प्रदेश ५ सरकारले शुक्रबार प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी भालुवाङमा राख्ने प्रस्ताव प्रदेशसभामा गरेसँगै रुपन्देहीका स्थानीय तहले सो निर्णय फिर्ता लिन आग्रह गरेका छन् ।
प्रदेश ५ स्थायी राजधानी दाङको भालुवाङलाई बनाउने प्रस्ताव अनुपयुक्त र जनभावना विपरीत रहेको भन्दै रुपन्देहीका १५ वटा स्थानीय तहले सच्याउन माग गरेका छन् ।
शनिबार जिल्लाका १५ पालिकाका प्रमुख र उपप्रमुखको बैठक बसेर रुपन्देहीलाई नै स्थायी राजधानी बनाउन सकिने पर्याप्त आधार, अवस्था, पूर्वाधार र सम्भावना हुँदाहुँदै अन्यत्र सार्न खोज्नु उचित नरहेको ठहर गरेको हो ।
उनीहरुले विज्ञप्ति निकालेर रुपन्देही हरेक हिसाबले राजधानीका लागि उपयुक्त भएको जानकारी दिएका छन् । बहुसंख्यक जनता र क्षेत्रलाई पायक पर्ने, ऐतिहासिक स्थल रुपन्देही नै प्रदेशको स्थायी मुकामका रुपमा घोषणा गरियोस् भन्ने आमचाहना रहेको विज्ञप्तिमा जनाइएको छ ।
बुद्धको जन्मस्थल लुम्बिनी, अन्तर्राष्ट्रिय विमानस्थल, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, अन्तर्राष्ट्रिय सिमाना, प्रशासनिक पहुँच, सुगमता, औद्योगिक तथा व्यापारिक केन्द्र र मुलुककै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको र जनसंख्याको अनुपातका हिसाबले पनि रुपन्देही नै प्रदेश मुकामका लागि उपयुक्त स्थल रहेको उनीहरुको ठहर छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।