बैंकमा वित्तीय प्रविधि र कोभिडपछिको विद्युतीय कारोबार

कोरोना महामारीले गर्दा विगत ५ महिनादेखि बैंक तथा वित्तीय संस्थामा विद्युतीय कारोबारले बढी प्राथमिकता पाउन थालेको छ । आज प्रविधिमा नेपाल पनि धेरै अगाडि बढेको छ । नेपाली बैंकिङले अहिले विद्युतीय फड्को मार्नुमा सन् १९८० को दशकमा संयुक्त लगानीमा स्थापना भएका तीनवटा बैंकहरूको महत्त्वपूर्ण भूमिका छ । नेपाल ग्रिनलेज बैंक, नेपाल अरब बैंक र इन्डोस्वीस बैंक ।

यी तीनवटा बैंकले नेपालमा पुँजी, प्रविधिसँगै बैंकिङ भनेको के हो भन्ने कुरा पनि सँगै लिएर आए । नेपाली बैंकहरू प्रविधि प्रयोगमा कुनै बेला दक्षिण एसियाकै राम्रो अवस्थामा थिए । सन् १९९० को दशकमा बाहिर इन्टरनेटको प्रयोग व्यावसायिक रूपमा आइनसक्दा नै बैंकभित्र इमेल सेवाको प्रयोग बढिसकेको थियो । त्यसयता धेरै परिवर्तन आइसकेको छ । नेपाली बैंकिङ क्षेत्रले विगत तीन दशकको अवधिमा निकै आरोह, अवरोह अनुभव गरेको छ ।

प्याराडाइम सिफ्ट

प्याराडाइम सिफ्टको हिसाबमा सन् २००० तिर नेपाल सरकार र नेपाल राष्ट्र बैंकले विश्व बैंकसँग मिलेर सरकारी बैंकका सुधार कार्यक्रम ल्याएको थियो । त्यो हाम्रो बैंकिङ इतिहासको एउटा कोशेढुंगा हो । जहाँ ६०–७० प्रतिशत खराब कर्जाको अवस्थामा बसेका सरकारी बैंकहरूलाई अहिले सुरक्षित अवतरणको अवस्थामा ल्याउन सकिएको छ ।

सन् २००० पछि उदारवादी लाइसेन्स प्रणालीअनुसार थुप्रै निजी बैंकहरू सञ्चालनमा आए । मुलुकभित्र वित्तीय समावेशिता र वित्तीय पहुँच बढाउनमा निजी क्षेत्रबाट खुलेका बैंक वित्तीय संस्थाले राम्रो सहयोग पुर्‍याए ।

सन् २०१५ मा आउँदा हामीले पुँजी वृद्धिको योजना अघि सार्यौं । यसबाट वाणिज्य बैंकहरूको पुँजी २ अर्बबाट एकैपटक ८ अर्ब पुर्याइयो । छोटो समयमा धेरै पुँजी बढाउनुपर्ने दबाबले बैंकहरूलाई व्यापक व्यावसायिक विस्तारमा योगदान दियो । त्यसैको परिणामस्वरूप अहिले हाम्रो अर्थतन्त्रको आकार बराबरै कर्जा परिचालन हुने अवस्था आएको छ ।



भुक्तानी प्रणाली 

आजको दिनमा आउँदा भुक्तानी प्रणाली मानिसको दैनिक जिविकासँग जोडिन पुगेको छ । बसाइसराइँ, जिविकोपार्जन र उद्योगधन्दाका लागि यसको महत्त्व छ । पछिल्ला ५ वर्षमा नेपालमा भुक्तानी प्रणालीमा बैंक तथा वित्तीय संस्था र केन्द्रीय बैंकले पनि निकै काम गरेका छन् । 



अहिले कोरोना भाइरसको महामारीले भुक्तानी प्रणालीको महत्त्वलाई अझै धेरै बढाएको छ । त्यसमा नेपालले गरेको अभ्यासमध्ये बालेटमा एक किसिमको हस्तक्षेपकारी नतिजा आइसकेको छ । डिजिटल भुक्तानीमा हरेक बैंकले आआफ्नो मोबाइल बैंकिङ सुविधा ल्याइसकेका छन् । मोबाइल बैंकिङले खुद्रे भुक्तानीदेखि निश्चित आकारसम्मको रकम लेनदेन गर्न सकिने भएको छ । अनलाइन बैंकिङको अभ्यास पनि बढ्दो छ । तर, यसलाई अझै माथिल्लो स्तरमा पुर्‍याउन थप काम गर्नुपर्ने हुन्छ । त्यो भनेको राष्ट्रिय भुक्तानी प्रणाली हो । त्यसमा पनि प्रक्रिया धेरै अघि बढिसकेको छ ।

वित्तीय समावेशिताको एउटा मर्म भनेको वित्तीय सेवाको अभौतिकीकरण हो । प्रविधि भनेको विलासिताको वस्तु होइन । सहज र सर्वसुलभ र सुरक्षित रूपमा सबैले प्रविधिको प्रयोग गर्न पाउनपर्छ भन्ने डिजिटल फाइनान्सको अवधारणा हो । जुनसुकै सामाजिक, आर्थिक वा भौगोलिक पृष्ठभूमिमा मानिसले वित्तीय सेवामा समानस्तरको पहुँच पाउनुपर्छ । भुक्तानी प्रणाली पनि त्यही कुरालाई आत्मसाथ गरेर गएको छ । ताप्लेजुङमा हुनुभएकी ८६ वर्षकी मेरी अनपढ हजुरआमाले पनि मोबाइल फोन प्रयोग गर्नुहुन्छ भने त्यही फोनबाट कुखुराका अण्डादेखि मलको किनबेच त्यहीँबाट गर्नसक्ने अवस्था आओस् भन्ने हो । फरक क्षमता भएका मानिस र अशक्तहरूको समेत त्यही स्तरको पहुँच हुनुपर्छ भन्ने डिजिटल वित्तीय सेवाको अवधारणा हो ।

यसका लागि राष्ट्रिय स्तरको रणनीतिको पनि आवश्यक पर्छ । त्यसअनुसार हामीले कुन हदसम्म कार्यान्वयन गर्ने भन्ने कुरा आउँछ । त्यसमा विद्युतीय हस्ताक्षरको पनि कुरा आउँछ । कपीमा हस्ताक्षर गरेर त्यसैलाई डिजिटल बनाउनेमात्रै विद्युतीय हस्ताक्षर होइन । यसका लागि आँखाको नानीदेखि बायोमेट्रिकजस्ता कुरालाई कानुनी रूपमा मान्यता दिनुपर्ने आवश्यकता छ ।

यो महामारीपछि भुक्तानी प्रणालीमा एककिसिमको राम्रो ट्रेन्ड विकास भएको छ । इ–कमर्स र रिटेल पेइमेन्टला ई हामीले अझै पनि बढावा दिनुपर्ने हुन्छ । तर, दक्षिण एसियामै एउटा समस्या के छ भने, सामान विद्युतीयमाध्यमबाट खरिद आदेश दिने, तर भुक्तानी नगदमा गर्नुपर्ने अवस्था छ । यस्तो परिपाटीले नगदरहित कारोबारलाई सघाउ पुर्‍याउँदैन । त्यसकारण ई–कमर्स प्लेटफर्महरूलाई डिजिटल भुक्तानीमा रूपान्तरण गर्न आवश्यक छ । सँगै, साना तथा मझौला उद्यमी, साना पसल र घरेलु उद्यमीलाई डिजिटल भुक्तानीमा लैजानुपर्ने आवश्यकता छ । मोबाइल फोन चलाउनेले डिजिटल भुक्तानी गर्ने हो भने सानासाना पसलमा पनि यसले काम गर्छ । 

प्रविधिको प्रयोग निकै महँगो पर्ने हुन्छ । त्यसको लागत घटाउन बजारको विस्तार गर्नुपर्छ । बजार विस्तार गर्ने सबैभन्दा राम्रो उपाय भनेको साना तथा मझौला उद्यमी र घरेलु व्यवसायमा हुने खुद्रे भुक्तानीलाई डिजिटलमा रुपान्तरण गरेर नै सम्भव हुन्छ । डिजिटल भुक्तानीले एकातिर पारदर्शिता ल्याउँछ भने अर्कातिर पैसाको प्रवाह निकै तीव्र हुने भएकाले यसले तरलता बढाउँछ । मुद्राको तरलता बढ्नु भनेको अहिलेभन्दा बढी सम्पत्ति सृजना गर्नु हो । यसले अर्थतन्त्रको विस्तारमा पनि योगदान दिन्छ ।

भुक्तानी प्रणालीलाई एकद्वार प्रणालीमा ल्याउने भन्ने कुरा पनि छ । यसमा पूर्वाधार तयार पार्नुपर्छ । हाम्रो भुक्तानी प्रणालीको आकार सानो छैन । नेपाल र भारतबीचमात्रै वार्षिक रेमिटेन्समा ४ अर्ब, व्यापारमा १० अर्ब जति सीमापार भुक्तानी हुने गरेको छ । स्वास्थ्य, शिक्षा, पर्यटनजस्ता सबै क्षेत्र जोड्ने हो भने १८ अर्ब डलरजति हाम्रो भारतसँगमात्रै सीमापार भुक्तानी हुन्छ । ३ करोड जनसंख्या भएको मुलुक भनेको व्यापार र भुक्तानीको हिसाबले ठूलो सम्भावना बोकेको देश हो । यसका लागि हामीले अन्तरदेशीय वा क्षेत्रीय सञ्जाल बनाएर काम गर्नुपर्ने हुन्छ ।

चुनौती

प्रविधि आफैंमा महँगो कुरा हो । प्रविधिमुखी कम्पनीहरूमा लगातार प्रविधिमा लगानी गरिरहनुपर्ने र मर्मतसम्भारमा पनि खर्च भइरहने हुन्छ । अहिले नेपाल इलेक्ट्रोनिक पेइमेन्ट सर्भिसको कुल सञ्चालन खर्चमध्ये ६०–७० प्रतिशत रकम प्रविधि र वार्षिक मेन्टिनेन्स कन्ट्रयाक्टमै हुन्छ । यसरी अनवरत लगानी गर्नुपर्ने प्रविधिमा अहिले हाम्रा बैंकहरूको लगानी क्षमता कमजोर भएको हो कि भन्नेछ । बैंकहरूको आकार वा सञ्चालन शैलीका कारण पनि त्यस्तो भएको हुनसक्छ ।  

अहिले कागजरहित बैंकिङको बहस बढेको छ । अनलाइन खाता खोल्ने कुराले त्यसलाई केही हदसम्म सहयोग पुग्छ । कतिपय कागजहरू कानुनी मान्यता राख्ने खालका हुन्छन् । नागरिकता, लालपुर्जाजस्ता कागजातलाई पनि डिजिटल कानुनी मान्यता दिने बेला आएको छ । डिजिटल भुक्तानीमा जानै पर्छ । अबको बाटो त्यही हो । तर, यसमा जोखिम पनि बढेको छ ।

साइबर सुरक्षा 

वित्तीय सेवाको अभौतिकीकरणसँगै जोखिम पनि बढेको छ । हिजोको दिनमा कर्जा सुरक्षण जोखिम, सञ्चालन जोखिम, नियमन जोखिम मात्रै हुन्थ्यो भने अब साइबर जोखिम पनि जोडिएको छ । जोखिम बढ्यो भनेर प्रविधिको प्रयोग घटाउन सकिँदैन । त्यसकारण साइबर सुरक्षामा पनि हामी सतर्क रहनुपर्छ ।

आजको दिनमा संसारका कुनै पनि संस्था जोखिमरहित छैनन् । साइबर ह्याकरहरूको संसारभर २४ सै घण्टा हाम्रो प्रणालीको छिद्र पत्ता लगाउनमै संलग्न छन् । हामीलाई २४ घण्टामा अरू पनि थुप्रै काम गर्नुपर्छ । त्यसकारण हामीले अनुसन्धान र विकासलाई पनि ध्यान दिनुपर्छ । 

सबैभन्दा पहिले साइबर सुरक्षा नीति तयार हुनुपर्छ । यसका लागि नियामक निकाय, बैंक वित्तीय संस्था र बाह्य विशेषज्ञ समेत राखेर यस्तो नीति बनाइहाल्नुपर्ने अवस्था टडकारो रूपमा देखिएको छ । साइबर सुरक्षाको प्रविधिमा अझै बढी लगानी गर्नुपर्ने आवश्यकता छ । नेप्सबाट एसओसी ल्याउँदै छौं । यसले हामीलाई २४ घण्टे मूल्यांकन गर्ने, एआईको माध्यमबाट सम्भावित साइबर हमला पहिचान गर्ने र त्यसविरुद्ध काम गर्नसक्ने हुन्छ ।

प्रविधि निकै महँगो पर्ने भएकाले त्यसको लागत बढी, सीमित स्रोतसाधन र दक्ष जनशक्तिको सीमितताले पनि हामीलाई असहज बनाएको छ । यो समस्याको समाधान गर्ने एउटै बाटो सहकार्य हो । नेप्सजस्तो संस्थाले एउटा ‘सेक्युरिटी अपरेसन सेन्टर’ स्थापना गर्न लागिरहेको छ । यो सेप्टेम्बरको अन्त्यसम्म स्थापना भइसक्छ ।

नगदरहित भुक्तानीमा पनि हामीले एटीएम बुथमा नछोइकन नगद कसरी निकाल्ने भनेर काम गरिरहेका छौं । डोमेस्टिक राउटिङजस्ता हाम्रा आन्तरिक मजबुति बढाउन पनि काम भइरहेको छ । त्यसो गर्न सकियो भने देशले बाहिर पठाउने ठूलो पैसा रोक्न सकिन्छ । 

वित्तीय समावेशीकरण

आर्थिक, सामाजिक हैसियत हाम्रैजस्तो भएको केन्यामा आजभन्दा २३ वर्षअघि एम–पेसा भन्ने मोबाइल मनी सुरु भयो । त्यहाँका किसानले केरा, अन्डा बेच्नेदेखि मलखाद किन्ने र चियापसलमा भुक्तानी गर्न पनि त्यही मोबाइल मनीको प्रयोग गरिरहेका छन् । त्यस्तो मोडेल नेपालमा सम्भव नहुने भन्ने होइन । त्यो सरल र सुरक्षित पनि छ । त्यस्तो प्रविधिबाट हामीले धेरै अघि बढ्नसक्छौं । यसमा टेल्को (टेलिकम कम्पनी) हरूले पनि काम गर्न पाउँछन् । 

डिजिटल इकोनोमीमा जाने भन्ने योजना स्पष्ट छ । तर, यसका लागि कानुनीदेखि अन्य पूर्वाधार र लगानीको स्रोत व्यवस्थापनजस्ता धेरै तयारी आवश्यक हुन्छ । नगदरहित कारोबार कहिले हुन्छ भन्ने निश्चय छैन । यो रातारात हुने काम पनि होइन । यसका लागि हामीले सरकारी–निजी साझेदारी अघि बढाउनुपर्छ । विस्तारै विस्तारै नगद कारोबारलाई निरुत्साहित गर्दै जानुपर्छ ।

अहिलेको समय हाम्रो खुद्रे भुक्तानी प्रणालीलाई डिजिटल भुक्तानीमा रुपान्तरण गर्ने निकै राम्रो अवसर थियो । पैसाबाट संक्रमण हुनसक्छ, पैसा छुनुहुन्न भन्ने अहिलेको मनोदशाबाट हामीले लाभ लिन सकिन्थ्यो । तीनै तहका सरकार, वित्तीय क्षेत्रमा काम गर्ने संस्थाहरू र सरोकारवालाले यस बखत मिलेर काम गर्नुपर्छ । 

डिजिटल भुक्तानीको प्रयोग बढाउन प्रयोगकर्तालाई अभिमुखीकरण गर्ने, जागरण गराउने काममा लगाउनुपर्छ । बैंकहरूसँग भएको संस्थागत सामाजिक उत्तरदायित्वको रकम वित्तीय भुक्तानीको प्रवर्धनमा लगानी गर्नु राम्रो हुन्छ ।

हामीले सहकारी र लघुवित्तबाट करिब १ करोड मान्छेलाई भुक्तानी प्रणालीमा तान्नसक्ने अवस्था छ । उनीहरूलाई सरल, सहज र सुरक्षित भुक्तानी प्रणालीमा जोड्न आवश्यक छ । नगदरहित भुक्तानीलाई कार्यान्वयनमा ल्याउन त्यस्ता संस्थालाई तान्न नसकेसम्म काम छैन । फिनटेकले समाजको तल्लो तहको मानिसहरूलाई समेटेर समावेशी समाजको विकासमा काम गर्छ भन्ने अवधारणा छ । 

चर्को शुल्क भन्ने कुरा लागतको हिसाबले सृजना गर्छ । त्यही भएर हामीले सेवाप्रदायक संस्थाहरू बढी भए कि भन्ने छ । अहिले पीएसपी, पीएसओ गरी ४० वटाजति भइसके । यो संख्यामा पनि विचार गर्ने हो कि भन्ने लागेको छ । धेरै संख्या हुँदा कारोबार लागत बढी हुन्छ । हामीलाई सबैभन्दा सस्तोमा सबैभन्दा राम्रो, सजिलो र विश्वासिलो भुक्तानी प्रणाली आवश्यक छ । 

बायोमेट्रिकको प्रयोग बढ्दो छ । युरोपेली मुलुकमा पासपोर्ट जस्ता विषय पनि आँखाको नानीबाट पास हुने व्यवस्था छ । कुनै पनि प्रविधि जोखिमरहित छैन । तर, हामी यस्ता संवेदनशील सुरचनाको सुरक्षित भण्डारण र बायोमेट्रिक पहिचानको कानुनी मान्यता दिने कुरामा अघि बढ्नुपर्छ । 

भुक्तानी प्रणालीले बैंकलाई विस्थापित गर्ने होइन । वालेट भन्ने प्रडक्ट अहिले संसारमा आउटडेट हुँदै छन् । आसिआनमा ग्रयाबले अहिले फिनटेकमा रूपान्तरण गरिसकेको छ । कार्ड पनि लामो आयु भएको कुरा होइन । मोबाइलबाटै सबै भुक्तानी हुने भएपछि बालेट किन चाहियो ? 

टेल्को नेपालका लागि निकै सम्भावना भएको क्षेत्र हो । नेपालमा एनटीसी, एनसेलले धेरै जनसंख्यालाई कभर गरेको छ । भुक्तानी प्रणालीमा रहरमात्रै गरेर हुँदैन । यसमा दक्षता, क्षमता र निरन्तरको अनुसन्धान आवश्यक पर्छ । तर, अबका दिनमा मोबाइल भुक्तानी निकै राम्रो सम्भावना छ ।

(लेखक : नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) का सिइओ र एनएमबी लघुवित्त वित्तीय संस्थाका अध्यक्ष हुन्)

  • प्रकाशित मिति : भदौ २७, २०७७ शनिबार १८:१८:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया