अर्थ मन्त्रालयमा ‘डिफ्याक्टो’ मन्त्री डा. खतिवडा, फाइल बोक्दै बालुवाटार पुग्न बाध्य छन् सचिव !

राष्ट्रिय सभामा सरकारले सिफारिस गरेर मनोनित भएका डा. युवराज खतिवडाको समयावधि सकिएपछि उनले सम्हाल्दै आएको अर्थमन्त्रीको जिम्मेवारीबाट पनि राजीनामा दिए । 

१९ भदौमा उनको राजीनामा स्वीकृत भएपछि अहिले अर्थ मन्त्रलाय नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नै सम्हाल्दै आएका छन् । डा. खतिवडा कानुनीरुपमा अर्थ मन्त्रलायबाट बाहिरिए पनि मन्त्रालयका महत्वपूर्ण निर्णयहरुमा चाहिँ उनको प्रत्यक्ष संलग्नता कायमै छ । 

प्रधानमन्त्री ओलीले आफ्नो विशेष आर्थिक सल्लाहकारमा डा. खतिवडालाई नियुक्त गरेर उनलाई नै अर्थमन्त्रालयको ‘जिम्मेवारी’ दिएका छन् । प्रधानमन्त्रीले आर्थिक सल्लाहकारमा डा. खतिवडालाई नियुक्त गरेपछि उनीबाटै अर्थ मन्त्रालय सन्चालन गर्ने मनस्थितिमा प्रधानमन्त्री ओली भएको टिप्पणी पनि आउन थालेका छन् । स्रोतका अनुसार प्रधानमन्त्री ओली अब अर्थ मन्त्रालयमा राज्यमन्त्री नेकपाकै राष्ट्रिय सभा सदस्य विमला पौडेल राईलाई बनाउन खोज्दै छन् । 

राजनीतिक खिचातानी र नेकपाको ‘शक्ति संघर्ष’का कारण प्रधानमन्त्री ओली यो निर्णयमा पुगेको नेकपाकै नेताहरुले बताउन थालेका छन् । 

तर, यसकै कारण अर्थ मन्त्रालयका कामहरु निकै प्रभावित हुन थालेका छन् । ‘अहिले पनि मन्त्रालयका निर्णयमा डा. खतिवडाकै संलग्नता छ,’ अर्थ मन्त्रालयका एक अधिकारीले फरकधारलाई भने, ‘डा. खतिवडाबाट पास भएका निर्णय बोकेर फेरि सचिवज्यू बालुवाटार जानु पर्ने बाध्यता छ ।’

पछिल्लो समय कोरोनाभाइरस महामारीका कारण प्रधानमन्त्री ओली बालुवाटारबाट खासै बाहिर निस्किएका छैनन् । बालुवाटारमा नै पनि उनी हत्तपत्त धेरै भेटघाटमा सहभागी छैनन् । अनि अर्थसचिवसँग पनि उनले भेट्नका लागि उचित समय दिने गरेका छैनन् । ‘यसले अर्थ मन्त्रालयको कार्य सम्पादनमा निकै असर परेको छ,’ अर्थका ती अधिकारीले भने ।



पूर्वप्रशासक तथा पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइराला पनि महत्वपूर्ण मन्त्रालय खाली रहँदा र प्रधानमन्त्रीले नै यसलाई लामो समयसँग सम्हाल्दा आर्थिक क्षेत्रमा ठूलो असर पर्ने मतमा विश्वास गर्छन् । 

‘यसले देशकै आर्थिक क्षेत्रको कार्यसम्पादनमा गम्भीर असर पर्छ,’ कोइरालाले फरकधारसँग भने, ‘अहिले यसै पनि कोभिडका कारण ठूलो असर हाम्रो अर्थतन्त्रमा परेको छ, विकास निर्माणको काम पनि यसका कारण प्रभावित हुने निश्चित छ ।’ विकास निर्माण गर्नु पर्ने समय आइसकेकाले प्रधानमन्त्री ओलीको यो निर्णयले थप समस्या हुने कोइरालाले बताए । 



‘यतिको लामो समय भइसक्दा जिम्मेवारीसहितको राज्यमन्त्री मात्रै भए पनि नियुक्त गरिसक्नु पथ्र्यो,’ उनले भने, ‘अब थप ढिलाइ गर्नुहुन्न । सल्लाहकारमा डा. खतिवडा हुँदा कार्यसम्पादन राम्रोसँग हुनै सक्दैन किनकि डा. खतिवडा संसद र जनताप्रति जवाफदेही हुँदैनन्, उनी त प्रधानमन्त्रीको बफादार भएर मात्र अगाडि बढ्छन् ।’ त्यसैले, अब छिटो अर्थ मन्त्रालयमा जिम्मेवार नेतृत्व आउनु पर्ने कोइराला बताउँछन् ।

पूर्वगर्भनर दीपेन्द्रबहादुर क्षत्री पनि प्रधानमन्त्री ओलीको यो कदमले आर्थिक क्षेत्रमाथि खेलाँची गरिएको टिप्पणी गर्छन् । ‘विभिन्न निर्णयका लागि मन्त्रीसँग कानुनी अधिकार हुन्छ,’ उनले भने, ‘मन्त्रीबाट डा. खतिवडाले राजीनामा दिइसकेका छन्, अब उनको कुनै हैसियत छैन । यो हाम्रो सिस्टममाथि क्रुर प्रहार हो, यस्तो बिडम्बनामा हामी चलिरहेका छौँ ।’

प्रधानमन्त्री ओलीले अर्थ मन्त्रालयलाई पेन्डुलम बनाएको यो विषयमा अर्थ मन्त्रालयकै उच्च पदका कर्मचारीहरु पनि खुसी छैनन् । ‘प्रधानमन्त्री ओलीले राजश्व, खर्चदेखि व्यवसायीका मुद्दासम्म सम्बोधन गर्न सक्ने अवस्था नै हुँदैन,’ अर्थका एक कर्मचारीले फरकधारलाई बताए, ‘यस्तो संकटको समयमा प्रधानमन्त्रीले यस्तो खेलाँची गर्नु उहाँकै लागि आत्मघाती कदम हो ।’

  • प्रकाशित मिति : असोज ९, २०७७ शुक्रबार १७:१०:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया