सरकार पुनर्गठन : पेचिलो बन्दै वामदेव फ्याक्टर !

लामो समयदेखि चलेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद मिलाउन मन्त्रिपरिषद् फेरबदल गर्न तयार भएका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली यसको गृहकार्यमा जुटिसकेका छन् । 

यसका लागि केही दिन यता दैनिक प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल हुँदै आएको पनि छ । बिहीबारदेखि सुरु भएको यो सन्दर्भको बैठक अहिले पनि जारी छ ।

तर, यी दुई नेताबीच यस विषयमा कुनै सहमति हुन सकेको छैन । दुई नेतानिकट स्रोतका अनुसार उनीहरु अहिले पनि कुनै निष्कर्षमा पुग्न सकेका छैनन् । 

२६ भदौमा बसेको नेकपा स्थायी कमिटी बैठकले सरकारलाई प्रभावकारी बनाउन संघीय मन्त्रिपरिषद् मात्र होइन, प्रदेशका सरकारमा पनि हेरफेर गर्नु पर्ने प्रस्ताव अगाडि सारेको थियो ।

यही बैठकपछि नेकपाका दुई अध्यक्ष मन्त्रिपरिषद् हेरफेर गर्ने तयारीमा लागेका हुन् । 

तर, पार्टीले यस सम्बन्धमा एउटा निश्चित मापदण्ड बनाएर जान दुई अध्यक्षलाई सुझाव दिएको छ । यसबारे दुई अध्यक्षले छलफल पनि गरेका छन् । तर, अहिले मापदण्डको विषयमा होइन, दुई अध्यक्षबीच नेकपा उपाध्यक्ष वामदेव गौतमको विषयमा छलफल केन्द्रित भएको छ ।



सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित गर्ने कोटाअन्तर्गत राष्ट्रियसभाको सदस्य बनेका नेता गौतमविरुद्ध अहिले सर्वोच्चमा रिट विचाराधीन छ । तर यहीबीचमा नेता गौतमको मन्त्री बन्ने चाहना नेकपाभित्र चर्चाको विषय बन्न पुगेको छ । केही दिन पहिले बसेको नेकपाको सचिवालय बैठकले मन्त्रीपरिषद्को हेरफेर गर्ने विषयमा निर्णय गर्न अध्यक्षद्वय ओली–प्रचण्डलाई जिम्मा दिएको थियो । सोहीअनुसार छलफल भएपनि निष्कर्ष भने निस्कन सकेको छैन । 

बाँकी मन्त्री फेरबदल सँगै उपाध्यक्ष गौतमलाई सरकारमा लैजाने विषय नै अहिले मुख्य समस्याका रुपमा रहेको स्रोतको दाबी छ । वामदेवलाई सरकारमा ल्याउने सन्दर्भमा प्रधानमन्त्री ओली भने सकारात्मक नभएको नेकपाका एक नेताले भने । अदालतले कुनैपनि नियुक्तिमा नलान निर्णय दिइसकेको अवस्था रहेकाले प्रधानमन्त्रीले त्यस्तो चाहना नराखेको स्रोतको भनाई छ । यस विषयमा अर्का अध्यक्ष प्रचण्ड लगायत वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल भने, गौतमलाई सरकारमा लैजाने विषयमा एकमत छन् । 



अधिवक्ता दिनेश त्रिपाठीले सर्वाेच्च अदालतमा उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा लैजाने सरकारबाट भएको सिफारिस र राष्ट्रपतिले गरेको मनोनयनको निर्णयविरुद्ध रिट हालेका थिए । न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले गौतमलाई तत्काल थप संवैधानिक जिम्मेवारी लिने दिने कार्य नगर्न नगराउन सरकारको नाममा आन्तरिक आदेश दिएको छ भने, असोज १४ गते संवैधानिक इजलासमा उक्त विषयमा छलफल हुँदैछ । 

गौतमविरुद्धको रिटको असोज १४ गते पेसी तोकिएको छ । गौतमको विषयमा अदालतले फैसला गरेसँगै मन्त्रिपरिषद् पुनर्गठन हुने नेकपाका एक नेताले फरकधारलाई जानकारी दिए ।

मापदण्डमा मिलेन कुरा

नेकपाको स्थायी कमिटीको बैठकले नै मापदण्डको विषय उठाएको थियो । सचिवालय बैठकले पनि दुई अध्यक्षलाई यही विषयमा कुरा मिलाउन जिम्मा दिएको छ । जसअनुसार मापदण्ड बनाएर दुई अध्यक्षहरुले मन्त्रीपरिषद् पुनर्गठन गर्नुपर्ने हो । तर अहिले ओली–प्रचण्डबीचको छलफल यही विषयमा नै मिल्न नसक्दा कुरा टुंगिन नसकेको हो । 

खासगरी भागबण्डाकै विषयमा कुरा मिल्न नसकेका कारण ओली–प्रचण्डको छलफल लम्बिदै गएको एक नेताले भने । उहाँहरु बसिरहनु भएको छ । ती नेताले भने, ‘अब पार्टीभित्र क–कसलाई लैजाने क कसलाई फिर्ता ल्याउने भन्ने विषयमा नै कुरा मिलिसकेको छैन ।’ 

स्रोतका अनुसार नेकपाका अध्यक्ष प्रचण्डले १० वटा मन्त्रालय आफुले पाउनुपर्ने दाबी गरेका छन् । जसका कारण ओली–प्रचण्डबीचको छलफल लम्बिदै गएको हो । २४ मन्त्रालयमध्ये पूर्व माओवादीका तर्फबाट १० वटा मन्त्रालय पाउनुपर्ने दाबी प्रचण्डले गरेको स्रोतको दाबी छ । 

स्रोतकाअनुसार अध्यक्ष प्रचण्ड दुई वर्षे कार्यकाल पूरा गरेका मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई सरकारमा प्रवेश गराउने चाहना राखेका छन भने प्रधानमन्त्री ओली केही मन्त्रीहरूमा मात्रै हेरफेर गरेर जाने पक्षमा छन् । यही विषयमा कुरा नमिलेका कारण दुई अध्यक्षबीचको कुरा मिल्न सकेको छैन । यही कारण मन्त्रीपरिषद् हेरफेरको विषय पनि निश्चित हुन सकेको छैन ।

‘कुन मापदण्डमा गर्ने भन्ने विषय नै टुंगो लागेको छैन । प्रचण्ड दुई वर्ष पुगेका सबैलाई हटाएर जानुपर्ने पक्षमा हुनुहुन्छ’, प्रधानमन्त्री ओली निकट स्रोतले भन्यो, ‘तर त्यो मापदण्ड हाम्रो होइन । राम्रा काम गरेकालाई राखेर केहीलाई फेर्ने र खाली रहेका मन्त्रालयमा थपेर जानुपर्छ ।’ प्रधानमन्त्री ओलीले कार्यदक्षताका आधारमा राम्रो गर्ने मन्त्रीलाई नहटाउने पक्षमा छन् । 

माधव नेपालसँग के भने प्रचण्डले ?

दुई अध्यक्षबीच मन्त्रीपरिषद् पुनर्गठनको विषयमा छलफल चलिरहँदा नेकपा अध्यक्ष प्रचण्डले नेकपा वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेका छन् । मंगलबार बिहान नेता नेपालसँग भेट गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीसँग मन्त्रिपरिषद् पुनर्गठन गर्ने विषयमा कुरा नमिलेको बताएका थिए । 

प्रचण्ड निवास खुमलटारमा मंगलबार बिहान भएको भेटमा नेता नेपाललाई प्रचण्डले पछिल्लो भेटबारे ब्रिफिङ गरेका थिए । ‘तपाईंहरुको बसाइँ के भइरहेको छ ? मन्त्रिपरिषद् पुनर्गठनमा के प्रगति छ ?’, नेपालले प्रचण्डलाई प्रश्न गरेका थिए । जवाफमा प्रचण्डले प्रधानमन्त्रीसँग मन्त्रिपरिषद् पुनर्गठनमा अझै कुरा मिलिनसकेको बताए । 

नेकपा स्थायी समिति बैठकले मन्त्रिपरिषद् पुनर्गठन र संवैधानिक तथा राजनीतिक नियुक्ति गर्दा निश्चित मापदण्डका आधारमा गर्ने प्रस्ताव पारित गरेको थियो । सोही प्रस्तावअनुसार असोज ४ र ६ गते सचिवालय बैठकमा छलफल भएको थियो ।

  • प्रकाशित मिति : असोज १३, २०७७ मंगलबार १६:१६:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया