पशुबलिको सट्टा, कुभिण्डो र नरिवल
फाइल फोटो

देशभरका शक्तिपीठमा कोरोनाका कारण यस पटक पशुबलि निकै कम हुने भएको छ । कोरोना महामारीको जोखिमलाई ध्यानमा राखी शक्तिपीठमा परम्परा धान्नबाहेक पशुबलि नहुने भएको हो ।

कोरोना महामारीका कारण देशका अधिकांश मन्दिरमा नित्यपूजा बाहेक मन्दिरमा नजान सर्वसाधारणलाई अनुरोध गरिएको छ । दसैं तथा अन्य चाडबाडमा शक्तिपीठ तथा मन्दिरमा गएर पूजाअर्चना गर्ने तथा भाकलअनुसारको बलि चढाउने विभिन्न समुदायमा प्रचलन रहिआएको छ ।  

कोरोनाका कारण शक्तिपीठमा भीडभाड  कम गर्ने हेतुले शक्तिपीठमा पशुबलि घटाइएको हो । पशुबलि घटाइएपछि शक्तिपीठमा विकल्पमा कुभिण्डो र नरिवल चढाइनेछ । काठमाडौँको हनुमान ढोका र भक्तपुरपुरमा अष्टमी र नवमीका दिन ठूलो सङ्ख्यामा हुँदै आएको पशुवलि यस वर्ष परम्परा धान्नमा मात्र सीमित गरिँदैछ ।

हनुमानढोकाभित्रको मूलचोकमा महाअष्टमी र नवमीका दिन ५४ बोका र ५४ राँगाको बली दिने गरिन्थ्यो । दसैंमा पशुबलिको साटो कतिपय स्थानमा कुभिण्डो र घिरौँला चढाउने चलन छ ।

धर्म र संस्कृतिका नाममा महामारी फैलिन गई जनताले दुःखकष्ट भोग्न नपरोस् भन्नका लागि विकल्पमा कुभिण्डो र नरिवल चढाइने हनुमानढोका हेरचाह अड्डाका पुरोहित देवराज अर्यालले जानकारी दिए । परम्परा र संस्कृतिका रुपमा चलिआएको तलेजुलगायत शक्तिपीठमा पशुबलिकै लागि पनि सरकारले बजेट विनियोजन गर्दै आएको छ ।

यसैबीच, नेपाली सेनाले निशान भगवतीलाई शक्तिस्वरुपाका रुपमा मान्ने हुँदा भगवती र कोतमा बाहेक यस पटक अन्यत्र पशुबलि नदिइने जनाएको छ । त्यस्ता शक्तिपीठ र अन्यस्थानमा पशुबलिको सट्टा नरिवल र कुभिण्डो चढाउने व्यवस्था गर्न लागिएको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताए ।



बडादसैंका अवसरमा आआफ्ना घरमा स्थापना गरिएका नवदुर्गा स्थलका अतिरिक्त मुलुकका ठूला शक्तिपीठ भद्रकाली, रक्तकाली, दक्षिणकाली, मनकामना, बागलुङ कालिकालगायत मन्दिर परिसरमा ठूलो सङ्ख्यामा खसी, बोका, राँगा, हाँस, परेवा तथा कुखुराको बलि दिने परम्परा छ । 



  • प्रकाशित मिति : कात्तिक ६, २०७७ बिहीबार १३:३१:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया