कोरोनाले रोकेन बली प्रथा

दसैँमा शक्तिपीठमा बलि दिने परम्परा नेपालभरि नै छ । यस वर्ष कोरोना संक्रमणका कारण नियमित पूजाबाहेक अन्य पूजा बन्द गर्न सरकारले आग्रह गरे पनि सुदूरपश्चिमका पहाडी जिल्लामा भने त्यसको बेवास्ता गरिएको छ ।

कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले जनस्वास्थ्यका मापदण्ड पूरा गर्न र सामाजिक दूरी अपनाएर दसैं मनाउन आग्रह गरे पनि त्यसको उल्लंघन गर्दै दसैं मनाइएको छ ।

दसैंमा सरकारले सार्वजनिक रूपमा पूजा पाठ तथा धार्मिक अनुष्ठान नगर्न जारी गरेको निर्देशन प्रमुख जिल्ला अधिकारीहरूले कार्यान्वयन गराउनै सकेनन् ।

बलि नचढाउन जारी गरेको सरकारी निर्देशन पनि स्थानीय बासिन्दाले टेरेनन् । बरु कतिपय शक्तिपीठहरूमा विगतको तुलनामा यो पटक राँगा र बोका बढी काटिए ।

बैतडीमा बली नचढाउन र शक्तिपीठहरूमा भीडभाड नगर्न स्थानीय प्रशासनले गरेको आग्रहलाई स्थानीय तहका प्रमुख र उप्रमुखहरूले नै टेरेनन् ।

स्थानीय सरकारका रूपमा चिनिने स्थानीय तहका प्रमुख उपप्रमुखको शान्ति सुरक्षा कायम गर्ने र संक्रमण फैलिन नदिन सावधानी अपनाउने जिम्मेवारी भए पनि उनीहरू नै उल्लंघनकर्ता देखिए ।



बैतडीको देहीमाण्डौंस्थित निङ्लासैनी भगवतीको मन्दिरमा यसपटक पनि बलि चढाइयो । प्रमुख जिल्ला अधिकारीले शक्तिपीठहरूमा भिडभाड नगर्न र बलि नचढाउन आग्रह गरेका थिए । उल्टै स्थानीय बासिन्दाले बलि रोक्न खोजे प्रजिअविरुद्ध देउतालाई भाकल गर्ने चेतावनी दिएको जनाइएको छ ।

शक्तिपीठहरूमा बल प्रयोग गर्नसक्ने अवस्था नरहेकाले स्थानीय प्रशासनले मौनता साँधेर बसेको जनाएको छ । यसपटक कोरोना रोकथाम र परिवारका सदस्यलाई कोरोनाको संक्रमण नहोस् भनेर शक्तिपीठहरूमा विगतभन्दा बढी बलि चढाइएको जनाइएको छ ।



बैतडीका प्रमुख जिल्ला अधिकारी मोहन जोशीले स्थानीय बासिन्दाको धार्मिक आस्थामा असर नपर्ने गरी शक्तिपीठहरूमा बलि चढाउन तथा भिडभाड नगर्न आग्रह गरिएको बताए ।

  • प्रकाशित मिति : कात्तिक ११, २०७७ मंगलबार १६:३७:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया