आलम प्रकरण : जिउँदै मान्छे जलाइएको भनिएको इँटा भट्टाका हेड मिस्त्री पक्राउ

रौतहटको इँटाभट्टामा जिउँदै मान्छेलाई जलाइएको घटनामा संलग्न रहेको आरोप लागेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले रौतहटको राजपुर फरहदवामा भएको बम विस्फोटका घाइतेहरुलाई इँटाभट्टामा हालेको आरोपमा बाराको सिम्रौनगढ ४ निवासी ५५ वर्षीय बद्री सहनीलाई पक्राउ गरेको हो ।

सहनीलाई विशेष सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय बाराको संयुक्त टोलीले भारतको मुजफ्रपुरबाट पक्राउ गरेको हो ।

फरार रहँदै आएका सहनीलाई शुक्रबार साँझ प्रहरीको विशेष टोलीले पक्राउ गरेको २ नम्बर प्रदेश प्रहरी कार्यालयका डिआईजी धिरज प्रताप सिंहले जानकारी दिए । पक्राउ परेका सहनी इँटाभट्टाका हेड मिस्त्री थिए ।

२०६४ चैत २८ को पहिलो संविधानसभा चुनावमा धाँधली गर्ने उद्देश्यले कांग्रेस नेता मोहमद अफताब आलमले तत्कालीन राजपुर फरहदवा गाविस-४ (हाल राजपुर नगरपालिका-४) का शेख इद्रिसको गोठ घरमा बम बनाउन लगाएको र त्यसक्रममा विस्फोट भएको थियो । बम विस्फोटमा परी श्री नारायण सिंहका छोरा पिन्टु भनिने त्रिलोक प्रताप सिंह समेत १५/१६ जना घाइते र २/३ जनाको मृत्यु भएको प्रहरीको भनाइ छ ।

मृतक तथा घाइतेलाई इँटाभट्टामा लगेर जलाइएको आरोप जाहेरीका आधारमा आलम पुर्पक्षका लागि थुनामा छन् । कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थको कसुरमा अदालतले आलमलाई पुर्पक्षका लागि कारागार चलान गरेको छ।



उनले आलमको निर्देशनमा बम विष्फोटका क्रममा मृत्यु भएका र घाइतेलाई भट्टामा जलाइएको स्वीकारेको प्रदेश प्रहरी प्रमुख धिरजप्रताप सिंहले जानकारी दिएका छन् ।



  • प्रकाशित मिति : असोज १७, २०७७ शनिबार २०:०:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया