काठमाडौं महानगरपालिकाले उपभोक्तालाई सिङमा हरियो रङ भएका खसी, बोका, भेडा, च्याङ्ग्राजस्ता चौपाया खरिद गर्न आग्रह गरेको छ । बडादसैँका लागि काठमाडौंं ल्याइएका निरोगी खसी—बोका तथा भेडा—च्याङ्ग्राको सिङमा हरियो र रोगीलाई रातो लगाइने गरेको छ ।
कामपा पशु सेवा विभागले मासुका लागि चौपाया बिक्री–वितरण हुने स्थानमा पुगी दसैँका लागि बिक्रीका लागि राखिएका चौपायाको स्वास्थ्य परीक्षण गर्दा ज्वरो आए–नआएको, नाकबाट सिँगान बगे–नबगेको, झोक्राएको–नझोक्राएको, पातलो दिसा भए–नभएको, चोटपटक भए–नभएको जस्ता सामान्य स्वास्थ्यावस्थाका विषयमा पशु चिकित्सकले परीक्षण गरेपछि सिङमा रङ लगाउन थालिएको छ ।
ती चौपायाको स्वास्थ्य जाँचका लागि महानगरबाट शनिबारदेखि महाष्टमीसम्म तीन टोली परिचालन भएका छन् । माछामासुजन्य खाद्यवस्तु तथा दूध र दुग्धजन्य खाद्यवस्तुको नमुना संकलन गर्ने र प्रयोगशालामा परीक्षण गरेर यसको स्वच्छता कायम गराउने काम बजार निरीक्षणका क्रममा हेरिनेछ ।
चौपाया खरिद–बिक्री प्रालिका अध्यक्ष जनककुमार खड्काका अनुसार काठमाडौंमा ६० हजार खसी–बोकाको माग भयो भने पूरा गराउन सकिन्छ । चौपाया ल्याउन सकिने अवस्था छ । ल्याएर बिक्री हुन्छ कि हुँदैन भन्न सकिने अवस्था छैन ।
काठमाडौंंको ठूलो खसी बजार भनेको कलंकी हो । बन्दाबन्दीपूर्व सो बजारमा कक्ष लिएर व्यापार गर्ने २९ व्यापारी थिए । कोरोनाका कारण तीमध्ये १६ व्यवसायीले व्यापार छाडे ।
कामपाका कलंकी र टुकुचामा खसी बजार छ । यसैगरी बडादसैँका बेला काठमाडौंकै आकाशेधारा, कपन, चाल्नाखेल र चन्द्रागिरि, भक्तपुरका लोकन्थली र सल्लाघारी तथा ललितपुरको लगनखेलमा पनि चौपाया बजार लाग्ने गरेको छ । स्वच्छ मासुका लागि काठमाडौं भित्रिने नाका नागढुंगा, दक्षिणकाली, बालाजु र साँगामा चौपायामाथि निगरानी बढाउने गरिन्छ ।
काठमाडौंं ल्याइने च्याङ्ग्राहरुको संकलन मुस्ताङको कोरला नाकामा हुने भएकाले सो क्षेत्रमा पनि विशेष निगरानी बढाउने गरिन्छ । काठमाडौंं चौपाया खरिद–बिक्री प्रालिले यसपटक दसैँमा करिब ४० हजार चौपाया खपत हुने अनुमान गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।