नेपालको सहरी पूर्वाधार परियोजनाका लागि विश्व बैंकबाट १७ अर्ब ६४ करोड रकम स्वीकृत
फरकधार / १३ असोज, २०७७
यो सामग्री सेयर गर्नुहोस्

नेपालको सहरी सेवा प्रवाह सुधार तथा पूर्वाधार विकासका लागि विश्व बैंकले १ सय ५० मिलियन डलर (१७ अर्ब ६४ करोड रुपैयाँ) बराबरका परियोजना स्वीकृत गरेको छ ।



विश्व बैंकले संघीयता कार्यान्वयन प्रभावकारी बनाउने उद्देश्यसहित स्वीकृत यी परियोजना कोरोना संक्रमणबाट प्रभावित अर्थतन्त्रलाई माथि उकास्नसमेत महत्त्वपूर्ण सावित हुने विश्वास लिएको छ ।



खासगरी नगरपालिकाहरुको क्षमता अभिवृद्धि र पूर्वाधार विकासमा यो सहायता प्रयोगमा आउने छ । विश्व बैंकका नेपाल, श्रीलंका तथा माल्दिभ्सका लागि निर्देशक फारिस हदद जार्भोसले तिब्र सहरीकरण, संघीयता र कोरोनाका सन्दर्भमा नेपाली सहरी इलाकाबाट हुने सेवा प्रवाहलाई प्रभावकारी बनाउन र महामारीको प्रभाव कम गर्न समेत यी परियोजना महत्वपूर्ण हुने उल्लेख गरेका छन् ।



त्यसका माध्यमबाट रोजगारी सिर्जनामा समेत परियोजनाको भूमिका रहने उनको विश्वास छ । विश्व बैंकका अनुसार यो सहायता पूर्वी तराई र पश्चिमका दुई प्रदेशमा केन्द्रित हुनेछ ।



पूर्वी तराईका प्रदेश नं १ र २ का नगरपालिका तथा पश्चिममा गण्डकी प्रदेश र प्रदेश नं ५ का नगरपालिकाहरुमा परियोजना केन्द्रित हुने विश्व बैंकले जनाएको छ । यहाँबाट नगरपालिकाहरुको छनोट गरी ती क्षेत्रमा विश्व बैंकले सहायता बढाउने छ । यी क्षेत्र व्यापारिक र प्रशासनिक दृष्टिकोणबाट बढी महत्त्वपूर्ण छन् ।

नगरपालिकाहरुको सेवा प्रवाह क्षमता बढाउने मात्र नभई उनीहरुलाई योजना निर्माण र त्यसको प्रभावकारी कार्यान्वयनमा समेत सहयोग गर्ने लक्ष्य विश्व बैंकले राखेको छ । यसले सहरी शासन व्यवस्थामा त्यहाँका सरकारहरुले नागरिकको अपेक्षाअनुसार काम गर्न सक्ने अवस्था सिर्जना हुने विश्वास लिइएको छ ।



यो परियोजना राष्ट्रिय सहरी विकास रणनीति तथा सरकारी नीति र रणनीतिसँग आबद्ध रहेको  र नेपालमा संघीयता कार्यान्वयनका लागि अन्य विकास साझेदारले प्रदान गरेको सहायतासँग समेत मिल्ने विश्व बैंकले उल्लेख गरेको छ ।



  • प्रकाशित मिति : असोज १३, २०७७ मंगलबार १९:४:४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया