नेपाली समाजमा दसैंका विविध पक्ष
सांकेतिक तस्बिर

दसैं नेपाली मात्रको महान् चाड हो । हाम्रो समाजमा बडादसैं र चैतेदसैं भनेर दुईवटा दसैं मनाउने परम्परा छ । दसैं शब्दले दशमी तिथिलाई सम्बोधन गरेको छ । शरद ऋतुको दसैं दशमीकै दिनलाई भनिन्छ तर चैतेदसैं अर्थात् वसन्त ऋतुमा भने रामनवमीको अघिल्लो दिन अष्टमीलाई नै दसैं शब्दले सम्बोधन गर्ने चलन छ । कर्मचारीलाई दसैंभत्ताको व्यवस्था र बिदा समेत दिने गरिएकाले शारदीय दसैं वास्तवमै बडादसैं हो ।

हरेक शुभकर्म सूर्य उत्तरायण भएपछि गर्नु उत्तम मानिने पूर्वीय सभ्यतामा दसैं पनि चैतमा नै मनाइन्थ्यो होला । ऋग्वेदमा दसैंलाई ‘वसन्त सम्पात’ भनेर सम्बोधन गरेको पाइन्छ । यसका आधारमा वैदिक कालमा चैतेदसैं विशेष उत्सवका रूपमा मनाइथ्यो भन्ने स्पष्ट हुन्छ ।

लौकिक संस्कृत कालमा लेखिएका ग्रन्थमा भने शारदीय दसैंको महत्त्व गाइएको छ । यसबाट के बुझ्न सकिन्छ भने वैदिक कालबाट लौकिक कालसम्म आइपुग्दा सामाजिक संरचनामा परिवर्तन आएको छ । 

आश्विन शुक्लपक्ष प्रतिपदाको दिनमा घटस्थापना गरी नवमीसम्म शक्तिकी देवी दुर्गाको उपसनाका लागि पाठ गरिने दुर्गा सप्तशतिमा शारदीय दसैंको नै महत्त्व गाइएको छ । देवी दुर्गाले महिषासुर जस्ता राक्षसमाथि विजय प्राप्त गरेकाले यसलाई विजया दशमी भनिएको हो । आसुरी प्रवृत्तिमाथि दैवी शक्तिको विजयका रूपमा यसलाई मनाउने गरिन्छ । 

नौ दिनसम्म दुर्गाका फरक फरक रूपको पूजा गर्ने परम्परा छ । पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, रातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गरिन्छ ।  

यी नौ देवीको पूजाले मातृशक्तिको महिमा र सम्मान अभिव्यक्त गरेको छ ।



सातौं दिन केरा, दारिम, धान, हलेदो, बेल, अशोक, जयन्ती कर्चर, माने जस्ता नौ प्रकारका फलफूल र अन्न फूलपातीका रूपमा भित्र्याउने चलन छ । नवदुर्गा पूजाले मानिसलाई काम, क्रोध, लोभ मोह, मद, मात्सर्य, चोरी, अहंकार र आलस्य जस्ता नौ विकार त्याग्न प्रेरणा दिने गरेको छ ।

प्रकृति र मानवीय भावनाको चाड



ऐतिहासिक अध्ययनलाई आधार मानेर हेर्दा मानवीय सभ्यता कृषियुगमा प्रवेश गरेसँगै चाडवाडको शृङ्खला सुरु भएको देखिन्छ । यो हिमवत्खण्डमा शारदीय दसैंलाई महत्त्वका रुपमा हेरिनु आफैंमा मौलिक परम्परा हो । 

नौ महिना कृषिकर्म गरेर अब अन्तपात भित्र्याउने समय हुन लाग्यो प्रकृतिमाथि हामीले विजय प्राप्त गर्‍यौं भन्ने सन्देश दिन पनि यो पर्व मनाइन्छ । अर्कोतिर खेतीपातीबाट फुर्सद भएकाले यो समयमा खुसी साट्नका लागि मानिसमा विशेष अवसरको आवश्यकता थियो । त्यसलाई दसैंले पूरा गरेको छ ।

मखमली, सयपत्री जस्ता अन्य धेरै फूलहरू फुल्ने समय हो यो । आकाशमा बादल हटिसकेको हुन्छ । कुहिरो र तुसारो पर्ने समय सुरु भइसकेको हुँदैन । रातमा चन्द्रमाको प्रकाशले धर्ती सुन्दर देखिन्छ । यससँगै मानवीय मनहरू पनि रमाउने गर्छन् र त शारदीय दसैंको महत्त्व गाउँछन्, मालश्री धूनसँगै ।

युद्धका लागि शक्ति सञ्चय

मालश्री धूनले युद्धको महत्त्व बुझाउने संस्कृतिविद् डा. जगमान गुरुङ बताउँछन् । दसैंघरमा राखिएका आयुध अर्थात् शस्त्रको पूजा गर्ने परम्पराले पनि यसलाई पुष्टि गर्छ । दसैंको समयमा हतियारहरू सफा गर्ने र युद्धको तयारी गर्ने दशमीका दिन टीका लगाएर सय जनाको विजय आशीर्वाद लिएर युद्धमा जाने परम्परा रहेकैले विजयादशमी भनिएको हो भन्ने गुरुङको मत छ । दसैंकै समयमा गुल्मी, अर्घाखाँचीमा देखाइने सराय नाच पनि यही युद्धको एउटा परिचायक हो । 

देवी दुर्गाको उपासनाले शक्तिआर्जन र शक्तिसञ्चयका लागि ऊर्जा प्राप्त हुने भएकाले पनि यस चाडको विशेष महत्त्व छ ।

अर्को पौराणिक प्रसङ्ग

भगवान् विष्णुका द्वारपाल जय र विजयले सनकादी ऋषिलाई बैकुण्ठ प्रवेशमा रोक लगाएपछि रिसाएका ऋषिहरूले दुवैलाई राक्षस योनि प्राप्त हुनु भन्ने श्राप दिए । आफ्ना भक्तको उद्धार गर्न आफैं मत्र्यलोकमा जन्म लिएका विष्णुको अवतार रामले रावण (विजय) माथि विजय प्राप्त गरेको सम्झना स्वरुप दसैं मनाइन्छ । यहाँ दुई पक्ष छन् । एकातर्फ रावण यस मर्त्यलोक छोडी बैकुण्ठलोक गएकाले उसले रामभन्दा पहिले बैकुण्ठलोक पुग्ने अवसर पाएको छ । यसमा रावण (विजय) को विजय देखिन्छ । युद्धमा रामले विजय प्राप्त गरेका छन् । अर्को तर्फ विजय बैकुण्ठ लोक गएको स्मृतिदिवसका रूपमा विजयादशमी मनाइएको हो । यसरी दुवै पक्षको विजय हुने चाड हो, विजयादशमी ।

मिश्रिति संस्कृतिमा टीका

दसैं नेपालमा रहने ॐकार परिवारभित्रका सबैले मनाउने परम्परा छ । त्यतिमात्रै होइन केही वर्षअघिसम्म कास्कीको मिया पटनमा रहेका मुखिया मियालाई भेटी चढाएपछि मात्रै हिन्दुहरूले दसैं मनाउने प्रचलन रहेको डा. गुरुङले बताए । यसरी हेर्दा सबै धर्मावलम्बीको साझा चाड दसैंलाई मान्न सकिन्छ । 

राजनीतिक या सामाजिक जुनसुकै परिवेशमा होस् राष्ट्रिय चाड भएकाले दसैंमा राष्ट्रप्रमुखसँग टीका लगाउन सबै धर्मावलम्बी जाने गरेकाले पनि दसैं सांस्कृतिक एकताको चाड बनेको छ । 

दसैंमा सेता र राता अक्षता लगाउने गरेको पाइन्छ । नेपालका बुद्ध धर्मावलम्बीहरू सेतो अक्षता लगाउँछन् भने हिन्दु धर्मावलम्बी रातो अक्षता लागाउँछन् । दुवैले स्वीकार गरेको कुरा के हो भने अन्न मानिसको अनिवार्य आहार हो । त्यसको उपभोगबाट जीवन सञ्चालन भएको छ । त्यही शक्तिलाई नाश नहुने शक्तिका रुपमा मानिएकाले चामललाई अक्षता भनिएको हो ।

काठमाडौं उपत्यकामा नेवार समुदायले कालो टीका लगाउने गरेको पाइन्छ । 

प्रकृतिको पुजारी मानिसले त्यसको सम्मान स्वरुप चामललाई अक्षता स्वीकार गरी निधारमा स्थान दिएको पाइन्छ । यात्रामा निस्कँदा दही सगुन मानिने हुँदा युद्धमा निस्कनेलाई दहीमा मुछिएको टीका लगाई बिदा गरिन्थ्यो । यसरी सेतो टीकाको परम्परा सुरु भएको हो ।

शक्तिका उपासकले देवीलाई बलि दिएपछि त्यही रगतमा मुछिएको रातो टीका लगाउने परम्परा बसाले । वैदिक सभ्यतामा रातो रङलाई शुभ मानिएकाले उपत्यकाका व्यापारीले अविर, सिन्दुर भित्र्याएपछि त्यसमा मुछिएको टीका लगाउँदा राम्रो देखिएकाले पनि रातो टीका लगाउन थालियो । 

नेवार समुदायमा विशेष तन्त्र विद्याको साधना हुने हुँदा कालो टीका लगाइन्छ । यज्ञमा हवन गरिएको अन्नको खरानी (तरेखु) लाई टीकाका रुपमा ग्रहण गर्ने परम्परा नेवारी समुदायमा मिसिएर आएको हो । 

यसरी दसैंको टीकाका विविधताले सांस्कृतिक विविधता र राष्ट्रिय एकताको भाव झल्किन्छ ।

  • प्रकाशित मिति : कात्तिक १०, २०७७ साेमबार १६:४६:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया