धादिङमा २७ सैनिकसहित ३१ जनामा कोरोना सङ्क्रमण

धादिङ जिल्लामा आइतबार नेपाली सेनाका २७ जनासहित कुल ३१ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । त्रिपुरासुन्दरी गाउँपलिकामा तीन र गल्छी गाउँपलिकामा २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । 

गल्छीका २१ वर्षका तीन, २० वर्षका चार, ३० वर्षका तीन, ३५ वर्षका चार, १९ वर्षका दुई, ३४ वर्षका दुई, २७ वर्षका दुई, ३३ वर्षका दुई, ३६ वर्षका दुई, २६, ३८, ३७ र २२ वर्षका पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको गाउँपालिका स्वास्थ्य संयोजक रामप्रसाद ज्ञवालीले जानकारी दिए ।

गल्छीका २८ जना कोरोना सङ्क्रमण भएकामध्ये बैरेनीमा रहेको श्री नं ६ बाहिनी अड्डा (सेनाको ब्यारेक)मा कार्यरत २७ र एकजना गल्छी–६ निवासी रहेको ज्ञवालीले बताए । सेनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि ब्यारेकबाट बाहिर जान रोकिएको छ । 

यसअघि सो ब्यारेकका ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनीहरुको कन्ट्याक टे«सिङको आधारमा गरिएको परीक्षणमा धेरैजनामा सङ्क्रमण पुष्टि भएको हो । यसैगरी त्रिपुरासुन्दरी–२ का ४६ र ३६ वर्षीय पुरुष र २५ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको त्रिपुरासुन्दरी गाउँपालिका स्वास्थ्य संयोजक यमबहादुर श्रेष्ठले जानकारी दिए ।
 
त्रिपुरासुन्दरीबाट ४३ जनाको स्वाब कोरोना परीक्षणका लागि पठाइएकामा आठजनाको रिपोर्ट पोजिटिभ आएको थियो । आठमध्ये तीनजना नयाँ व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको हो भने पाँचजना यसअघि नै कोरोना परीक्षण गर्दा पोजिटिभ आएका र १४ दिनपछि पुनः परीक्षणका लागि पठाउँदा पोजिटिभ आएको स्वास्थ्य संयोजक श्रेष्ठले बताए ।

त्रिपुरासुन्दरी गाउँपालिका तीनजना नयाँसहित २१ जना कोरोना सङ्क्रमित आइसोलेसनमा राखेर उपचार गरिरहेको गाउँपालिकाले जनाएको छ । कोरोना सङ्क्रमण पुष्टि भएकाहरु कसैलाई पनि लक्षण नदेखिएको र सबैलाई आइसोलेसनमा राखिएको धादिङ स्वास्थ्य कार्यालयले जनाकारी दिएको छ ।





  • प्रकाशित मिति : भदौ २८, २०७७ आइतबार १८:११:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया