नेपाली सेनाले शुक्रबार अपराह्न सैनिक मञ्च टुँडिखेलमा आयोजना गर्ने फूलपाती बढाइँ प्रतीकात्मक हुने बताएको छ । यस वर्षको फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने उद्देश्यले सांकेतिकरूपमा मात्र आयोजना गरिनेछ ।
कोरोना संक्रमणबाट उत्पन्न परिस्थितिका कारण संस्कृति र परम्परालाई जीवन्तता दिन प्रतीकात्मकरूपमा मात्र यस वर्षको फूलपाती बढाइँ आयोजना गरिने सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताए । उनका अनुसार यस वर्षको बढाइँ थोरै कार्यक्रम सामेल गरिएकाले छोटो अर्थात् करिब आधा घण्टाको हुनेछ ।
त्यस अवसरमा सेनाका थोरै सकलदर्जाको सहभागितामा लहरे, एकठ्ठाका अतिरिक्त तोप बढाइँ र ब्याण्ड प्रदर्शन गरिनेछ । कोरोना जोखिमका कारण पाहुनाको संख्या कटौती गरी १०० जनामा सीमित गरिनेछ । सबै पाहुनालाई उपस्थित हुने स्थानमा मास्क र स्यानिटाइजरको प्रयोग अनिवार्य गरिएको छ । विगतमा फूलपाती बढाइँ हर्षोल्लाससँग मनाउने र त्यसपछि सुरक्षाका लागि अत्यावश्यक जनशक्तिलाई ब्यारेकमा राखेर अरुलाई दसैं मनाउन बिदा छाड्ने सेनाको चलन थियो ।
इतिहाकार एवं प्राज्ञ दिनेशराज पन्तका अनुसार दुर्गापूजा एवं विजयोत्सवसँग जोडिएको फूलपाती बढाइँको लामो इतिहास रहे पनि टुँडिखेलको हालको फूलपाती बढाइँ पृथ्वीनारायण शाहको समयदेखि हुँदै आएको छ ।
समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिका रुपमा सरिक हुने कार्यक्रम तय भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।