के ६ वर्ष राष्ट्रिय सभामै बस्लान् वामदेव गौतम ?

बारम्बारको प्रयासपछि अन्ततः वामदेव गौतम राष्ट्रिय सभामा सदस्य भएका छन् । प्रतिनिधि सभा निर्वाचनमा बर्दियाबाट पराजय भोगेका नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष गौतमले संसदमा छिर्न एक दर्जनभन्दा बढी पटक प्रयास गरेका थिए । तर, अघिल्ला प्रयासहरुमा उनी ब्याकफायर भए, पार्टीभित्र र बाहिर उनको चर्को आलोचना भयो । 

यसपटक वैशाखदेखि सुरु भएको नेकपाभित्रको किचलोलाई उनले आफू अनुकूल प्रयोग गरे, सांसद् बने । 

त्यसो त उनलाई राष्ट्रिय सभामा लैजान यसअघि फागुनमा नै नेकपाको सचिवालय बैठकले निर्णय गरिसकेको थियो । नेकपाले निर्णय गरिसक्दा पनि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको आलटालले उनको यो चाहना पूरा हुन अर्को ७ महिना लाग्यो । 

१ असोजमा राष्ट्रिय सभा सदस्यको रुपमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट सपथ लिँदै वामदेव गौतमले आफूले राष्ट्रिय सभाको गौरवमा कुनै आँच आउन नदिने बताएका छन् । तर, निर्वाचनमा हारिसकेको व्यक्ति फेरि सांसद् हुने रहर पालेकाले उनको यो अभिव्यक्तिमाथि शंका नेकपाकै नेताहरुले गरेका छन् । 

गौतम अब सांसद् भएसँगै थप प्रश्नहरु उठ्नु स्वभाविक नै हो । किनकि यसअघि नेकपामा देखिएको विवाद समाधान गर्न उनलाई राष्ट्रिय सभा सदस्य बन्न प्रस्ताव गर्दा उनले सर्त राखेका थिए– पहिले संविधान संशोधन गरौँ ।

संवैधानिक व्यवस्थाअनुसार राष्ट्रिय सभाका सदस्य प्रधानमन्त्री बन्न पाउँदैनन् । तर, तीन पटक उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारी सम्हालिसकेका गौतमले प्रधानमन्त्री बन्ने उत्कट चाहना राखेका छन्, उनी यो व्यवस्था संशोधन गर्न चाहन्छन् । जतिबेला गौतमले यो व्यवस्थामा परिवर्तन होस् भन्ने माग गरेका थिए, त्यति बेला नेकपामा सचिवालयका नेताहरुमात्र होइन, उनीनिकट अन्य नेताहरुले पनि यसको आलोचना गरे । उनी यो सर्तबाट पछाडि हटे । 



यो सर्त राख्नुभन्दा अगाडि वामदेव गौतमले अरु आधा दर्जनभन्दा बढी प्रयास गरेर संसद छिर्न खोजेका थिए । निर्वाचनमा पराजय भोगिसकेपछि उनको पहिलो प्रयास चाहिँ पुनर्निर्माण प्राधिकरणको प्रमुख बन्ने र मन्त्रीसरह सुविधा लिने थियो । तर, उनको यो प्रस्तावलाई नेकपा अध्यक्ष केपी शर्मा ओलीले सोझै अस्वीकार गरिदिए । 

त्यसपछि कहिले डोल्पाबाट त कहिले काठमाडौं र ललितपुरका विभिन्न निर्वाचन क्षेत्रबाट फेरि चुनावमा होमिन वामदेवले प्रयास गरेका थिए । उनका यी प्रयास सबै विफल भए । 



आफ्ना प्रयासहरु विफल भइरहेको सन्दर्भमा गौतमले अहिले नेकपामा देखिएको विवादलाई आफू अनुकूल प्रयोग गरे र विगत ६ महिनादेखि रिक्त रहेको राष्ट्रिय सभाको एक सदस्यमा आफूलाई पुर्याए । यसअघि सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने यो पदमा थिए, निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा । 

राष्ट्रिय सभाको समयावधि सकिएपछि डा. खतिवडालाई फेरि मन्त्री बनाएका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली राष्ट्रिय सभामा उनलाई नै दोहो¥याउन चाहन्थे । तर, वामदेवको चाहनाअगाडि उनको केही सिप लागेन । 

याे पनि हेर्नुहाेस्:

शपथ ग्रहणमा वामदेवका ६ पोज

अब ६ वर्षका लागि वामदेव गौतम राष्ट्रिय सभा सदस्य भएका छन् । तर, कार्यकारी पदको जिम्मेवारी लिने उत्कट चाहना राखेका वामदेव गौतमले के ६ वर्ष नै राष्ट्रिय सभामा बिताउलान्

यसका लागि दुई बुँदाको ख्याल गर्नु पर्ने हुन्छ । पहिलो हो, वामदेवले अब संविधान संशोधनको विषयमा कस्तो अडान लिनेछन् ? नेकपामा पछिल्लो समय दुई समूहमा उत्तिकै सम्बन्ध राख्न सफल भएका गौतमले फेरि पनि संविधान संशोधन गर्नु पर्ने आफ्नो चाहनालाई अगाडि सारे र यसमा उनी सफल भए भने उनी ६ वर्ष नै राष्ट्रिय सभामा रहने छन् । किनकि संविधान संशोधन भएको खण्डमा गौतम राष्ट्रिय सभाबाट नै प्रधानमन्त्री बन्ने अवसरको खोजीमा हुनेछन् । तर, उनको यो चाहनामा उनी असफल भएको खण्डमा अब हुने निर्वाचनमा उनी जान पनि सक्नेछन् ।

७० वर्ष कटिसकेका वामदेवले अब आफू सक्रिय राजनीतिमा हुने सम्भावना कम हुँदै गएको बुझिसकेको हुनुपर्छ । त्यसैले राजनीतिक जीवनमा एकपटक प्रधानमन्त्री बन्नका लागि पनि उनले अब थप कदमहरु चाल्नेछन् । र, यी कदमहरुको प्रतिफल जे आउनेछ, त्यही अनुसार उनी अगाडि बढ्न सक्ने नेकपाका नेताहरुले विश्लेषण गर्न थालेका छन् ।

  • प्रकाशित मिति : असोज २, २०७७ शुक्रबार ६:४७:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया