इन्स्टाग्रामकाे त्याे कमजोरी, जसले प्रभालाई दिलायाे तीन हजार डलर इनाम

इन्स्टाग्राम अहिले विश्वभरका युवाको लोकप्रिय सामाजिक सञ्जाल हो । यसमा फोटो र भिडियो सेयर गर्न सेलेब्रेटी मात्रै होइन, सहरिया युवा–युवती पनि उत्तिकै लालायित देखिन्छन् । सुरुमा स्वतन्त्र संस्थाका रुपमा स्थापना भएको इन्स्टालाई जब २०१२ मा फेसबुकले किन्यो, त्यसपछि त यसको लोकप्रियता झनै चुलिन थाल्यो । 

फेसबुक र इन्स्टाग्राम एकै संस्थाको भएपछि यी दुईबीच समन्वय सुरु भयो । इन्स्टाग्रामकै एकाउन्टबाट फेसबुक र फेसबुककै एकाउन्टबाट इन्स्टाग्राम खोल्न र एकमा सेयर गरेका स्टोरी अर्कोमा पनि सेयर गर्न मिल्ने भयो । तर, यी विकल्प बाध्यकारी भने होइनन् । भन्नुको अर्थ, फेसबुकले प्रयोगकर्ताको इच्छा र गोपनीयतालाई मध्यनजर गरेर उनीहरुले नचाहेको खण्डमा एकबाट अर्को एकाउन्ट खोल्ने र एकमा सेयर गरेको स्टोरी अर्कोको सेयर नहुने विकल्पको सुविधा प्रदान गरेको छ । 

धेरै त यो लोकप्रिय सामाजिक सञ्जालमा फोटो वा भिडियो हाल्छन् अनि साथीभाइले ती फोटो तथा भिडियोमा गर्ने लभ रियाक्ट र कमेन्ट्स हेर्नमै सीमित गर्छन् । प्रयोगका क्रममा आउने सानातिना उल्झनलाई बेवास्ता गरेर अघि बढ्छन् । तर, एक नेपाली युवती आम प्रयोगकर्ताभन्दा फरक देखिइन् । उनले इन्स्टाले ‘अप्सनल’ रुपमा राखेको फेसबुकसँगको ‘अट्याच्मेन्ट’ पूर्ण रुपमा लागू नगरेको पाइन् र त्यसको रिपोर्ट गरेबापत पाइन्, तीन हजार अमेरिकी डलर । 

कुरा गत सेप्टेम्बर १८ को हो । २४ वर्षीया प्रभा बस्नेतले आफ्नो गोपनीयतालाई ध्यानमा राखेर इन्स्टाग्राममा राखेको स्टोरी फेसबुकमा नदेखिने बनाएकी थिइन् । फेसबुकबाटै इन्स्टाग्राम खोल्न मिल्ने विकल्पलाई पनि हटाएकी थिइन् । तर, उनले एक महिनाअघि इन्स्टाग्राममा सेयर गरेको स्टोरी फेसबुकमा पनि सेयर भयो र फेसबुक एकाउन्टबाटै इन्स्टा पनि खुल्यो । उनी अचम्मित मात्र भइनन् । उनलाई डर पनि लाग्यो । 

‘फेसबुक ह्याक भयो भने इन्स्टाग्रामलाई असर नहोस् भनेर मैले फेसबुकबाट इन्स्टाग्राम खोल्न नमिल्ने बनाएको थिएँ,’ फरकधारसँगको कुराकानीमा प्रभाले सुनाइन्, ‘तर मेरो फेसबुकबाट इन्स्टाग्राम पनि खुलिरहेको रहेछ ।’



उनले तुरुन्तै इन्स्टाग्रामलाई रिपोट गरिहालिन् । यो एक महिनाको अवधिमा उनले एन्स्टामा गरेको दोस्रो रिपोर्ट थियो । पहिलो रिपोर्ट उनले ४ दिनअघि मात्रै गरेकी थिइन् ।
 
‘मैले इन्स्टामा सेयर गरेको स्टोरी फेसबुकमा नदेखिने बनाएकी थिएँ,’ प्रभाले सुनाइन्, ‘तर मैले त्यो अप्सन बन्दा गर्दागर्दै पनि इन्स्टामा सेयर गरेको स्टोरी फेसबुकमा पनि सेयर भएको थियो ।’

प्रभालाई ८ अक्टोबर अर्थात् तीन दिनअघि इन्स्टाग्रामले उनले गरेको रिपोर्टको प्रतिक्रिया दियो । रिपोर्ट गरेकोमा इन्स्टाले उनलाई औपचारिक ‘धन्यवाद’मा मात्रै सीमित गरेन, इनामस्वरुप तीन हजार अमेरिकी डलर पनि दियो ।



त्यसो त उनले रिपोर्ट गरेको यो पहिलो, दोस्रो वा तेस्रोपटक होइन । यसअघि पनि उनले कैयौँपटक विभिन्न समस्या देखेपछि तुरुन्तै रिपोर्ट गर्ने गरेकी थिइन् । पछिल्ला तीन महिनामा मात्रै उनले लगभग २० पटक फेसबुक र इन्स्टामा देखिने विभिन्न समस्यालाई लिएर रिपोर्ट गरिसकेकी थिइन् । 

तर, यसअघिका रिपोर्टमा फेसबुक र इन्स्टाग्रामले उनलाई धेरै प्रतिक्रिया जनाएन । ‘यो रिपोर्ट तपाईंभन्दा पहिला अरुले नै रिपोर्ट गरिसकेका छन् । तपाईंले गरेको रिपोर्ट डुप्लिकेट भयो’ भन्ने प्रतिक्रिया उनी फेसबुक र युट्युबबाट पाउँथिन् ।
 
तर, पनि उनले रिपोर्ट गर्न छाडिनन् । भन्छिन्, ‘गलत देख्दा गलत भयो भनेर जतिपटक भन्दा पनि केही बिग्रिँदैन भन्ने लागेर रिपोट गर्न छाडिनँ ।’ 

खासमा, उनी पनि पहिले–पहिले त यस्ता समस्यामा रिपोर्ट गर्दिनथिइन् । आम प्रयोग कर्ताले झैँ बेवास्ता गर्थिन्, बरु चलाइरहेको एकाउन्टमा समस्या देखियो भने त्यो एकाउन्ट डिलिट गरेर अर्को एकाउन्ट बनाउँथिन् । एक वर्षअघि मात्रै पनि उनले नयाँ फेसबुक एकाउन्ट खोलेकी थिइन्,  फेसबुकमा समस्या देखिएकै कारण । 

कसरी चल्यो त ‘बग’ देख्यो कि रिपोर्ट गर्ने हुटहुटी ?

उनी रिपोर्ट गर्न के कुराले प्रेरित भइन् भन्ने बुझ्न तीन महिनाअघि फर्किनुपर्ने हुन्छ । तीन महिनाअघि एक नेपाली युवक सौगात पोखरेलले इन्स्टाग्रामलाई उसको ‘बग’ रिपोर्ट गरेबापत ६ हजार अमेरिकी डलर पाएको कुरा समाचारमा सुनिन् । 

सौगात पोखरेलले इन्स्टाग्रामलाई एकपल्ट डिलिट गरिसकेको फोटो सधैँको लागि डिलिट नभएर फेरि सर्भरमा गएर बस्ने गरेको कुरा रिपोर्ट गरे । इन्स्टाग्रामले आफ्नो गल्ती पत्ता लगाइदिएबापत सौगातलाई ६ हजार डलर पुरस्कार दियो । 

तर, उनी आफूलाई पोखरलेले पाएको पैसाले प्रभावित पारेको स्विकार गर्दिनन् । भन्छिन, ‘मलाई त रुचि र उत्सुकताले मात्रै डोहोर्याएको हो ।’ 

‘मलाई त इन्स्टाजस्तो पावरफुल एपले पत्ता लगाउन नसकेको कमजोरी कसरी एउटा नेपाली युवकले पत्ता लगाउन सक्यो भनेर सोच्न बाध्य बनाएको हो,’ उनले भनिन्, ‘मैले पनि यस्ता गल्ती पटक–पटक देखेकी छु । अब म पनि रिपोर्ट गर्छु भन्ने लाग्यो ।’

उनी त्यसपछि ‘बग’ भनेको के हो भन्ने बुझ्नतिर लागिन् । फेक आइडी बनाएर विभिन्न ‘बग बाउन्टिङ हन्टिङ् ग्रुप’ मा सामेल हुन थालिन् । केही समयको ‘रिसर्च’पछि ‘बग’ र ‘रिपोर्ट’बारे जानकार भइन्, उनी । सबै कुरा बुझिसकेपछि उनले पनि रिपोर्ट गर्न गरिन् । र, त्यसको परिणाम तीन दिन अघि पाइन् । 

इन्स्टाग्रामको गल्ती पत्ता लगाएर ६ हजार अमेरिकी डलर जितेका सौगात पोखरेलजस्तो ‘ह्याकर’ भने होइनन्, प्रभा । न त उनी यो क्षेत्रकै हुन् । उनी त आफूलाई आइटी क्षेत्रमा सामान्य रुचि र जानकारी भएकी एक जिज्ञासु युवतीका रुपमा मात्रै स्विकार्छिन् । 

‘म ह्याकर होइन,’ उनले भनिन्, ‘मैले कुनै टुल वा टेक्निकको प्रयोग गरेर बग पत्ता लगाएको होइन । म त आइटी फिल्डमा सामान्य रुचि राख्ने एक मान्छे हुँ ।’ 

आगामी दिनमा पनि ‘बग हन्टिङ’लाई पेसा होइन, रुचिमा मात्रै सीमित राख्ने उनको विचार छ । 

काठमाडौंमै जन्मे–हुर्केकी प्रभा अहिले व्यवस्थापन संकायमा स्नातक पढ्दै छिन् । विगत दुई वर्षदेखि आफैँ केक उत्पादन गरेर अनलाइन व्यापार गर्दै आएकी थिइन् । तर, कोरोनाको लकडाउनका कारण चलिरहेको व्यावसाय बन्द भयो । 

लकडाउनका कारण व्यावसायबाट नोक्सान खेपिरहेकी उनलाई यो रकम (तीन लाख ५३ हजार)ले ठूलै राहत मिलेको छ । 

भन्छिन्, ‘पछिल्लो ७ महिनायता व्यापार ठप्प भएको अवस्थामा मलाई यो पैसाले धेरै राहत मिलेको छ । खुसी छु ।’

  • प्रकाशित मिति : असोज २५, २०७७ आइतबार २०:२७:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया