संस्कार हाम्रै हो, दसैं खर्चिलो नगरौं

नेपालीहरूको महान् चाड दसैं घरघरमा आइपुगेको छ । विश्वव्यापी महामारीकाबीच आइपुगेको यो वर्षको दसैंको अवस्था विगतभन्दा फरक बनेको छ । अघिल्ला वर्षमा मानिसहरूले दसैं वर्षभरिको थकान, दुःख मेटिने गरी मनाउँथे भने यो वर्ष चुर्लुम्म दुःखमा डुबेको छ । 

यस्तो परिस्थितिमा दसैं देखावटीपनभन्दा पनि संस्कारगत हिसाबले मनाउनु उचित हुन्छ । यद्यपि, संस्कारका हिसाबले दसैं कहिल्यै पनि भड्किलो हुनुहुँदैन । तर, पछिल्ला वर्षहरूमा मानिसहरू भोलिका लागि सोच्नुभन्दा पनि आज रमाउने बाटो खोजिरहेका देखिन्थे । जसका कारण दसैं भड्किलो र खर्चिलो बनिरहेको हामी देख्थ्यौँ । यो देखासिकीको कारण पनि हो । 

यद्यपि यो वर्ष विश्वव्यापी महामारीको चपेटाबाट नेपाल पनि गाँजिएकाले हामी संयमित हुनैपर्छ । यो समाशास्त्रीय हिसाबले मात्र नभएर हाम्रो स्वास्थ्यको जोखिम कम गर्न पनि अत्यावश्यक सर्त हो ।

अहिले धेरै मानिसको जागिर खोसिएको छ । यति नै भन्ने ठिक आँकडा नआए पनि करिब ७० प्रतिशत जागिरेहरू बेरोजगार भएका छन् । यो बेला भएकाहरूले पनि तडकभडक गर्दा वर्गीय खाडल अझै बढ्छ । धनी र गरिबबीच देखिने असमानताहरू समाजमा छताछुल्ल पोखिन्छन् । त्यसकारण हामी सामाजिक प्राणी भएकाले समाजमा सन्तुलन कायम गर्नका लागि सक्नेले पनि यस्तो तडकभडक गर्नु सान्दर्भिक देखिँदैन । 

यो विषय अबका दिनमा दसैंका लागि मात्रै होइन हाम्रा सबै चाड पर्व तथा विवाह ब्रतबन्धका नाममा हुने खर्चमा पनि हामी संयम हुन जरुरी छ । यतिबेला हामीले ख्याल गरेनौं भने माथि भनिएझैं ऋण लाग्ने कुरा त छँदैछ, त्यसले भविष्यमा धान्न नसक्ने अवस्था आएपछि जिन्दगी नै संकटमा पर्छ । यतातर्फ पनि सचेत हुन जरुरी छ ।



नेपाली समाजमा गरिबी सितिमिति देखाइँदैन । गरिबी बाध्य भएर चुहिन्छ । यतिबेला बहुसंख्यक नेपालीहरूको गरिबी छताछुल्ल पोखिएको छ । पछिल्ला तथ्यांकहरूलाई आधार मान्दा देशमा ५० प्रतिशत मानिस गरिबीको रेखामुनि रहेका छन् । योबाहेक पनि धेरै मानिस गरिब छन् । यो अवस्थामा केही मानिस जसले पुरानो कमाइ राखेका छन्, अनि अर्काथरि केही मानिस जसले आफ्नो भ्रष्ट आचारबाट पैसा कमाएका छन् । यिनीहरूले पैसा खर्च गर्दा खास रिसराग द्वेष त रहन्न, तर कित्ता छुटिन्छ । यिनीहरू धनी हामी गरिब भन्ने वर्गीय खाडल बढ्छ ।

हुन त नेपाली समाजमा गरिबी पहिला पनि थियो तर, मानिसले वर्षभरि दुःख गरेर पनि दसैं वा अन्य चाड पर्वमा खर्च गर्ने प्रवृत्ति थियो । जसका कारण त्यो खर्च पनि गर्न नसक्ने केही प्रतिशत मानिसको दसैं खल्लो हुन्थ्यो । तर, योपालि धेरै मानिसहरू राेग र बेरोजगारीको चपेटामा परेका छन्, उनीहरू अरूलाई हेरेर सन्तुष्ट हुन्छन् ।



समाजशास्त्रीय हिसाबले भन्दा दसैं वा यस्ता चाडपर्वलाई सन्तुलित बनाउनका लागि अब स्थानीय तहको भूमिका महत्त्वपूर्ण हुन्छ । दसैंको नै कुरा गर्दा स्थानीय तहले र वडाले आफ्नो समुदायस्तरमा दक्षिणा यतिसम्म मात्रै दिने, खसी यति मात्रै काट्ने अर्थात् चाडपर्वलाई संस्कारगत हिसाबले सोच्ने पैसाको होडबाजी नगर्ने कुरा मात्रै गर्यौं भने पनि तडक-भडकलाई नियन्त्रण गर्न सकिन्छ ।

यसो भनिरहँदा कसैको पनि सामुदायिक वा जातीय हिसाबको संस्कारमा नियन्त्रण भने गर्न पाइँदैन । स्थानीय तहहरूले संस्कारगत हिसाबले यी विषयलाई व्यवस्थापन गर्न सकिन्छ । यसले नभएका मानिसहरू पनि त्यति दुःखी हुँदैनन् । 

समग्रमा गत वर्षभन्दा हामी धेरै दुःखमा आइपुगेका छौं । धेरै मानिसको तह एउटै भएको छ । हुन त हामीले खोजेको संवृद्धि हो । सबै नेपाली समान रूपमा संवृद्ध बनुन् भन्ने नै हो । परिस्थितिले धेरै मानिसलाई गरिबीमा समान बनाइदिएको छ । यसो हुनु राम्रो त पक्कै होइन । तर, मैले खर्च गर्न पाइन भन्नेहरूले फलानाले पनि गरेन भनेर चित्त बुझाउन सक्ने परिस्थिति बनेको छ । 

त्यस कारण यो वर्ष ऋण गरेर दसैं नमनाऔँ । कमभन्दा कम खर्चमा सामान्य हिसाबले टीका र आशीर्वाद लिएर मात्रै दसैं मनाऔँ ।

डा.रामहरि ढकालसँग फरकधार संवाददाता मनीषा अवस्थीले गरेको कुराकानीमा आधारित

  • प्रकाशित मिति : कात्तिक ७, २०७७ शुक्रबार १६:१५:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया