रअ प्रमुखसँग प्रधानमन्त्री ओलीको भेटः नेकपा दुई नेता जसले गरिरहेका छन् चर्को विरोध

५ कार्तिकमा नेपाल आएका भारतीय खुफिया एजेन्सी रअका प्रमुख सामन्त कुमार गोयलले नेपाली राजनीतिमा एउटा लामो तरंग छोडेर गएका छन् । 

उनी नेपाल आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको उनको गोप्य भेटघाट र अन्य नेताहरुसँग उनले गरेको भेटघाटका कारण अहिले पनि नेपाली राजनीति तरंगित भइरहेको छ । 

यो विषयमा नेपाली राजनीतिमा चासो राख्ने अधिकांशले प्रधानमन्त्री ओलीसँगको भेटको चर्को आलोचना गरेका छन् । तर, गोयलले प्रधानमन्त्री ओलीसँग मात्र होइन, नेपालमा हुँदा अन्य नेताहरुसँग पनि भेट गरेका थिए । 

भारतीय मिडिया द प्रिन्टले त गोयलले नेपालमा जनता समाजवादी पार्टीका संघीय अध्यक्ष बाबुराम भट्टराईसँग पनि भेट गरेको उल्लेख गरेको छ । अन्य नेताहरुसँग पनि भेट भएको द प्रिन्टको दाबी छ । 

तर, यता गोयलसँग आफ्नो भेट नभएको भन्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले विज्ञप्ति नै निकालेका छन् । त्यस्तै, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि आफूले रअ प्रमुख गोयलसँग नभेटेको बताएका छन् ।

जे होस्, प्रधानमन्त्रीले चाहिँ रअ प्रमुखसँग भेट गरेको स्वीकार गरेका छन् । उनीनिकट तथा प्रदेश पाँचका मुख्यमन्त्री समेत रहेका नेकपा नेता शंकर पोखरेलले त रअ प्रमुख गोयलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश लिएर आएको र उनीसँग प्रधानमन्त्रीको भेट हुनु स्वभाविक भएको बताएका छन् । 



तर, नेकपाकै दुई नेताले भने प्रधानमन्त्री ओली र गोयलको यो भेटको चर्को आलोचना गरिरहेका छन् । 

ती दुई नेता हुन्– नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ र भीम रावल । 



श्रेष्ठ र रावल दुवैले सामाजिक सन्जालमा लेखेर मात्र होइन, विभिन्न मिडियामा ओलीको यो कदमको खुलेर विरोध गरेका छन् । 

नेकपा प्रवक्ता श्रेष्ठले सामाजिक सन्जालमा लेखेका छन्– गोयल प्रकरणस् नेपालको राजनीतिक एवं कूटनीतिक इतिहासमा यस प्रकृतिको पहिलो घटना हो यो ।यस्तो कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र कूटनीतिक ओझ गिर्ने मात्र होइन, अन्ततः राष्ट्रिय सार्वभौमिकता एवं राष्ट्रिय हित कमजोर पार्ने कार्य हुन सक्दछ।

त्यस्तै, नेकपा नेता भीम रावलले पनि सामाजिक सन्जालमा यही आशयको ट्विट गरेका छन् । उनले ट्विटरमा लेखेका छन्– नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति, स्वाधीनता र स्वाभिमान तथा सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार,नीति र घोषणाको विपरीत भारतीय गुप्तचर रअ प्रमुखसंग नेपालका प्रधानमन्त्रीको जसरी वार्ता भयो र जस्तो समय र तरिकाले भ्रमण गराइयो यो आपत्तिजनक छ।कूटनीतिक मर्यादा विपरीत छ।

अझ रावलले त प्रवक्ता श्रेष्ठले आपत्ति जनाउँदै गरेका ट्विटहरुलाई पनि रिट्विट गरेका छन् । 

आफ्नै पार्टीका नेताहरुबाट समेत आलोचित यो कदमबारे प्रधानमन्त्री ओली र उनको सचिवालय अहिलेसम्म भने चुपचाप छ ।

 

  • प्रकाशित मिति : कात्तिक ११, २०७७ मंगलबार २०:५५:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया