विद्यमान ऐनहरु भ्रष्टाचारको कारक : सांसद बिडारी

संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति रामनारायण बिडारीले विद्यमान ऐनहरु भ्रष्टाचारको कारक बनेको बताएका छन् । 

नेपाल कानुन समाजको प्रतिवेदन बुझ्दै सभापति विडारीले विद्यमान ऐनहरुको व्यापक दुरुपयोग भएका कारण नेपालमा भ्रष्टाचार बढी हुने गरेको बताए । भ्रष्टाचार गर्नका लागि ऐनहरु  खुड्किलो बन्ने गरेको उल्लेख गर्दै उनले ऐनहरुको व्यापक दुरुपयोग हुँदा सरदर ५० प्रतिशत भ्रष्टाचार हुने गरेको बताए । 

‘प्रत्यायोजित व्यवस्थापन सम्बन्धमा भएका विकृति र सरकारले प्रत्यायोजित व्यवस्थापनलाई गर्ने गरेको दुरुपयोगलाई रोक्न प्रतिवेदनले ठूलो बल पु¥याउँछ । ऐन बनाउने संसद र संसदले बनाएको ऐनअन्तर्गत अधिकार प्रत्योजन गरेको जस्तो गरी त्यो प्रत्यायोजित विधायन बनाउने अधिकार ऐनले दिएको हुन्छ,’ उनले भने, ‘त्यसको ब्यापक दुरुपयोग भएको देखिन्छ । त्यसको दुरुपयोग भएका कारण नेपालमा सरदर ५० प्रतिशत भ्रष्टाचार हुन्छ ।’

सरकारले ल्याएका हरेक विधेयकहरु जस्ताको त्यस्तै पारित गर्ने परिपाटीले संसदको औचित्यमाथि प्रश्न उठाउँदै उनले भने, ‘केही पनि परिवर्तन नहुने भए ३ महिना लाएर किन छलफल गराएको ? त्यत्रो करोडौँ खर्च गराएर किन छलफल गराउनु ?’ 

अर्थ विधेयक पनि परिवर्तन हुन्छ भन्ने मान्यता राख्नुपर्ने​ उल्लेख गर्दै उनले भने, ‘विपक्षी अल्पमतमा भएका कारण उसको कुरा सुनिन्न । सत्तापक्ष बहुमतमा भएकाले जे ल्याउँछ, त्यही गर्छ भनेपछि संसद किन चाहियो ?’

विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले संसदबाट विधायन सम्बन्धी १० प्रतिशत काम समेत हुन नसकेको बताए । सांसद राधेश्याम अधिकारीले कानुनको स्थिरता नहुँदा निम्तिने अस्थिरताले नराम्रो परिणाम दिने बताए । गत आर्थिक वर्षमा सार्वजनिक खरिद ऐन ५ पटक संशोधन भएको स्मरण गर्दै उनले लाग्नै नसक्ने ऐन उल्लेख गरेर नियमावली, निर्देशिका र विनियमावली बन्ने गरेको बताए । 



नेपाल कानुन समाजले समितिलाई शिक्षा ऐन २०२८, विद्युत् ऐन २०४९, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०५४, सहकारी ऐन २०७४, जनस्वास्थ्य सेवा ऐन २०७५ र वातावरण संरक्षण ऐन २०७६ को अध्ययन गरी प्रतिवेदन बुझाएको हो ।


 



  • प्रकाशित मिति : भदौ २४, २०७७ बुधबार १६:४४:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया