फेसबुकमा नक्कली आइडी बनाउँदै नाङ्गो फोटो माग्दै

मंगलबार( १३ असोज) मध्यान्ह १२ बजे संगीता (नाम परिवर्तन) ले फोन गरिन्। ‘मलाई धेरै छटपटी भइरहेको छ। म समस्यामा परेँ। के तिमी मलाई थोरै समय दिन सक्छौ ?’आत्तिएको स्वरमा बोल्दै थिइन् संगीता। मैले उत्सुकता जनाएँ, ‘केही विशेष थियो की ?’ उनले भनिन्, ‘प्लिज नयाँ वानेश्वरको पिपल चौतारीमा म पर्खिन्छु आउ है।’ यति भनेर संगीताले फोन काटिदिइन्।  

भनाइको तरिकाले अनुमान लगाउन सकिन्थ्यो, पक्कै उनको समस्या ठूलै छ।  अफिसबाट निस्किएर उनले दिएको लोकेसनतिर लागेँ। म पुग्दा उनी रुखको छहारीमुनि बसिरहेका थिइन्। पिपलको छहारीमुनि शितल नै थियो। मनभित्रको बेचैनी र छटपटाहटले होला गर्मी महसुस भइरहेको थियो संगीतालाई। सलले अनुहारमा हम्किरहेकी थिइन्।  

उनलाई केही सोध्नै पाएको थिइन, उनी त रुन पो थालिन। के भो मैले प्रश्न गरेँ ‘हेर न म त वर्वाद हुने भएँ, के गर्ने कसो गर्ने सोच्न सकेको छैन।’ उनको यो जवाफपछि सोचेँ ‘सायद श्रीमानसँग कुनै लफडा परेछ।’‘भयो चाँही के भन न ?’ खास समस्या जान्ने उत्सुकतासाथ सोधेँ।

उनले भनिन्, ‘कुनचाँही अपराधीले मेरो टाउको जोडेर नाङ्गो फोटो फेसबुकमा राखिदिएछ।’  उनको समस्या सुनेर म पनि अलमलमा परेँ। उनको समस्या त्यो खालको होला भनेर सोचेकै थिइन। 

संगीता थप कहानी सुनाउन लागिन ‘एक हप्ता पहिले माइती गाउँकी एक केटी साथीको फेसबुक आइडीबाट मेसेज रिक्वेस्ट आयो। मेसेजमा ‘हाई’ लेखिएको थियो। उसको अर्को आइडीमा भने म साथी थिएँ। किन अर्काे आइडी बनाइछ भन्ने सोच्दै रिप्लाई गरेँ ‘हेलो’। तुरुन्तै उताबाट मेसेज आयो तिमी संगीता नै हौ नी ? मैले भने, ‘लौ मलाई चिन्दैनौ त ? म संगीता नै त हो। त्यसपछिको मेसेजले म छाँगाबाट खसेझै भएँ।’उनी निकै वेर चुप लागिन्।

‘के थियो मेसेजमा भन्न मिल्छ ?’ मैले प्रश्न गरेँ। मेसेजमा आफूलाई नाङ्गो फोटो मागिएको संगीताले सुनाइन्। ‘अनि शंका लाग्यो। यो साथीको नामको फेक आइडी हो,  कुनै केटाले चलाइरहेको छ।’ उनी घटना सुनाउँदै गइन् ‘मैले तस्विर पठाउन ठाडै अस्वीकार गरेँ। 



तँ को होस् र के चाहन्छस् ? भनेर सोधेँ। ‘म को हो भनेर ? न कहिल्यै चिन्छेस् न पत्ता लगाउँन सक्छेस्। अनी मलाई चाहिएको चाँही तेरो नाङ्गो फोटो हो।’ उसको यस्तो जवाफले मन चिसो भएको संगीता बताइन्। 

‘फोटो पठाइनस् भने इडिट गरेर नाङ्गो बनाउँछु, अनि सामाजिक सञ्जालमा पोष्ट गरिदिन्छु।’फेरि यस्तो मेसेज आयो भन्दै च्याटको स्क्रिनसट पनि देखाइन्।
उनले आफ्नो श्रीमान्लाई यो कुरा सेयर गरिन्। श्रीमान्ले सुरुमा संगीतामाथि नै प्रश्न गरे, ‘पहिला कोहीसँग अफेयर थियो तिम्रो ?’ पहिला आफ्नो कोहीसँग पनि प्रेम सम्बन्ध नभएको श्रीमान्लाई सु्नाइन्। 



भोलिपल्ट संगीतालाई चिनेकै अर्को साथीको आइडीबाट मेसेज आयो। त्यसमा पनि उसले नाङ्गो फोटोको माग गरेको थियो। उनले बुझिहालिन्। त्यसदिन उनको अर्काे साथीका नक्कली आइडी बनाएर मेसेज गर्ने पनि अघिल्लै दिनको व्यक्तिले हो।

यो पटक संगीताका श्रीमान् पनि उनको साथमा थिए। त्यस दिन उसले मेसेन्जरमा कल नै गर्‍यो, त्यो केटा नै थियो। संगीताका श्रीमानले फोनमा कल रेकर्ड गरे। त्यपपछि संगीताले  पुलिस केस गर्छु भनिन्। त्यो केटाले जहाँ रिपोर्ट गरेपनि नडराउने र संगीताको जीवन वर्वाद पारिदिने धम्की दियो। उसले त्यति मात्र भनेन १४५ भन्दा धेरै केटीहरूको नाङ्गो फोटो बनाएर सामाजिक सञ्जालमा सेयर गर्दा पनि कसैले केही गर्न नसकेको भन्दै फुर्ती लगायो। 

संगीताले आफूलाई दुःख नदिन आग्रह गरिन तर उसले अश्लील तस्बिर मागिराख्यो। संगीतालाई यसैगरी ४ दिनसम्म उनले चिनेकै साथीको फेसबुक आइडीबाट मेसेज आइराख्यो। संगीताले अब पुलिस रिपोर्ट गर्ने निधो गरिन्। उनले आफ्ना साथीहरूलाई उनीहरूको फेक आइडी प्रयोग गरेर केटाले ब्ल्याकमेल गरिरहेको पनि जानकारी दिइन्। 

संगीताले सुस्केरा हाल्दै भनिन्, ‘अपराधीले त मेरो नामको फेसबुक पेज बनाएछ। अनी फोटोसपबाट मेरो टाउको जोडेर नाङ्गो फोटो पेजमा सेयर गरेछ। उसले त्यो पेजको स्क्रिनसट पठायो।’

अब के गर्ने ? उनी अलमलमा परिन्। असोज १२ गते साइबर क्राइम ब्यूरो, जमलमा उजुरी गर्न गएँ। कोरोनाको कारण उजुरी पनि अनलाइनबाट गर्नुपर्ने थाहा पाइन्। त्यसको भोलीपल्ट (असोज १३) एक जना व्यक्तिको सहायतामा सहायताबाट अनलाइनबाट उजुरी दिइन्। 

तर कोरोना संक्रमणका कारण प्रहरी प्रशासनमा जनशक्तिको कमी भएको भन्दै उजुरी पेन्डिङमा छ। निकै तनाबमा रहेको संगीता बताउछिन्। 
यो कुरा फैलियो भने आफन्तमाझ कसरी मुख देखाउने भन्ने चिन्ताले पिरोलेको छ उनलाई। 

‘बेलाबेलामा मर्ने आइडिया दिमागमा आउँछ’ उनी भन्छिन्–‘फेरी सोच्छु मेरो कुनै गल्ती छैन। मैले न्याय पाइहाल्छु नी।’ घरका अरुले सदस्यले थाहा पाए भने घर नै बिग्रिने हो की भन्ने तनाव पनि छ उनलाई।  

त्यो व्यक्तिबाट यसैगरी सताइएका अरु साथीहरूसँग पनि उनले सम्पर्क गरिन। अब के गर्ने भन्ने विषयमा उनीहरू मौन रहेको सुनाइन्। ‘कतै रिपोर्ट गरेमा अश्लील तस्बिर बनाएर फैलाइदिने धम्की दिएका कारण उनीहरू डराइरहेको संगीता बताउछिन्। ‘उसले ब्ल्याकमेल गरेका एक जना १५ वर्षकी नानी छिन्। उनको कलिलो दिमागले के सोचिरहेको होला’ उनी भन्छिन्।

२०७७, श्रावण २५ गते गोंगवुमा सुटकेसभित्र एउटा शव फेला पर्‍यो। शव रोल्पाको कृष्ण बहादुर महराको थियो। टाउको र खुट्टा जेब्रा झोलामा प्याक गरिएको उक्त बिभत्स हत्याको कारण पनि साइबर अपराध नै थियो। सामाजिक सञ्जालबाटै चिनजान सुरु भएका कृष्ण बहादुरले हत्यामा संलग्न कल्पनाको अश्लील तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्न थालेपछि आफूले मारिदिएको बयान कल्पनाले दिएकी थिइन्। 

१ वर्षमा ११७ उजुरी

सामाजिक सञ्जालको पहुँच र प्रयोग जति विस्तार हुँदै गयो  यस मार्फत हुने अपराधको संख्या पनि बढ्दै गएको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायत बताउछन्।  

प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७६/७७ मा  विद्युतीय कसुर तथा साइबर अपराध शीर्षकमा ११७ केस दर्ता भएका छन्।
‘धेरै घटनाहरू त प्रहरीसम्म आइ नै पुग्दैनन्’ प्रवक्ता कडायत भन्छन्। 

नेपालमा साइबर अपराध गर्नेमाथि लागि विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत कारबाही हुँदै आएको छ। 

  • प्रकाशित मिति : असोज १४, २०७७ बुधबार १८:१३:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया