सातामा दुई दिन बिदाः नेपालको सन्दर्भमा कति ठिक कति बेठिक ?

कोरोना संकटका कारण अहिले नेपालको पर्यटन क्षेत्रमा चहलपहल शून्यप्रायः छ । नेपालभर मात्र नभई विश्वभरि नै यो महामारीले भयानक रुप लिइरहेका कारण नेपालमा बाह्य पर्यटक आउन अझै समय लाग्ने निश्चित छ । 

यही परिस्थितिलाई मध्यनजर गर्दै अहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हप्तामा दुई दिन बिदा दिने प्रस्ताव अघि सारेको छ । यस विषयमा मन्त्री योगेश भट्टराईले मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारीसमेत गरेका छन् । बाह्य पर्यटक भित्रिने वातावरण नभए पनि आन्तरिक पर्यटन प्रवद्र्धन गरेर यो क्षेत्रलाई उकास्न उनले यस्तो प्रस्ताव ल्याएका हुन् । 

यसअघि सार्वजनिक बिदा हुने दिन धेरै भएका कारण कामकारबाही अघि बढाउन समस्या उत्पन्न भएको भन्दै सरकारले अधिकांश बिदा कटौती गरेको छ । २०७७ सालमा सरकारले १५ दिन मात्र देशैभर सार्वजनिक बिदाको व्यवस्था गरेको थियो । धर्म, संस्कृति र भौगोलिक क्षेत्रअनुसार निश्चित क्षेत्र वा समुदायका लागि छुट्टै बिदाको व्यवस्था भने गरिएको छ । यो साप्ताहिक बिदा शनिबारबाहेकको बिदा हो ।
 
दुई दिन बिदाको व्यवस्थाका लागि पर्यटन मन्त्रालयले प्रस्ताव तयार गर्न समितिसमेत गठन गरी काम अघि बढाएको छ । सातामा दुई दिन बिदा दिने प्रचलन अन्तर्राष्ट्रिय अभ्यास पनि हो । 

पर्यटन मन्त्रालयले कोभिड–१९ संक्रमणका कारण ठप्प रहेको पर्यटन उद्योगलाई उकास्नका निम्ति दुई दिन बिदा दिनुपर्ने प्रस्ताव अगाडि सारेको हो । हप्तामा दुई दिन बिदा दिने सन्दर्भमा सरकारले केही वर्षपहिले पनि छलफल अघि बढाएको थियो । तर, यस विषयमा कुनै निर्णय भने भएको थिएन । 

अहिले पर्यटन मन्त्रालयले अघि बढाएको प्रस्तावबारे जनमानसबाट विभिन्न प्रतिक्रिया आइरहेका छन् ।  कतिपयले यसलाई सही प्रस्ताव भनेका छन् भने कतिपयले नेपालको काम गर्ने परिपाटी अन्य देशको भन्दा भिन्न भएका कारण अन्तर्राष्ट्रिय अभ्याससँग तुलना गर्न नहुने तर्क राख्छन् ।   

दिँदा फरक पर्दैन



पूर्व मुख्यसचिव विमल कोइराला अन्तर्राष्ट्रिय अभ्यास दुई दिन बिदा दिने भएकाले नेपालले त्यसलाई मान्नुपर्छ भन्ने कुरा पहिले पनि भएको, तर त्यसलाई गलत ढंगले प्रयोग भयो भनेर त्यसबाट पछि हटेको बताए । त्यतिवेला विविध कारणले सो प्रस्ताव कार्यान्वयन हुन नसके पनि अब लागू गर्दा हुने कोइरालाको सुझाब छ । 

‘म नै हुँदा दुई दिन बिदा गर्ने भन्ने कुरा भएको थियो । शुक्रबार ३ बजेसम्मको सट्टा शुक्रबार पनि पाँच बजेसम्म काम गर्ने भन्ने कुरा चलेको हो,’ पूर्वमुख्यसचिव कोइरालाले भने, ‘अन्तर्राष्ट्रिय अभ्यास हप्तामा ४० घण्टा लन्च कटाएर दिनुपर्ने छ । त्यसो गर्दा साढे ४२ घण्टा हुन्छ । साढे ४२ घण्टा ५ दिनमा बनाउन सकिन्छ भने किन नगर्ने भन्ने कुरा उठेको थियो ।’ 



त्यो बेला विविध कारणले दुई दिन बिदा लागू हुन नसके पनि अहिले लागू गर्दा फरक नपर्ने कोइरालाको भनाइ छ । तर, निजी क्षेत्रलाई भने, स्वतन्त्र रुपले छाड्दिनुपर्ने उनले बताए । भने, ‘विविध विकृति पनि देखापर्यो । यो विकृतिलाई रोक्नु पहिलो प्राथमिकता हो । निजी क्षेत्रलाई स्वतन्त्र रुपले छाड्दिए दुई दिन बिदा लागू गर्दा फरक पर्दैन ।’

लोकसेवा आयोगका पूर्वप्रमुख उमेश मैनाली हप्तामा पाँच दिन काम अन्तर्राष्ट्रिय स्ट्यान्डर्ड भएकाले त्यो लागू गर्दा राम्रै हुने बताउँछन् । विगतमा पनि यसलाई प्रयोग गरेर असफल भएपछि हटाइएका कारण अब लागू गर्दा कसरी गर्ने भन्नेमा ध्यान दिनुपर्ने मैनालीले बताए । 

‘त्यो बेला जनताले प्रत्यक्ष सेवा लिने जिल्लास्तरीय कार्यालयमा दुर्गमबाट आउनुपर्ने, दुई दिन बिदा हुँदा ३–४ दिनसम्म बस्नुपर्ने अवस्था आयो भनेर राजनीतिज्ञहरुले हटाएका हुन्’, मैनालीले भने, ‘त्यो अन्तर्राष्ट्रिय श्रम संगठनको स्ट्यान्डर्ड​ ४० घण्टाको हप्ता र ५ दिनको हप्ता हो । अन्तर्राष्ट्रिय अभ्यासअनुसार भएको कुरालाई लागू गर्दा मेरो विचारमा अन्यथा लाग्दैन ।’

नेपालमा उपयुक्त छैन

सरकारले विगत ६ महिनादेखि ठप्प रहेको पर्यटन उद्योगको प्रवद्र्धनका निम्ति हप्तामा दुई दिन बिदाको प्रस्ताव अघि सारेको हो । तर, प्रा.डा. लोकराज बराल अहिलेको अवस्थामा दुई दिन बिदा सान्दर्भिक नहुने बताउँछन् । बिदा दिँदा केही फरक नपर्ने भए पनि खाली समयमा के गर्ने भन्ने विकल्पका विषयहरु त्यति नभएकाले त्यो उत्तम नहुने प्रा.डा. बरालको भनाइ छ ।

तर, बिदा दिँदा ठूलै फरक भने नपरिहाल्ने उनले बताए । ‘बिदा दिँदा केही फरक पर्दैन । तर, हाम्रो देशमा झन् विकृति हुन्छ जस्तो लाग्छ । किनभने, खाली समयमा के गर्ने भन्ने हुन्छ, यसले विकृति निम्त्याउँछ’, प्रा.डा. बरालले भने, ‘नेपालमा अर्को वैकल्पिक व्यवस्था केही छैन । देशको अवस्था पनि त्यति राम्रो छैन । आर्थिक खर्चका हिसाबले इन्धनलगायत बच्ने कुरा त रहला । तर, मलाई यो विषय त्यति सान्दर्भिक होला भन्ने लाग्दैन ।’ बिदाको विषय अहिलेको प्राथमिकतामा पर्नुपर्ने विषय नभएको बरालको भनाइ छ । 
 

  • प्रकाशित मिति : असोज १०, २०७७ शनिबार १७:४०:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया