई सबैसँग नजिक बनाएर आफ्नो पक्षमा माहोल सिर्जना गर्न प्रयासरत हुनुहुन्छ,’ काङ्ग्रेसका ती केन्द्रीय सदस्यले भने, ‘उहाँलाई सबैले नेतृत्वमा नयाँ पुस्ताको संज्ञा जाने भएकाले पनि आआफ्नो टिमबाट महामन्त्रीमा प्रस्ताव गर्ने सम्भावना बढ्दै गएको छ ।’
थापाले चाहिँ अहिलेसम्म खुलेर कुनै नेतासँग कुराकानी नगरेको बताउन थालिएको छ । उनले पछिल्लो समय आफ्नै गुट सिटौला पक्षसँगका वार्तामा पनि आफ्नो कुरा प्रष्टसँग राखिरहेका छैनन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।