दाङ क्षेत्रका स्थानीय भन्छन्– राजधानीले न्याय दियो

प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङमा रहने गरी मंगलबार प्रदेशसभाको दुईतिहाइभन्दा बढी मतले पारित गरेको छ । ८७ सांसद रहेको प्रदेशसभामा उपस्थित ८२ जनामध्ये ६९ जनाले दाङको देउखुरी उपत्यकालाई राजधानी बनाउने पक्षमा मतदान गरे । दुईतिहाई मतका लागि ५८ जना भए पुग्नेमा ६९ मतसहित सो प्रस्ताव पारित भएको छ । १३ जना सांसदले विपक्षमा मतदान गरे । 

प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको प्रतिपक्षी नेपाली कांग्रेसका १९ जना सांसदमध्ये केहीले पार्टीको ह्विपको अवज्ञा गरेरै मतदान गरे । नाम लुम्बिनी राख्नेमा त अझ ७९ जनाले पक्षमा मत दिए । नामको विपक्षमा जम्मा ४ मत परेको थियो ।   

यही असोज १६ गते प्रदेश ५ सरकारले प्रदेश राजधानी दाङको देउखुरी क्षेत्रमा बनाउने र नाम लुम्बिनी राख्ने प्रस्ताव गरेको थियो । 

सो प्रस्तावको लागि आइतबार आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई सभामुखले रोस्ट्रममा बोलाउनासाथ प्रतिपक्षी नेपाली कांग्रेसका केही सांसद बसिरहेको कुर्सी नै उचालेर तोडफोडमा उत्रिए । 

संसद भवनमा प्रतिपक्षले विरोध गरिरहँदा आन्तरिक मामिला तथा कानुनमन्त्री केसीले पदीय मर्यादा भुलेर कांग्रेसका सांसदलाई घिसारेर बाहिर निकाल्न मर्यादा पालकलाई आदेश दिए । 

यी घटना परीघटनापछि मंगलबार भएको मतदानमा सरकारी प्रस्ताव अत्यधिक मतले पारित भएको छ । 



बुटवल क्षेत्रमा विरोधका स्वर सुनिए पनि अत्यधिक बहुमत दाङको पक्षमा पर्नुले अधिकांश प्रदेशवासी यस निर्णयबाट खुसी भएको मान्न सकिन्छ । 

प्रदेशको अस्थायी राजधानी रुपन्देहीमा रहँदा दाङ, रोल्पा, पूर्व रुकुम, बर्दिया र बाँकेका बासिन्दा मर्कामा परेका थिए । दाङमा स्थायी राजधानी आइपुग्दा यस क्षेत्रका बासिन्दा खुसी बनेका छन् ।



राप्ती गाउँपालिका–१ भालुवाङका दिलकुमार यादव राजधानी दाङ आउनुले ठूलो आशा भरोसा जगाएको बताउँछन् । उनी भन्छन्, ‘हामी सुकुम्बासीहरु लालपुर्जाको आशमा थियौं, सरकारले राजधानी त दियो, खुसी छौं, अब हाम्रो अरु माग पनि पूरा होला ।’  

भालुवाङ बजार सरकारी वनभित्र पर्छ । जुन दाङको पुरानो बजार हो । तर, त्यहाँ मान्छेहरुसँग हातमा लालपुर्जा छैन । जसका कारण भालुवाङवासी अधिकारविहीन अवस्थामा बाँचिरहेका छन् । अब राजधानी नजिक भएपछि अधिकार पाउने आश पनि जगाएको उनले सुनाए ।

राजधानीले आशा जगाएकाे छ

‘अन्यत्रका बजार ठूला भइसके । व्यापार बढ्दो छ । गाउँहरु सहर बनिसके, तर भालुवाङ बजार जस्ताको त्यस्तै छ । न व्यापार बढेको थियो, न बजार,’ भालुवाङका स्थानीय व्यापारी मनोज मनोहर केसीले भने,’ ‘तर, अब यो राजधानी सहर बन्दै छ । घोराहीजस्तै भालुवाङ बन्छ भन्ने आशा राजधानीले जगाएको छ ।’

सरकारले राजधानी टुंगो लगाएसँगै युवामा धेरै उत्साह  थपिएको उनको दाबी छ । उनले थपे, ‘राजधानी यतै आयो केही व्यापार व्यवसाय थप्ने सोचमा छु ।’ राजधानीले स्थानीय बजार व्यापारमा ठूलो योगदान पुर्याउने भएकाले अब स्थानीयलाई आर्थिक विकासमा समेत मजबुत बन्न राजधानीका कारण सघाउ पुग्ने उनको विश्वास छ ।

राजधानीले दाङ खोज्योः नेकपा नेता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य हेमराज शर्माले दाङले राजधानी खोजेको नभएर राजधानीले दाङ खोजेको बताउँछन् । उनी भन्छन्, ‘भौगोलिक दूरी, सुरक्षा, भूगोल, हावापानीलगायत हिसाबले दाङ राजधानीका लागि उपयुक्त रहेकाले दाङले राजधानी होइन, राजधानीले दाङ खोजेको हो ।’ 

दाङ केन्द्रकै राजधानी बन्न सक्ने अवस्थामा रहे पनि त्यो अवसर दाङले नपाएको तर प्रदेश सरकारले त्यो अवसर न्याय दाङलाई दिएको उनको भनाइ छ । जसका लागि साथ र सहयोग गर्ने सबैप्रति उनले धन्यवाद समेत दिए ।

खुसी छौँः कांग्रेस सभापति दाङ

नेपाली कांग्रेस दाङका सभापति कीर्तिबहादुर खड्का यो निर्णयले आफू र सिंगो पार्टी खुसी भएको बताउँछन् ।    ‘हामीले चाहेको  पनि यही हो । हामी प्रतिपक्षमा छौँ । तर दाङमा राजधानी ल्याउने विषयमा होइन,’ उनी भन्छन्, ‘हामी सरकारलाई धन्यवाद र राजधानीलाई स्वागत गरिरहेका छौं ।’ 

कतै विरोध कतै समर्थन त राजनीतिक रुपमा चली नै रहने बताउँदै उनी भन्छन्, ‘दाङको नेपाली कांग्रेसको पार्टी सभापतिको हैसियतले सरकारलाई धन्यवाद छ ।’

  • प्रकाशित मिति : असोज २०, २०७७ मंगलबार २१:३०:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया